शिक्षा

४६ वर्षपछि जेएनयूको दिक्षान्त

शनिबार, २६ साउन २०७५, ११ : २४ डा. दीपेश केसी

विद्यावारिधी हासिल गरेका चार सय २० शोधार्थी र मञ्चमा बसेकाहरू अनिवार्य गरिएको सेतो पोशाकमा थिए । विश्वविद्यालयको लोगो अंकित दुपट्टा राखेर धैर्यतापूर्वक दिक्षान्त समारोहको मूल क्षण कुरिरहेका थिए । औपचारिक उद्घाटन र छोटा भाषण सकिएपछि जब विद्यावारिधीको प्रमाणपत्र बाँड्न थालियो दुई घण्टासम्म हलमा पटक पटक तालीको गडगडाहट गुञ्जियो । विभिन्न क्षेत्रमा गहिरो अध्ययन गरी शोध पूरा गरेका शोधार्थीहरूले दिक्षान्तको अवसर पाएको त्यो क्षण भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयमा ४६ वर्षपछि मिलेको थियो । त्यसैले पनि दिक्षान्त समारोहको भारतभर चासो थियो । भारतीय मिडियाले दिक्षान्त समारोह हुने खबरलाई प्राथमिकताका साथ स्थान दिएका थिए । दिक्षान्त समारोह हुनुअघि जति त्यसले महत्व पायो त्यसपछि पनि उत्तिकै महत्व पायो । समारोह हुने नहुने, भएमा कस्तो हुने भन्नेबारे टीकाटिप्पणी भइरहेको थियो । अन्तमाः विश्वविद्यालय प्रशासनले ऐतिहासिक दिक्षान्त समारोहलाई सफल बनायो । शोधकर्ताका रूपमा पंक्तिकारले सन् १९७२ पछि भएको दिक्षान्त समारोहमा सहभागी हुने अवसर पायो।

संस्थापन पक्ष र शासकको आलोचनामा खरो उत्रने विद्यार्थीहरूको कमी नभएको जवाहरलाल नेहरू विश्वविद्यालय भारतमात्र नभई भारतबाहिर समेत विशेष स्थान बनाउन सफलहरू उत्पादन गर्ने विद्यापुञ्जका रूपमा परिचित छ । त्यसैले, दिक्षान्त समारोहमा सम्बोधन गर्दा भारतको नीति आयोगका सदस्य समेत रहेका जेएनयूका कुलपति भी. के. सरस्वतले भारतकी बहालवाला रक्षामन्त्री निर्मला सीतारामन, नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका प्रभावशाली नेता सीताराम यचुरीसम्मको नाम लिएर जेएनयू ज्ञान र विज्ञानको क्षेत्रमा उर्वर थलो भएकाले चम्किला ताराहरू उदाइरहने बताए । सन् १९७० को दशकमा डा. डीपी त्रिपाठी, सीताराम यचुरी, आनन्दकुमार जस्ता विद्यार्थी नेताहरूले जेएनयूभित्रको राजनीतिक गतिविधिलाई चमक दिएका थिए । सन् २०१६ मा कन्हैया कुमार भारतभित्र मात्र नभई बाहिरी दुनियाँमा समेत चर्चित भए । स्वतन्त्रताको सवालमा काश्मिरसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएको भन्दै जेएनयू विद्यार्थी युनीयनका तत्कालीन सभापति कन्हैया कुमारमाथि राजद्रोहको अभियोगमा भएको गिरफ्तारीलाई लिएर भारतको सत्तापक्ष र विपक्षीबीच संसद भित्र र बाहिर समेत चर्काचर्की भएको थियो । कन्हैयाको गिरफ्तारीको विषयपछि राष्ट्रवादको मुद्या जेएनयूमा हुँदै भारतभर उठ्यो । त्यसको आ—आफ्नो व्याख्या गर्दै भारतका राजनीतिक तथा गैर राजनीतिक क्षेत्रले आफ्नो पल्लाभारी बनाउने अस्त्र बनाएका थिए । वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थीहरूबीच बहसको थलो बन्ने गरेको जेएनयूको राजनीतिले मात्र होइन अन्य विषयले पनि भारतको राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बनाउने गर्छ । त्यसैले, ४६ वर्षसम्म दिक्षान्त समारोह हुने नहुने विषय एउटा राजनीतिक मुद्दा बनिरहेको थियो ।

