८ वैशाख २०८१ शनिबार
समाज

जनैपूर्णिमाकाे अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाको तयारी थालियाे

फाइल तस्विर

रसुवा - जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको तयारी सुरु गरिएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएसँगै तयारी थालिएको हो। 

मेला व्यवस्थापनका लागि गोसाइँकुण्ड क्षेत्र विकास समितिले विभिन्न उपसमिति गठन गरेर कार्य थालिसकेको छ। समितिले शुक्रबारदेखि सरसफाई अभियान सुरु गरेको छ। सरसफाई तथा खानेपानी उपसमितिले शुक्रबार धुन्चेदेखि मिनि गोसाइँकुण्डसम्म सरसफाई गरेको हो। हरित युवा पर्यटन समाजको नेतृत्वमा उपसमिति निर्माण गरिएको छ। 

यो वर्षको मेलामा धुन्चेदेखि गोसाइँकुण्डसम्म ६ स्थानमा स्वास्थ्य क्याम्प सञ्चालन गरिने समितिका अध्यक्ष सन्जिब डिएमले बताए। समितिको शुक्रबार बसेको बैठकले हिमालय उद्धार संघले गोसाइँकुण्ड, सक्षम नेपाल र नेपाल रेडक्रस सोसाइटीले बुद्ध मन्दिर, लौरीबिनामा पाटन स्वास्थ्य विज्ञान, मिनि गोसाइँकुण्डमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको कालिजंग गणले चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य क्याम राख्ने निर्णय गरेको छ। यो वर्षको मेला यही साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ। 

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्। 

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्। 

गोसाइँकुण्ड जाने मार्ग
तीर्थयात्रीहरू मुख्य बाटोको रुपमा रसुवाको धुन्चेबाट घट्टेखोला, बुद्ध मन्दिर, लौरीविनाहुँदै पैदलमार्फत जाने गरेका छन्। काठमाडौको सुन्दरीजलबाट पैदल यात्रा सुरु गरी, चिसापानी, कुटुङसाङ्ग, भंगिनगोठ, छहरेपाटी, घोप्टेभीरको फेदी हुँदै सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्ने अर्को पैदलमार्ग रहेको छ। यस मार्गबाट विश्राम गर्दै दुई दिनमा सहज रुपमा गोसाइँकुण्ड पुग्न सकिन्छ। 

त्यसैगरी गोसाइँकुण्ड पुग्न अर्को पदमार्गको रुपमा सुन्दरीजलबाट पैदल मार्गको विकल्पमा तीर्थयात्रीको लागि नुवाकोटको विदुर नगरपालिका  ५ गँगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङफेदी तालुकसेरीहुँदै फेदी निस्केर सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिन्छ। 

प्रकाशित: २५ श्रावण २०७५ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App