coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महिनावारी सरसफाइ सिकाउँदै सीता

स्वास्थ्यकर्मीका रूपमा सल्यान र सुर्खेतका विभिन्न स्वास्थ्य चौकीमा काम गर्दा सीता शर्माले अनेकौ समस्याहरू देखिन अनि अनुभव गरिन् । सल्यानको मुलखर्क स्वास्थ्य चौकीमा कार्यरत हुँदा भेटिएका दुई जनाको कथाले उनलाई अहिलेको बाटोमा डो-यायो । दुवै महिला पाठेघर खस्ने समस्याबाट पीडित थिए । आफन्तलाई मात्रै होइन, स्वास्थ्य चौकीसम्म आएर आफूमा भएको पीडा भन्न पनि सकेनन् । दुवैले आफै पाठेघर काटेर फाले । ‘यस्तै पीडा अरु महिलाहरूले भोग्नु नपरोस्, केही काम गरेर देखाउनुपर्छ भन्ने लाग्यो,’ शर्माले भनिन्, ‘त्यहीँ भएर एकल प्रयासमा दुई वर्षदेखि क्यान्सरविरुद्धको अभियान सञ्चालन गरिरहेकी छु।’

ग्रामीण क्षेत्रमा मात्रै होइन, तुलनात्मक रूपमा स्वास्थ्य सुविधा पुगेका सहरी क्षेत्रमा पनि महिलाहरू विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको उनले देख्न र अनुभव गर्न पाइन् । महिलाका अनेक स्वास्थ्य समस्या मध्ये पाठेघरको क्यान्सर पनि एक हो । दुई जिल्लामा भएका १२ भन्दाबढी पाठेघरको क्यान्सर परीक्षण शिविरमा उनी पुगिन् । अधिकांश महिलाहरूमा पाठेघरको कुनै न कुनै समस्या देखिन्थ्यो । महिलाहरूमा पाठेघरको समस्या देखिनुमा महिनावारी सरसफाइमा कमी हुनु प्रमुख कारण भएको उनी बताउँछिन्।

‘देशमा पाठेघरको क्यान्सरबाट मृत्यु हुने महिलाहरूको संख्या बढ्दै गएको छ, त्यसमा पनि ग्रामीण क्षेत्रका महिलाहरू    यो समस्याबाट धेरै पीडित छन्,’ शर्माले भनिन्, ‘क्यान्सरबाट महिलाहरूलाई बचाउन विद्यालय स्तरदेखि नै किशोरीहरूलाई सचेतनामूलक शिक्षा दिने अभियानको सुरुवात गरेको हुँ।’

एकल अभियानबाट शर्माले पाँच हजारभन्दा बढी किशोरी र महिलाहरूलाई महिनावारी सरसफाइ सम्बन्धी प्रशिक्षण दिएकी छन् । उनी जहाँजहाँ पुन्छिन्, व्यक्तिगत खर्चमा स्यानेटरी प्याड पनि वितरण गर्छिन् । दुई वर्षको अवधिमा उनले ३५ भन्दा धेरै विद्यालय, महिला समूह र महिला सहकारीमा महिनावारी सरसफाइसम्बन्धी प्रशिक्षण दिएकी छन् । विद्यालयमा किशोरीमैत्री शौचालय निर्माणको अभियान चलाएकी छन्।

हरेक विद्यालयमा सेनेटरी प्याडको प्रयोगका बारेमा अनुभव आदान–प्रदानका लागि किशोरीको सञ्जाल गठन गरेकी छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी शर्मा कार्यालय बाहेकको समय क्यान्सरविरुद्धको अभियानमै खर्चिन्छिन् । विद्यालय, महिला समूह, सहकारीलगायतमा दुईदेखि तीन घण्टासम्म निःशुल्क कक्षा लिन्छिन् । उनी प्रजनन् स्वास्थ्य सम्वन्धी मात्रै कुराहरु सिकाउँदिनन्, बालविवाह, गर्भपतन, परिवार नियोजन, छाउपडी कुप्रथा, बाल अधिकारलगायतका विषयमा पनि जानकारी गराउँछिन्।

पाठेघरको क्यान्सर वा अन्य संक्रमण तत्कालै हुने र देखिने होइन, किशोरी अवस्थामै महिनावारी स्वास्थ्यका बारेमा जानकारी गराउन सके पछि गएर यो समस्या भोग्नु नपर्ने उनी बताउँछिन्।