जेएनयूको वामपन्थी खेमाको विद्यार्थी संगठनहरूले दिक्षान्त समारोहमाथि शर्त तेर्साइरहे । जसरी ४६ वर्षअगाडि प्रथम दिक्षान्त समारोह हुँदा विशेष अतिथि भारतका चर्चित अभिनेता बलराज सहनीमाथि उग्र वामपन्थीको शैलीमा उग्र भाषण गरेको आरोप लाग्यो त्यसरी नै जेएनयूसँग असम्बन्धित अतिथि बोलाउँदा भाषण या त्यसबाट जानसक्ने सन्देशको कारण देखाउँदै दिक्षान्त हुन नदिने वातावरण बनाइयो । सहनीको अभिव्यक्तिलाई भन्दा प्रशासनिक कारणले जेएनयूमा दिक्षान्त समारोह रोकिएको तर्क गर्नेहरू पनि गरिए । कतिपयले ठूलो खर्च हुने कारणले दिक्षान्त हुन नसकेको तर्क गरे । कतिपयले दिक्षान्तलाई ‘उपनिवेशकारी अभ्यास’ भन्दै आवश्यक नभएको तर्क गरे । जतिसुकै स्वतन्त्रता र मुक्तिको मुद्दा उठाए पनि पुरातनवादी माक्र्सवादीको शैलीमा निषेधको राजनीति जेएनयूभित्र चलाखी ढंगले चलिरह्यो । विभिन्न बहानामा जेएनयूमा दिक्षान्त समारोह हुन सकेको थिएन । त्यसको क्रमभंग गरे, जेएनयूका वर्तमान उपकुलपति एम. जगदीश कुमारले । गैरवामपन्थी ट्याग लागेका कुमार विद्यार्थी युनियनमा वामपन्थी हावी भएको जेएनयूमा उपकुलपति भएर आए देखि नै टकरावहरू देखिँदै आयो । सबै चुनौतीलाई चिर्दै उनले कडा कदमहरू चाले जसलाई उदार र स्वतन्त्रताको भरपूर अभ्यास गरिँदै आएको जेएनयूभित्र पाच्य भएन । तथापि, दिक्षान्तका बखत आफ्नो भाषणमा उपकुलपति जगदीशले मस्तिष्कलाई स्वतन्त्र रूपमा चल्न र सूक्ष्म तरिकाले सोच्न दिएपछि उत्कृष्ट विचारहरू जन्मिने बताए । विद्यार्थी र शिक्षकहरूमाझ आलोचनायुक्त विचार र सोचलाई प्रोत्साहन गरिने प्रतिवद्धता जनाए । जेएनयूभित्रको स्वतन्त्र र उदार संस्कृतिमाथि प्रहार भइरहेकोमा आलोचना भइरहँदा उपकुलपतिको अभिव्यक्तिले विशेष अर्थ राख्यो । विगतमा नभइआएको कक्षामा अनिवार्य हाजिरीको नियम लागू गरेपछि जेएनयूभित्र आएको तरंगमा उपकुलपतिको अभिव्यक्तिको उपहास गर्नेहरू पनि देखिए । जसले जेसुकै टिप्पणी गरेपनि ४६ वर्षयता नभएको दिक्षान्त समारोह गराएर उपकुलपति जगदीशले जस लिन सके।

चुस्त व्यवस्थापन
जेएनयू सम्मेलन केन्द्र हुँदाहुँदै बाहिरको सम्मेलन केन्द्रमा दिक्षान्त समारोह आयोजना गरियो । जहाँ एक दिनअगाडि नै अभ्यासको कार्यक्रम आयोजना गरिएको थियो । अभ्यासमा दिक्षान्त हुने शोधाार्थी सबैलाई अनिवार्य उपस्थितिको सूचना जारी गरियो । हरेक शोधार्थीका लागि सिट नम्बर तोकेर चुस्त व्यवस्थापन गरियो । हरेक विद्यार्थीले परिवारको एकजना सदस्यभन्दा बढी लान नपाउने र तिनका लागि अलग कक्षमा बस्ने व्यवस्था गरिएको थियो । शोधार्थीका सुपरभाइजरहरूका लागि बाल्कोनीको हलमा बस्ने व्यवस्था थियो । उच्च सुरक्षा दिनुपर्ने कुनै अतिथि नभए पनि भव्य सम्मेलन केन्द्रमा मोबाइल फोन निषेध गरिएको थियो । गनेचुनेका मिडियालाई मात्र प्रवेशको अनुमति दिइएको थियो । मिडियाका लागि मात्र १० सिट छुट्याइएको दृश्यले पनि जेनएनयूले दिक्षान्तमा प्रवेशमाथि कडाई गरेको बुझ्न सकिन्थ्यो।

जेएनयूमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रवेश निषेध गरिएको थियो । जेएनयू विद्यार्थी युनियनले कार्यक्रम बहिष्कार गर्ने घोषणा नै ग¥यो । तथापि, दिक्षान्त समारोहमा शोधार्थीहरू उत्साहका साथ सहभागी भएका थिए । ४६ वर्षपछि भएको दिक्षान्तको अवसर सदुपयोग गर्न नेत्रहीन, अपांगता भएका व्यक्तिदेखि ६० कटेका शोधार्थीहरू समेत सहभागी थिए । सन् २०१७ को जनवरी देखि सन् २०१८ को जुनसम्म विद्यावारिधी पूरा गरेकाहरूलाई मात्र दिक्षान्तमा निम्तो गरिएको थियो । केही शोधार्थीले दिक्षान्तमा सहभागिता नजनाए पनि विश्वविद्यालय प्रशासनसँग विमति राख्दै आएकाहरू समेतको उल्लेख्य सहभागिता थियो।

राजनीति मात्र हुन्न जेएनयूमा
जेएनयूबारे भारतभित्र मात्र नभई बाहिर पनि एउटा भ्रम छ । जेएनयूमा वामपन्थी बोलवाला छ र त्यहाँ अध्ययन गर्नेहरू उग्र वामपन्थी हुन्छन् । जेएनयूबाट उत्पादित मध्ये अधिकांश वामपन्थी राजनीतिको उचाईमा पुग्नुले पनि त्यो भ्रमले स्थान पाएको हो । कुनैबेला भारतभर सर्वोत्कृष्ट बनेर विद्यालय स्तरको पढाई पूरा गरेका सीताराम यचुरी र नेपालमा एसएलसी बोर्ड फष्ट बनेका बाबुराम भट्टराईले जेएनयूमा अध्ययन गर्दा वामपन्थी राजनीतिमा प्रभावशाली बन्ने आधार तयार गर्न सके । भारतको वामपन्थी राजनीतिमा मात्र नभई नेपालको वामपन्थी राजनीतिमा समेत प्रभावलाली बन्नेहरूले जेएनयूको राजनीतिक संस्कारबाट सिकेर आफूलाई अगाडि बढाउन सके । तर, भारतको वहालवाला रक्षामन्त्री सीतारामन पनि जेएनयूकी पूर्व विद्यार्थी हुन् । पछिल्लो समय गैरवामपन्थी राजनीतिमा समेत जेएनयूमा अध्ययन गरेकाहरू हावी हुँदै गएका छन् । भारतीय जनता पार्टी र कँग्रेस आईको राजनीतिमा उनीहरूले स्थान बनाउँदै गएका छन् । राजनीतिबाहेकको क्षेत्रमा समेत जेएनयूमा अध्ययन गरेकाहरूले राम्रो स्थान बनाएका छन्।

