७ वैशाख २०८१ शुक्रबार
अन्य

नेपाल–चीन सम्बन्धका प्रथम सेतु

नेपाल चीन सम्बन्ध नयाँ आयाममा प्रवेश गर्दै गर्दा  इतिहासका पुराना पात्रहरूको चर्चा चल्न थालेको छ। नेपाल–चीन सम्बन्धका प्राचीन आधार स्तम्भहरू अरनिको, भृकुटीसँगै बुद्धभद्रका गाथाहरू प्रकाशनमा आउन थालेका छन् । झन्डै १६ सय वर्षअगाडि कपिलवस्तुबाट चीन पुगेका बुद्धभन्द्रको प्रतिमा जुलाई २२ तारिखमा चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा स्थापना गरिएसँगै नेपाली र चिनियाँमा माझ उनको चर्चा चल्न थालेको हो।

इतिहासविद् ज्ञानमणि नेपालका बुद्धभद्र चीनमा पहिलेदेखि नै चर्चित रहेको बताउँछन् । ‘नेपालबाट गएका बुद्धभद्रले  बुद्धग्रन्थलाई चिनियाँ भाषामा उल्था गरेर त्यहाँ कहिल्यै नमेटिने गुन लगाए,’ नेपालले भने, ‘त्यसैले उनी त्यहाँका बौद्धधर्मीमाझ उनी निकै उच्चस्थानमा छन्।’

अरनिको र भृकृटी अगावै नेपालबाट गएर नाम कमाएका उनको नेपालमा भने खासै चर्चा नहुनु दुःखको कुरा रहेको उनको बुझाइ छ।

चीनमा बुद्धधर्मको प्रवेशसँगै नेपाल–चीन सम्बन्ध जोडिएको बताउँदै यसको अग्रस्थानमा बुद्धभद्र रहेको उनी बताउँछन् । लुम्बिनीबाट चीन गएका बुद्धभद्र र चिनियाँ राजदूत वाङयुञ्चेले पनि चीन–नेपाल धार्मिक सम्बन्धलाई विस्तार गरेको उनले सुनाए । ‘उनी सम्बन्ध विस्तारको प्रथम सेतु हुन्,’ उनले भने, ‘यसैको आधारमा नयाँ सम्बन्ध अरू तयार भएका छन्।’

सस्कृतविद् सत्यमोहन जोशी पनि नेपालको कुरामा सहमत छन् । कपिलवस्तुबाट गएका प्रकाण्ड विद्धान बुद्धभद्रले चिनियाँ बौद्ध साहित्यमा अतुलनीय योगदान पुर्याएको बताउँछन् । ‘बौद्ध महायानसूत्रलाई चिनियाँ भाषामा रूपान्तरण गरेर सर्वसाधारणमाझ उहाँ लोकप्रिय बन्नुभयो,’ उनले भने,  ‘त्यसैले उहाँ चिनियाँमाझ प्रिय बन्नुभयो।’

उनको लोकप्रियतालाई कदर गर्दै नेपालीले चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा अघिल्लो महिना बुद्धभद्रको प्रतिमा स्थापना गरेको नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष अनुप भट्टराई बताउँछन् । बुद्धभद्रको प्रतिमा स्थापनासँगै यस क्षेत्रमा रहेको नेपाली र चिनियाँमा खुसी बढेको उनले सुनाए । ‘प्राचीन गुम्बामा बौद्ध भिक्षुका माझ बुद्धभद्रको प्रतिमा स्थापना गर्न पाउनु  खुसीको कुरा हो,’ उनले भने, ‘यो यसले नेपालीको तर्फबाट बुद्धभद्रप्रति गरेको सम्मान हो।’

सन् २०१५ मा अध्यक्ष भट्टराई चीन आएको बेला दोङलिङ गुम्बाको भ्रमण गरेका थिए । त्यही बेला उनले बुद्ध भद्रको मूर्ति स्थापना गर्ने वाचा गरेको उनले सुनाए । तामाले बनेको उक्त मूर्तिको तौल २ सय किलोको रहेको उनले बताए  ।  उक्त मूर्तिलाई नेपालका मूर्तिकारहरूले पूर्णरूपमा नेपाली शैलीमा तयार गरेका हुन्।