शर्माका अनुसार महिनावारीको समयमा सरसफाइ कमीले महिलाहरूको पाठेघरमा ‘हुमन प्यापोलमा’ भाइरसको संक्रमण हुन्छ । यसको संक्रमणले पाठेघरको मुखमा क्यान्सर हुन्छ । उनी आफ्नो अभियानले किशोरीहरूलाई सकारात्मक सन्देश दिएको बताउँछिन् । ‘जागिरको सिलसिलामा धेरैजसो ठाउँमा कार्यरत रहेँ, दुर्गम बस्ती मात्रै होइन, सुगम भनिएका ठाउँहरूका महिलाहरूमा पनि पाठेघर खस्ने समस्या देखें,’ उनले भनिन्, ‘जहाँ गए पनि एउटै समस्याले महिला दिदी–बहिनीहरू पीडित भएको देखेपछि यो अभियान चलाउने निर्णयमा पुगेकी थिएँ।’

महिनावारीको बेलामा सरसफाई नहुँदा संक्रमण हुने ‘हुयम प्यापोलमा’ भाइरसले गर्दा १०÷१२ वर्षमै पाठेघरको मुखमा क्यान्सर हुन्छ । नेपालमा करिव १५ प्रतिशत महिलाहरूको पाठेघरको क्यान्सरकै कारण ज्यान जाने गरेको छ । महिनावारी सरसफाइ सम्बन्धी तालिम लिएकी शर्मालाई अभियान चलाउन सजिलो भएको छ।

‘अभियानसँगै किशोरीहरूकी प्रिय बनेकी छु,’ शर्माले भनिन्, ‘मसँग उनीहरू आफ्नो समस्या खुलस्त राख्छन्, फोन, म्यासेज र भेटेरै समस्या सुनाउँछन्, सल्लाह माग्छन् ।’ व्यावहारिक ज्ञान दिने भएकोले किशोरीहरूमा धेरै परिवर्तन आएको अनुभूति शर्माले गरेकी छन्।

उनले कक्षा दिएका विद्यालयमा किशोरीहरूले कक्षा–कक्षामा समूह बनाएका छन् । मासिक १० रूपैयाँ संकलन गरेर सेनेटरी प्याड किन्छन् । सुरुमा चुनौतीपूर्ण मानिएको अभियान अहिले चर्चाको विषय बनेको छ । सुरुमा एक्लैले सुरु गरेको अभियानमा अहिले विभिन्न सामाजिक संघ–संस्थाहरू उनीसँग जोडिएका छन्।

शर्मा आफूले सुरु गरेको अभियानलाई जिल्ला हुँदै कर्णाली प्रदेशभर विस्तार गर्ने सोचमा छिन् । ‘म एक्लैले सबै गर्छु भन्नु मुर्खता हुन्छ,’ उनले भनिन्, ‘हरेक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले यस्तै अभियान सञ्चालन गर्न सकेको खण्डमा अहिले देखिएको विकराल समस्या न्यूनीकरण हुन्थ्यो।’

अभियानकै क्रममा उनी किशोरी र महिलाहरूको पाठेघरको स्क्रिनिङ गर्छिन् । समस्या देखिएका महिलाहरूलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेफर गर्छिन् । ‘अहिलेसम्म किशोरीहरूमा खासै समस्या नदेखिए पनि १६ जना महिलाहरूमा पाठेघरको समस्या देखिएको छ,’ उनले भनिन्, ‘त्यस्ता महिलाहरूलाई थप उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाउने गरेकी छु।’

सुरुसुरुमा अभियान थाल्दा उनलाई समस्या नभएको होइन, विद्यालयमा किशोरीहरूलाई निःशुल्क महिनावारी शिक्षा दिन्छु भन्दा पनि धेरैले पत्याउनु भएन, आफै अनुरोध गरेर कक्षा कोठामा पस्थें,’ उनले भनिन्, ‘अहिले मलाई खोज्दै विद्यालयहरू आउँछन्, महिला समूह र सहकारीहरू आउँछन्।’

उनले सीमान्तकृत तथा वादी समुदायमा गएर पनि महिनावारी सरसफाइका बारेमा प्रशिक्षण दिएकी छन् । यसलाई अझै निरन्तरता दिने उनको योजना छ।

प्रकाशित: २६ श्रावण २०७५ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App