७ वैशाख २०८१ शुक्रबार
अन्य

मनसुन यात्रा

दोलखा
भीमेश्वर, कालिञ्चोक, जिरी, शैलुङ र गौरीशंकर दोलखाका आकर्षण हुन् । दोलखा बजारमा अबस्थित भीमेश्वर नेवारका इष्ट देवता हुन् । साथै अन्य जातिका आस्थाका प्रतिक।

दोलखा बजारमा होटल तथा लज सुविधा छ । वर्तिर चरिकोट डाँडामा पनि सुविधायुक्त होटल छन्।

चरिकोटबाट १७ किमि दुरीमा कालिञ्चोक डाँडा (३,७०० मिटर) छ । त्यहाँ भगवती बसेकी छिन् । त्यहाँ पुग्न चरिकोटबाट कि रिर्जभ जीपमा जानुपर्छ कि पाँच घन्टा पदयात्रामा।

कालिञ्चोक बेस क्याम्प कुरीमा होटल छन् । कुरीबाट पौने घन्टामा मन्दिर पुगिन्छ।

अर्को महत्वपूर्ण गन्तव्य हो जिरी । चरिकोटबाट ५५ किलोमिटरमा छ जिरी उपत्यका । त्यहाँ जिरेश्वर, गुम्बा, चिया बगान, चिज कारखाना लगायत सम्पदा छन् । बजारमा होटल सुविधा छ।

कसरी पुग्ने : काठमाडौं–दोलखा बजार १३७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट दोलखासम्म बस छुट्छ । तिनले पाँच घन्टा लगाउँछन् । चरिकोट–कालिञ्चोक १७ किमि । चरिकोट–जिरी ५५ किमि।   

सिन्धुलीगढी
प्राकृतिक सौन्दर्य र वीरताको गाथा बोकेको भूमी हो सिन्धुलीगढी । वनेपा–वर्दिवास सडकको नागबेली हेर्दै गढी पुगिन्छ । विसं १८२४ मा अंग्रेजी साम्राज्य विस्तार क्रममा क्याप्टेन किनलकको नेतृत्वमा अंग्रेजी फौज काठमाडौं पस्न लागेको थाहा पाएपछि पृथ्वीनारायण शाहले ११ सय गोर्खाली जवान गढीमा राखेका थिए।

आधुनिक हतियारले सुसज्जित अंग्रेजसँग भरुवा बन्दुक, भाला, ढुँगामुढाका भरमा नेपाली लडे। अँग्रेजतर्फ १६ सय जना मारिए । नेपाली कमाण्डर वंशु गुरुङको फौजले बाँकीलाई भगायो । त्यो विजयको दिन थियो कात्तिक २४ गते । त्यसकै सम्झनामा ०६४ सालदेखि वर्सेनी कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुलीले गढीमा विजय उत्सव मनाउँदै आएको छ।

गढी मुन्तिर सोला भञ्ज्याङमा सामान्य खाजा घर छन् । बास बस्न २० किमि पर सिन्धुली माढि वा १८ किमि वर्तिर खुर्कोट आइपुग्नु पर्छ।

कसरी पुग्ने : काठमाडौं वनेपा–बर्दिवास सडक हुँदै सोला भञ्ज्याङ १३० किमि । भञ्ज्याङबाट १५ सय मिटरमा सिन्धुलीगढी । सिन्धुली चल्ने बस वा जिपमा जाँदा ४ घन्टा ।


बराहक्षेत्र  
हिन्दुका प्रमुख चार धाम कुरुक्षेत्र, हरिहर क्षेत्र, मुक्तिक्षेत्र र बराहक्षेत्र हुन् । बराह भगवान् विष्णुको तेस्रो अवतार हो । कथाअनुसार हिरण्याक्ष दैंत्यले पृथ्वी चोरेर पाताल पु-याएछ । त्यही बेला पृथ्वी र वेदको रक्षा गर्न विष्णुले बराह अवतार लिएछन् । दैंत्यको संहार गरेपछि उनी कोका र कौशिकी नदी संगममा बसेछन् । त्यहाँ मन्दिर छन् । पितृ उद्धारका लागि कोका र कोसी संगममा नुहाएर श्राद्ध गरिन्छ।

नदी किनारमा बराहका मन्दिर छन् । त्यहाँ सामान्य खाना र बास पाइन्छ । केही धर्मशाला पनि छन् । स्तरीय होटल छैन । आरामदायी बास र भोजनका लागि धरान फर्कनुपर्छ । धरानबाट रिजर्भ गाडीमा जाँदा चतरा र बराहक्षेत्र घुमेर बेलैमा धरान फर्किन सकिन्छ।

पिण्डेश्वर, बराहक्षेत्र र चतराधाम घुम्ने हिसाबले योजना बनाउनु पर्छ । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाएका छन् । हरि (विष्णु) को बासस्थान बराहक्षेत्र जाने बाटोमा पर्ने भएकाले हरिद्वार भनिएको।

चतरा बजारमा सामान्य खाना र बास सुविधा छ । त्यहीँबाट कोसी तीरैतिर हिँडे बराहक्षेत्र पुगिन्छ।

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि । काठमाडौंका कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बस । तिनले १३ घन्टामा पु-याउँछन् । धरान–बराहक्षेत्र २४ किमि । धरान–चतरा र चतरा–बराहसम्म भाडाका सवारी साधन चल्छन्।

प्रकाशित: २६ श्रावण २०७५ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App