८ वैशाख २०८१ शनिबार
राजनीति

हरिसिद्धिको जग्गा हडप्न प्रपञ्च

फाइल फाेटाे

ललितपुर - ललितपुर मालपोत कार्यालयलाई हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गा व्यक्तिका नाममा पास गर्न बारम्बार दबाब आउन थालेको छ। जिल्लाका सांसद तथा जग्गा व्यवसायीले कार्यालयमै पुगेर जग्गा पास गर्न दबाब दिइरहेको कार्यालयका कर्मचारी बताउँछन्।

‘अनावश्यक टर्चर दिँदा कार्यालयको काम बिथोलिएको छ,’ कार्यालयका नायबसुब्बा श्याम क्षत्रीले नागरिकसँग भने, ‘समूहमा आउने व्यक्तिहरुले प्रक्रिया नै पूरा नगरी जग्गा पास गरिदिन भन्दै हैरान पार्न थालेका छन्।’ उनले जग्गा व्यवसायीहरूकै दबाबका कारण कार्यालय प्रमुख चार दिनदेखि कार्यालय नआएको जानकारी दिए। ‘विभिन्न व्यक्तिहरु आएर कार्यालय प्रमुखलाई घेरा हाल्छन्, आवश्यक कागजात पु-याउनुस् भन्दा उल्टै हप्काउँछन्,’ उनले थपे।

कर्मचारी क्षत्रीका अनुसार पछिल्लो समय हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिडेटको जग्गाा निकै विवादमा आएको छ। केही व्यवसायी गैरकानुनी रुपमा कारखानाको जग्गा आफ्नो नाममा पार्ने दाउमा छन्। उनीहरूले एकएक गरी कार्यालयका कर्मचारीलाई भेटेर दबाब दिइरहेका छन्। तर, मालपोत कार्यालयका कर्मचारी र सम्बन्धित सरकारी निकायले भने आवश्यक कागजात पु-याएर आउन भनिरहेका छन्। बिहीबार पनि केही व्यक्ति मालपोत कार्यालयमा पुगेका थिए। आवश्यक कागजात नै पूरा नगरी जग्गा पास गरिदिन भन्दै उनीहरूले हप्काएको मालपोत कार्यालयका एक अधिकारीले बताए।

विगतमा सरकारले उत्पादन तथा रोजगारी वृद्धि गर्ने उद्देश्यले ९१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कारखाना निजीकरण गरेको थियो। अहिले त्यही बहुमूल्य जग्गा बिक्री गरी ठूलो रकम हात पार्ने कारखाना सञ्चालकको योजनालाई सहयोग पुग्नेगरी जनप्रतिनिधिले सघाउन थालेका छन्। कारखानाको जग्गा बिक्री गर्न ललितपुर महानगरपालिका २७ वडा कार्यालयले गत माघ २५ मा सिफारिस गरेको थियो। त्यति बेला हरिसिद्धिका सेयरधनी तथा मजदुरले सिफारिस रोक्का गर्न वडासँग माग राखेका थिए। तर, वडाध्यक्षले सेयरधनी एनबी बाल्ट्रा हस्पिटल एन्ड रिसर्च सेन्टरका नाममा ‘घरबाटो’ सिफारिस दिएका थिए।

यो जग्गामा २०२२ सालमा चीन सरकारले नेपाललाई उपहारस्वरुप हरिसिद्धि तथा टायल कारखाना बनाइदिएको थियो। तर, कारखाना ०४९ सालमा निजीकरणमा गएपछि जग्गाको विवाद चर्किन थालेको थियो। हालसम्म करोडौं रुपैयाँको आर्थिक हिनामिना भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । ‘केही व्यक्तिले प्रपञ्च रचेर जग्गा आफ्नो नाममा पार्न खोजेका छन्,’ कार्यालयका खरिदार प्रदीप पौडेलले भने, ‘यो विषयले हामीलाई दैनिक काममा अवरोध गरेको छ, यसमा स्थानीय नेताहरूको पनि संलग्नता छ। उनीहरुकै आडमा जग्गा व्यवसायीहरू मालपोत कार्यालय आएर बिनाप्रक्रिया जग्गा पास गर्न दबाब दिइरहेका छन्।’

केशव तिमल्सिनालगायतको टोलीले दबाब दिन थालेको कार्यालय प्रमुख भीमप्रसाद गौतमले बताए । उनका अनुसार दशकौं पहिले जनताले कारखाना सञ्चालन गर्न सरकारलाई दिएको जग्गा आफ्नो नाममा बनाउन अहिले दलालहरूले चलखेल थालेका छन्। ‘स्थानीय जग्गा व्यवसायी (जग्गा दलाल) ले कार्यालयमा आएर अनावश्यक तनाब मात्रै दिने गरेका छन्,’ उनले भने, ‘प्रक्रिया नपुगीकन हामीले निर्णय र पास गर्न मिल्दैन भनेर पठाउँदा पनि उल्टै घेरा हाल्न आउँछन्।’ उनका अनुसार जग्गा पास गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट रजिष्टर भएको कागज र भूमिसुधार मन्त्रालयबाट हकबन्दी छुट लिएको हुनुपर्छ । तर, अधुरा कागजातका भरमा कसैको स्वार्थसिद्धिका लागि जग्गा पास गर्न सकिँदैन। ‘आवश्यक कागजातबिना हचुवाको भरमा जग्गा कसैका नाममा पास गरिदिन मिल्दैन ।’ उनले पछिल्लो समय त्यस क्षेत्रका सांसद र जनप्रतिनिधिले पनि व्यक्तिका नाममा जग्गा पास गराउन चलखेल गर्न थालेको जानकारी दिए।

मालपोत कार्यालयका एक कर्मचारीका अनुसार सांसद राजकाजी महर्जन र पम्फा भुसालले मालपोत कार्यालयमै पुगेर कारखानाको जग्गा व्यक्तिका नाममा पास गरिदिन दबाब दिइरहेका छन्। ‘पास गरिदिऊँ भने कागजात पुगेको छैन,’ ती कर्मचारीले भने, ‘नगरौं भने बारम्बार दबाब आइरहेको छ।’ यसअघि कम्पनी अपडेट नभएको र जग्गा हिनामिना हुन थालेपछि सञ्चालक समितिमा रहेका व्यक्तिहरूले जग्गा पास गर्ने प्रक्रिया रोक्न माग गरेका थिए।

हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिडेट सञ्चालक समितिमा रहेका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको हालीमुहाली रहेको भन्दै स्थानीयले जग्गाको संरक्षण हुनुपर्ने आवाज उठाएका थिए। कम्पनी रजिष्ट्रारको कार्यालयले हालको सञ्चालक समितिलाई अभिलेख नगरेको र उक्त समितिले जग्गा धितो राखी बेच्ने क्रियाकलाप गर्दा त्यसबारे कसैले चासो नदिएको सेयर संघर्ष समितिका संयोजक अच्युतप्रसाद मिश्रले बताए। उनले उक्त जग्गा भूमाफियाबाट जोगाउनुपर्ने बताए। ‘हामी अन्यायमा परेका छौं’, उनले भने, ‘यसतर्फ सरकारी निकायले ध्यान दिन आवश्यक छ।’ उनले मिलेमतोमा कारखाना डुबाउने र अचल सम्पत्ति हडप्ने खेल भएको भन्दै यसतर्फ सबैको ध्यानकर्षण गराए। तिमल्सिनाले भने प्रक्रिया पु-याएर जग्गा पास गर्न मालपोल कार्यालय गएको दाबी गरे। ‘हामीले प्रक्रिया पु-याएर पनि जग्गा पास गर्न पाएका छैनौं,’ उनले भने, ‘जिल्ला अदालतले पनि पास गरिदिनू भनेर आदेश दिइसकेको छ तर कर्मचारीले अटेर गरेका छन्।’

प्रकाशित: २६ श्रावण २०७५ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App