७ वैशाख २०८१ शुक्रबार
समाज

सामुदायिक वनमा पाल्पा नेपालकै उत्कृष्ठ

फाइल फाेटाे

पाल्पा - सामुदायिक वनमा पाल्पा नेपालमै उत्कृष्ट ठहरिएको छ । पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो।

‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सम्पन्न तेस्रो सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागले समितिलाई उक्त पुरस्कार हस्तान्तरण गरेको छ। वन संरक्षण, संवद्र्धन र विकाससहित व्यवस्थापनमा उत्कृष्ट भएर अंधेरी छरछरे वनले उत्कृष्ट पुरस्कार प्राप्त गरेको हो। पाल्पामा पनि तेस्रो सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा कार्यक्रमको आयोजना भएको छ। जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले वृक्षरोपणसहित सभाको आयोजना गरेर दिवस मनाएको हो।

सामुदायिक वन दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामप्रसाद पाण्डेले मानिसले कृषिजन्य काम छाडेर खेतीपाती नगरेका कारण वन्यजन्तुको आक्रमण बढेको बताए। उनी भन्छन्, ‘वन जोगाउनुभन्दा मानिसले मास्ने र दिगो प्रभावलाई ख्यान नगरेका कारण भूक्षय, भूस्खलन तथा बाढीपहिरोको जोखिम बढेको छ।’ सहायक जिल्ला वन अधिकृत महम्मद अतिउल्लाहले पाल्पामा ४० हजार हेक्टरमा ६ सय ८३ वन उपभोक्ता समूह रहेको बताए। ‘वन समूहमा ५८ हजार घरधुरी सम्मिलित छन्। २९ लाख व्यक्तिको नेतृत्व विकास भएको छ। झन्डै १ लाख महिला कार्यकारी पदमा पुगेका छन्,’ उनले भने।

पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पन्तले वन, वन्यजन्तु र मानव जीवनको अन्योन्याश्रित सम्बन्ध रहेको बताए। उनले भने, ‘पर्यटन, जैविक विविधता तथा जमिनसँग मानिसको अटुट सम्बन्ध हुने भएकाले वन संरक्षण आवश्यक छ।’ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जिल्लाका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्य भइरहेको बताए।

वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले यसपटक ५ पाँच विधामा १४ वटा पुरस्कार प्रदान गरिएको बताए। विभागका अनुसार गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ चार, कबुलियती वन राष्ट्रिय पुरस्कारतर्फ तीन, निजी वन राष्ट्रिय पुरस्कारतर्फ चार, साझेदारी वन राष्ट्रिय पुरस्कारतर्फ एक र सामुदायिक वन पत्रकारिता पुरस्कारतर्फ दुईजना पत्रकार पुरस्कृत भएका हुन्।

यसअनुसार गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ पाल्पाको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ। यो संस्थालाई नगद एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ। यस्तै अर्घाखाँचीको घिरीखोला सामुदायिक वन उपभोक्ता समूह दोस्रो भएको छ। यो संस्थालाई ७५ हजार नगद दिइएको छ। कपिलवस्तुको वीरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह तेस्रो भएर ५० हजार नगद प्राप्त गरेको छ। सान्तवना पुरस्कार मोरंगको हरियाली सामुदायिक वन उपभोक्ता समूह र नवलपरासीको धुसेरी सामुदायिक वन उपभोक्ता समूहले पाएका छन्। सान्तवनामा परेका दुवै संस्थालाई २५ हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ। यस्तै कबुलियती वन राष्ट्रिय पुरस्कारतर्फ पाँचथरको ठाडो नागी कबुलियती वन समूह प्रथम भएर एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ। दोस्रोमा नवलपरासीको शीतलपोखरी कबुलियती वन समूहले ७५ हजार र तृतीयमा प्युठानको हार्वुदीप कबुलियती वनले ५० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै निजी वन राष्ट्रिय पुरस्कारतर्फ झापाका दुर्गाप्रसाद प्रसाईं प्रथम भएका छन्। प्रसाईंलाई ७५ हजार, दोस्रोमा कैलालीका मुकुन्द पाण्डेलाई ५० हजार र तेस्रोमा इलामका रघुनाथ तिम्लिसिनालाई ३० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । यस्तै सान्तवनातर्फ मोरंगका अंशु, युयुत्सु वन्जारा र खोटाङका सीताराम राईलाई १५/१५ हजार राशिको पुरस्कार प्रदान गरिएको छ।

यस्तै ५५ हजार पाँच सय ५५ राशिको साझेदारी वन राष्ट्रिय पुरस्कार यो वर्ष कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले पाएको छ। वनका व्षियमा निरन्तर कलम चलाउँदै आएका कान्तिपुरका अब्दुल्ला मियाँ र गोरखापत्रका धनकुटा सम्वाददाता कोकिला भण्डारीलाई २५/२५ हजार रुपैयाँको सामुदायिक वन पुरस्कार प्रदान गरिएको छ। करिब १० वर्षको अनुभव पश्चात् विसं २०४६ मा सुरु भएको दीर्घकालीन वन विकास गुरुयोजनामा सामुदायिक वन विकास कार्यक्रम वनक्षेत्रकै सबैभन्दा प्राथमिकता प्राप्त कार्यक्रमका रूपमा स्थापित भएको छ।

नेपालमा २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा २२ हजार २ सय ६६ सामुदायिक वन छन्। सामुदायिक वनबाट २९ लाख ७ हजार ८ सय ७१ मानिस लाभान्वित भएको विभागले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७५ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App