coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कुसुन्डा वक्ताको खोजी

सहकर्मी मित्र डा. बाबुराम आचार्य, अर्का मित्र उदयराज आले गरी तीन जनाको समूह बन्यो, कुसुन्डा भाषाको अध्ययन यात्राका लागि । भाषा आयोगको आर्थिक सहयोग तथा नेपाल संस्कृत विश्वविद्यालयको प्राज्ञिक समन्वयमा गरिने अनुसन्धानमा हामीले तीन प्रतिवेदनहरू तयार गर्नु थियो– कुसुन्डा भाषाको शब्द संकलन, वर्ण निर्धारण र भाषिक इतिहास लेखन । अनुसन्धानको समयसीमा धेरै थिएन । विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला र शिक्षाध्यक्ष प्रा.रमेशप्रसाद ढकाललाई जानकारी गराइयो।

पहिले नेपाल संस्कृत विश्वविद्यालय र भाषा आयोगका बीचमा औपचारिक सम्झौता भयो । नेपथ्यमा रहेर समन्वय गर्ने काममा विश्वविद्यालयकै कर्मचारी मित्र अनिल पोखरेलले गरे । लगत्तै नेपालगन्जमा भाषा आयोगको कार्यशाला भयो । कार्यशालामा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थी, उपसचिवहरू गणेशप्रसाद भट्टराई र झुमप्रसाद राई, भाषाविद् डा.बलराम प्रसाईँ, मनोज पौडेल आदिसँग भेटघाट भयो । त्यसमा डा. हर्कबहादुर शाही, गोपाल अश्कजस्ता केही पूर्वपरिचित र विभिन्न भाषाको अनुसन्धानमा संलग्न साथीहरूसँग पनि भेटघाट भयो।

कुसुन्डा जातिको आफ्नो लिपि त परै आओस्, आफ्नो भाषाको कुनै लिखित स्वरूप नै छैन। केवल दुई पूर्ण वक्ता र केही अध्ययनका अभिलेखमा मात्र आज कुसुन्डा भाषाको अस्तित्व सुरक्षित रहेको छ।

समय अभावले प्रविधि सम्बन्धी कक्षा त्यति फलदायी नभए पनि अन्य कक्षाहरू हाम्रा मार्गदर्शन नै बने । एक दिने कार्यशालामा झुमप्रसाद, गणेशप्रसाद भट्टराई, डा. बलराम प्रसाईँले प्रशिक्षण दिनुभयो भने आयोगका अध्यक्ष डा.अवस्थीले नेपालका भाषाहरूको स्थिति र आगामी कार्यभारबारे गहन मन्तव्य राख्नुभयो । समग्रमा नेपालगन्जको कार्यशाला उपलब्धिमूलक रह्यो।

नेपालगन्जबाट फर्केपछि सामग्री संकलनका लागि हामी सबै स्थलगत अध्ययनमा खटियौँ । हाम्रो स्थलगत अध्ययनको क्षेत्र थियो प्रदेश ५ । त्यसमा पनि कुसुन्डा वसोबास क्षेत्र, अझ त्यसमा पनि कुसुन्डा भाषिक वक्ताहरूको खोजी । भाषा आयोगसँग सम्झौता गर्दा नेपाल संस्कृत विश्वविद्यालयको सिफारिस पत्रका साथै दाङ, घोराहीमा केन्द्रीय कार्यालय रहेको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले दिएको अनुसन्धान अनुमतिपत्र पनि साथैमा संलग्न थियो । हामीले कुसुन्डा भाषाको अनुसन्धान गर्ने क्रममा त्यसअघि भएका कार्यहरूको पुनरावलोकन तथा स्थलगत अध्ययनबाट प्राप्त सामग्रीहरूको संयोजन र विश्लेषणलाई सँगसँगै अगाडि बढायौँ । त्यस क्रममा हामी प्युठानदेखि कपिलवस्तु अनि घोराहीदेखि लमही धेरै पल्ट पुग्यौँ । बीचबीचमा आइरहने मनोज सर र झुमप्रसाद सरका इमेल तथा फोनहरूले पनि हामीलाई अनुसन्धान–कर्ममा लाग्न निरन्तर उत्पे्ररित गरिरहे । कतिपय प्राविधिक ज्ञानको सीमा र समन्वयको अभावले समेत अनुसन्धान सम्पन्न गर्न केही ढिला भए पनि अन्ततः असार १० गतेभित्र अनुसन्धानका सबै प्रतिवेदनहरू भाषा आयोगमा बुझाइयो । यसका लागि डा.बलराम प्रसार्इँ सरको कुशल प्राविधिक समन्वय र सहयोग अविष्मरणीय रहेको छ।

दाङ देउखुरीको लमहीदेखि थोरै पश्चिम लागेपछि अर्जुन खोला पुल आउँछ । महेन्द्र राजमार्गमै पर्ने अर्जुन खोला पुलकै छेउमा दोबाटो भेटिन्छ । सोझै पश्चिम लागे नेपालगन्ज र उत्तर लागे दाङ, घोराही पुगिन्छ । त्यही घोराही आउने बाटो भएर अघि बढ्दा नजिकै एउटा घुम्ती भेटिन्छ । त्यही घुम्तीबाट तलतिर झरेको कच्ची बाटो थोरै हिँडेपछि पुगिन्छ, कुसुन्डा भाषाकी वक्ता ज्ञानीमैयाँको घर, कुलमोर गाउँ । घोराही लमहीको त्यो बाटोमा थुप्रै यात्रा गरिँदा पनि कुलमोर पुगेको थिइनँ । यसपल्ट कुसुन्डा भाषाको खोज गर्ने क्रममा दर्जनौ पल्ट त्यहाँ पुग्ने अवसर पाइयो । हरेक पल्ट त्यहाँ पुग्दा नयाँ ज्ञान र जिम्मेवारीको पृथक क्षितिज अनावरण भएको पनि अनुभूति भयो।

कुसुन्डा जाति र उनीहरूको लोपोन्मुख भाषाको खोजीका क्रममा प्राप्त भएका तथ्यहरूबाट हामीहरू कहिले उत्साहित अनि कहिले दुःखी समेत भयौँ । सर्वप्रथम ब्राइन एच. हज्सनले सन् १८४८ र १८५७ मा ‘अन द चेपाड एन्ड ट्रिब्स अफ नेपाल’ र ‘कम्पेरेटिभ भोकाबुलरी अफ द ल्याड्ग्वेज अफ द ब्रोकन ट्रिब्स अफ नेपाल’ शीर्षक आफ्ना लेखहरूमा कुसुन्डा जाति र भाषाबारे उल्लेख गरेका छन् । उनले सबैभन्दा पहिले कुसुन्डा भाषाका केही शब्दहरू संकलन गरी प्रस्तुत गरेका छन् । त्यस्तै ग्रियर्सनले सन् १९०९ मा लिड्ग्विस्टिक सर्भे अफ इन्डियामा भारतीय भाषाहरूको उल्लेख गर्ने क्रममा नेपालका अन्य भाषाहरूसँगै कुसुन्डा भाषाको पनि उल्लेख गरेका छन् । त्यसपछि कुसुन्डा भाषाको अध्ययन गर्ने पहिलो विद्वान भने अष्ट्रियाका प्रसिद्ध मानवशास्त्री राइन हार्ट हुन् । उनले सन् १९६८ र १९६९ मा कुसुन्डा भाषाको निकै महत्वपूर्ण अनुसन्धान प्रतिवेदनहरू तयार गरेका छन् । त्यसपछि लामो समय कसैले पनि चर्चा र चासो नदिएको जस्तै देखिने कुसुन्डा जाति तथा भाषाबारे पछिल्लो समयमा भने नेपालभित्र र बाहिरका केही विद्वानहरूले अभिरुचि देखाएको भेटिन्छ । नेपालका प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट, योगी नरहरिनाथ, वि.के. राना, डा. माधवप्रसाद पोखरेल, डा. चूडामणि बन्धु, डा. योगन्द्रप्रसाद यादव,  डा. बलराम प्रसाइँ, भोजराज गौतम, बैरागी काइँला, सुजना धिताल, उदयराज आलेदेखि डेभिट वाटर्स, मार्क डोनोहुई आदि विदेशी लेखकहरूले पनि कुसुन्डा जाति र भाषाबारे लेखेका छन्।

राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख छ । २०६८ को तथ्याड्क अनुसार नेपालमा कुसुन्डाहरूको जनसंख्या २१३ र वक्ता संख्या २८ जना उल्लेख छ । साथै त्यसमा झापा, मोरड, सुनसरी, सिराहा, काठमाडौँ, प्युठान, दाड, सुर्खेत आदि ठाउँमा कुसुन्डा जातिको बसोबास रहेको देखाइएको छ । तर, कुसुन्डा विकास समिति, केन्द्रीय कार्यालय दाङले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा दाङ, प्युठान, रोल्पा, सुर्खेत, अर्घाखाँची, कपिलवस्तु, गोरखा र तनहुँमा गरी जम्मा कुसुन्डाहरूको संख्या जम्मा १५० मात्र उल्लेख छ । यतिबेला कुसुन्डा भाषाका आंशिक वक्ता रहेका तनहुँका राजामामाको पनि निधन भइसकेको छ भने अन्य आंशिक वक्ताहरू प्युठानका लीलबहादुर शाही कसुन्डा, कपिलवस्तुका गुञ्जबहादुर शाही कसुन्डा, दाङ, अम्बापुरका प्रेमबहादुर शाही कसुुन्डा, गोविन्दबहादुर ठकुरी कसुन्डाबाहेक हाल नेपालमा जम्मा दुई मात्र कुसुन्डा भाषाका पूर्ण वक्ताहरू छन् । रोल्पा, सखीकी ४३ वर्षीया कमला सेन खत्री कुसुन्डा र दाङ कुलमोरकी ८३ वर्षीया ज्ञानीमैयाँ सेन कसुन्डा मात्र यस भाषाका पूर्ण वक्ताहरू हुन् । हाल कमलाको अस्थायी बसाइँ पनि दाङ, लमहीमै छ।

संख्याका हिसावले डेढ सयको हाराहारीमा रहेका कुसुन्डा नेपालका अल्पसंख्यक जाति हुन् । इतिहासको लामो कालखण्डदेखि वनराजा वनरानीका रूपमा रहेका उनीहरू गाउँसहरमा बसोबास गर्न थालेको धेरै भएको छैन । कसैको नाममा पनि दर्तावाल जग्गाजमिन नभएकाले सबैजसो कुसुन्डाहरू अति विपन्न छन् । गरिबी, अशिक्षा र पछौटेपनका कारण उनीहरूले आफ्नो भाषा र संस्कृतिको संरक्षण पनि गर्न सकेका छैनन् । उनीहरूको आफ्नो लिपि त परै आओस्, आफ्नो भाषाको कुनै लिखित स्वरूप नै छैन । केवल दुई पूर्ण वक्ता र केही अध्ययनका अभिलेखमा मात्र आज कुसुन्डा भाषाको अस्तित्व सुरक्षित रहेको छ । खेतीपाती नगर्ने, पशुपालन नगर्ने, दूधदही नखाने नेपालको एक फिरन्ते, घुमन्ते वा भ्रमणशील जाति कुसुन्डाको आफ्नै मौलिक संस्कृति भए पनि संरक्षणको अभावमा लोप प्रायः रहेको छ।

भाषा आयोग, नेपालको तथ्यांक अनुसार नेपालमा १२३ भाषाहरू छन् । त्यसमा १९ भाषाहरु ९६ प्रतिशत नेपालीले बोल्छन् भने अन्य १०४ भाषाहरू चार प्रतिशतले मात्र बोल्ने गर्छन् । यस्तै पहिलो भाषाका रूपमा नेपाली बोल्नेहरू ४४.६ प्रतिशत रहेका छन् भने दोस्रो भाषा नेपाली बोल्नेहरूको संख्या ३२.८ प्रतिशत छ । नेपालमा १४ प्रकारका लिपिहरू छन् भने ६४ भाषाहरूको मात्र वर्ण निर्धारण भएको छ । त्यस्तै ६४ भाषाहरूको मात्रै विज्ञ सञ्जाल बनेको देखिन्छ । साथै नेपालका २९ वटा भाषाहरू लोपोन्मुख भाषाको सूचीमा रहेका छन् । त्यसमा पनि कुसुन्डा भाषा नै लोपोन्मुख सबैभन्दा अग्रभागमा रहेको भाषा हो भन्ने प्रष्ट छ । अहिले यस भाषा बोल्नसक्ने दुई वक्तामध्ये ज्ञानीमैयाँ जीवनको उत्तराद्र्धमा छिन् । अर्का वक्ता कमला सेन पनि ४३ पुगिसकिन् । बेलामौकामा भेटघाट हुँदा मात्र आफ्नो भाषामा कुराकानी गर्ने यी दुई वक्ताको शेषपछि यस भाषा पनि स्वतः यस संसारबाटै लोप हुने स्थितिमा पुगेको छ । कुसुन्डाहरूको जातिगत भूगोल गण्डकीदेखि भेरीसम्म फैलिएको भए पनि भाषिक भूगोल भने कपिलवस्तु, प्युठान, दाङ र रोल्पामै सीमित छ । त्यसमा पनि पूर्ण वक्ताको हालको बसोबासलाई आधार मान्ने हो भने कुसुन्डा भाषाको भाषिक भूगोल नेपालको प्रदेश ५ मा पर्ने दाङको लमही क्षेत्रमै खुम्चिएको देखिन्छ।

वंशानुगत सम्बन्धका आधारमा संसारका भाषाहरूलाई विभिन्न भाषा परिवारमा वर्गीकरण गरिएको छ । तीमध्ये भारोपेली, चिनिया तिब्बती (भोट बर्मेली), आग्नेली र द्रबिड गरी नेपालमा चार परिवारका भाषाहरू बोलिन्छन् । तर, कुसुन्डा भाषा नेपालका उपरोक्त कुनै पनि भाषा परिवारभित्र पदैन । त्यसैले यसलाई एकल भाषा भनिएको छ । यस भाषाका आफ्नै मौलिक विशेषताहरू देखिन्छन् । यसमा विभिन्न जातजातिलाई बुझाउने आफ्नै मौलिक शब्दहरू छन् । यस्तै नाता सम्बन्ध बुझाउने शब्दहरू पनि आफ्नै प्रकारका छन् । यसको शब्द–भण्डार मात्र नभएर उच्चारण व्यवस्था पनि अरु भाषाभन्दा पृथक र मौलिक  छ । यसकारण पनि यो भाषा भविष्यमा स्वदेशी मात्र होइन विदेशी भाषाशास्त्रीहरूका लागि समेत एउटा गम्भीर चासो र चिन्तनको केन्द्रस्थल बन्न सक्ने सम्भावना उत्तिकै छ । विश्वका कुनै पनि भाषा परिवारसँग नमिल्ने भनिएको नेपालको कुसुन्डा भाषालाई समयमै संरक्षण गर्न सकेमा विश्वका धेरै भाषाशास्त्री र प्राज्ञिक अन्वेषकहरुका लागि समेत नेपाल गतिलो गन्तव्य बन्ने निश्चित छ । त्यसमा पनि दाङ प्रदेश ५ को भाषिक अध्येताहरूका लागि नयाँ तीर्थस्थलजस्तै बन्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा, कुसुन्डाजस्ता लोपोन्मुख भाषाहरूको संरक्षण गर्नु भनेको विश्वकै एउटा मौलिक सभ्यता, इतिहास र संस्कृतिको पनि संरक्षण गर्नु हो । यो कुनै जाति विशेषको मात्र आफ्नो पहिचान रक्षा गर्ने जिम्मेवारी होइन, हामी सबैको सामूहिक दायित्व हो।

प्रकाशित: २६ श्रावण २०७५ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App