बुद्धभद्रको मूर्ति स्थापना गर्न जियाङ्सी पिपल्स एसोसिएसन फर फ्रेन्डिसिप विथ फरेन कन्ट्रिज र ब्युरो अफ एथ्निक एण्ड रिलिजियस अफेयर्सले पनि सहयोग गरेको थियो । यसबाट चीन नेपाल सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दोङलिङ गुम्बाबाट प्रतिनिधिमण्डललाई लुम्बिनी भ्रमणको निम्ता पनि दिएको भट्टराईले सुनाए।

सन् १९६० को दशकमा नेपाली दूताबास बेइजिङमा पहिले काउन्सिलर निरन्जन भट्टराइले आफ्नो पुस्तकमा  बुद्धभद्रको बारेमा धेरै कुरा उल्लेख गरेका छन्।

बौद्ध धर्मको अध्यापन गरी चीनमा बौद्ध धर्मको शिक्षा र प्रचारमा जीवन अर्पण गर्ने व्यक्ति भएको उल्लेख गर्दै उनका कारण नेपाल चीन सम्बन्धको विकासमा निकै योगदान  पुगेको उनले बताए।

इ ३९९ मा बुद्धधर्मको अध्ययन र सम्बन्धित तीर्थ स्थानको भ्रमणको लागि नेपाल आएका चिनियाँ भिक्षुले चीनमा रहेका भिक्षुको मनमा बुद्धधर्मप्रति रहेको शंकाको समाधानको लागि बुद्धभद्रलाई चीन जाने निम्तो दिएको उल्लेख छ । बुद्धभद्र चिनियाँ भिक्षुका साथ ४०६ मा चीनतर्फ लागेको उक्त पुस्तकमा उल्लेख छ । चीनमा बुद्धधर्मप्रति धेरै चाख भए पनि बुद्धधर्मको विश्लेषणात्मक तवरले अध्यापन गराउने र चिनिया भिक्षुका मनमा उठेका शंकाका समाधान गर्ने मानिस चाहियो भनेर भिक्षुको टोली चिनबाट आएर बुद्धभद्रलाई लिएर गएको उक्त पुस्तकमा लेखिएको छ।

पछिल्लो समय चिनिया पर्यटक नेपाल आउने क्रम बढेको छ । नेपाल चीन सम्बन्धले नयाँ आकार लिँदै छ । ‘पाँचौं सताब्दीमा बुद्धभद्रको जगमा तयार भएको नेपाल चीन सम्बन्ध एक्काइसौं सताब्दीमा आउँदा निकै गाजिएर गएको छ,’ अनुपरन्जन भट्टराई भन्छन्, ‘यस्ता अतुलनीय व्यक्तित्वको बारेमा थुप्रै्र कुरा बाहिर आउन अझै बाँकी छ।’

को हुन् बुद्धभद्र?
चिनियाँ बौद्ध धर्मसम्बन्धी नेपाल आउने ज्ञाताहरूमध्ये प्रायःले बुद्धभद्रबारे चर्चा गर्ने गर्छन् । छैटौं शताब्दीमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनलाई समेटिएको पुस्तक गाओ सेङ चुआन ‐प्रमुख बौद्ध भिक्षुहरूको जीवन)मा पनि  बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा ‘च्वेस्यान’ भन्छन् । उक्त पुस्तकमा बुद्धभद्र कपिलवस्तुमा जन्मेको र उनी शाक्यवंशी राजा गौतम बुद्धका नातेदार अमृतोदानका वंशज भनिएको छ।

बुद्धभद्र (३५८–४२९) नेपालको कपिलवस्तुमा जन्मिएका थिए । उनी शाक्य मुनि बुद्धका सन्तति थिए । उनी १६ सय वर्षभन्दा अघि चीनमा आएका थिए । चीनमा रहेर उनले बुद्धका सूत्रहरूका १२५ ग्रन्थलाई अनुवाद गरेर हान बुद्धधर्मको विकासमा ठूलो योगदान गरेका पुर्याएसँगै उनी त्यहाँ प्रसिद्ध भए।

प्रकाशित: २६ श्रावण २०७५ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App