जेएनयूमा अध्ययन गरेकाहरू सामाजिक, आर्थिक, कला, साहित्य, विज्ञान, चलचित्रका अलावा कर्मचारीतन्त्रमा पनि विशिष्ट स्थान बनाएकाहरू छन् । उदाहरणका लागि जेएनयूमा अध्ययन गरेका केही नेपालीहरू राजनीतिमा राम्रो स्थान बनाएका छन् । जसमध्ये पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, सांसदहरू दीपकप्रकाश भट्ट, अमरेश सिंहका अलावा राजन भट्टराई हुन् । चर्चामा आउने नाममध्ये लोकराज बराल पनि जेएनयूमा अध्ययन गरेका हुन् । यसबाहेक सयभन्दा बढी यस्ता नामहरू छन् जसले विज्ञान र सामाजिक क्षेत्रमा देशभित्र र बाहिर उत्कृष्ट योगदान पु¥याइरहेका छन् । जेएनयूको विभिन्न विषयमा अध्ययन गरेर सर्वोत्कृष्ट नामहरूमध्ये नेपालीहरू पनि रहे । चर्चामा आउन नचाहने यस्ता नामहरू राजनीतिभन्दा बिल्कुल टाढा रहेर काम गरिरहेका छन् । नेपालको कर्मचारीतन्त्रमा पनि जेएनयूमा अध्ययन गरेकाहरू राम्रो स्थानमा पुगेका छन् । २४ घन्टा खुल्ने जेएनयूको पुस्तकालय भारतभरका जेहेन्दार विद्यार्थीहरूमाझ परिचित छ । जहाँ अहोरात्र अध्ययन गरेर वार्षिक २० भन्दा बढीले भारतको कर्मचारीतन्त्रको आकर्षक विदेश सेवा, प्रशासनिक सेवा, प्रहरी सेवाको अधिकृत तहमा प्रवेश गर्छन् । प्राज्ञिक क्षेत्रमा सबैभन्दा बढीले प्रवेश गर्छन् । जेएनयूमा अध्ययन पूरा गरेकाहरू अफ्रिका र एसियाका धेरै मुलुकहरूको नीति निर्माण तहमा पुगेका छन्।

जेएनयूको साख
जेएनयूको सौन्दर्य भनेको विद्यार्थीले प्राप्त गर्ने स्वतन्त्रता हो, जुन दक्षिण एशियाका विश्वविद्यालयहरूमा सायदै प्राप्त हुन्छ । स्वतन्त्रताको भरपूर अभ्यास गर्न पाउँदाका केही परिणामहरू खराब पनि आएका छन् । तर, जेएनयूभित्र अध्ययन गर्नलायक वातावरणले नयाँ विचार प्रकट हुने र सृजनामा उत्प्रेरित गर्छ । सबै विचार फल्न र फूल्न पाउँछ । जेएनयूको विद्यार्थी युनियनको चुनाव भारतमा मात्र नभई दक्षिण एसियाकै उदाहरणीय छ । विना हिंसा र धाँधलिरहित हुने चुनावका सन्दर्भमा हुने प्रेसिडेन्टियल डिबेटले महत्व राख्छ । विद्यार्थीहरूबीच स्वस्थ बहस र वैचारिक प्रतिष्पर्धाले अब्बल बन्न उत्प्रेरित गर्छ । जेएनयूको वातावरणमा भिजेकाहरू पढेर मात्र खारिँदैनन् परेर पनि खारिन्छन् । प्रतिष्पर्धामार्फत् प्रवेश पाउन कठिन जेएनयूमा प्रवेश गर्ने सबै सफलताको उचाईमा पुग्दैनन् । तर, तिनले ज्ञानको ज्योतिले भरिएको दुनियाँमा आफूलाई कुनै न कुनै रूपमा अभ्यस्त गराइसकेका हुन्छन् । जेएनयूको साख भनेको अभिव्यक्ति र वैचारिक स्वतन्त्रता हो । उत्कृष्ट वातावरणमाझ शिक्षा पाएकाहरू दिक्षित भएर जाँदै गर्दा माटो र मातृभूमिप्रतिको जिम्मेवारी विर्सदैनन् । ज्ञान असीमित छ, त्यसैले विद्यावारिधी असीमित ज्ञान रहेको दुनियाँमा नगन्य मात्रा हो । सिक्ने प्रक्रिया कहिले रोकिँदैन । जेएनयूको माहोलले यही सिकाएको छ । स्वतन्त्रताको अभ्यास गर्दा अरुको स्वतन्त्रताको समेत ख्याल गर्नुपर्छ । निषेधको व्यवहार ज्ञान प्राप्तिको बाधक हो । स्वस्थ वैचारिक वहसले सकारात्मक परिकल्पनाको लागि परिस्थिति तयार गर्छ । स्वतन्त्रता, स्वस्थ वैचारिक बहस र ज्ञानको बाँडफाँड हुने परिवेश नै जेएनयूको साख हो । ४६ वर्षपछिको दिक्षान्त समारोहले साख जोगाएर मात्र नभई अझ बढाएर जान जाँगर पैदा गरेको देखियो।








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad