काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष रेलिगेसन विनाको लिग गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता किरण राईले फूटबलको सर्वोच्च निकाय (फिफा) र एएफसीसँग अनुमति लिइसकेको, लिग खेल्न क्लवसँग सहमति भइसकेको तथा लिग कमिटीले पनि धेरै काम अघि बढाइसकेकाले एक सिजनका लागि रेलिगेसन विनाको लिग गर्ने प्रष्ट पारे।
पाँच वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि शुरु हुँदैछ। लिग माघसम्म सञ्चालन हुनेछ। त्यसका लागि एन्फाले लिग संयोजकको रुपमा पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा र निर्देशकको जिम्मेवारी खेल विश्लेषक सञ्जीव मिश्रलाई दिइसकेको छ।
एन्फाले विदेश विभाग प्रमुखमा नियुक्ति भइ फिफा कंग्रेसमा सहभागिता जनाएका नविन पाण्डे विदेशी नागरिक नभएको बरु गैरआवासीय नेपाली भएको भन्दै आफ्नो बचाउ समेत गरेको छ। केही दिन पहिले पाण्डे नेपालको नेतृत्व गर्दै फिफा काँग्रेसमा सहभागी भएपछि त्यसको विरोध भएको थियो।
गैरआवासीय नेपालीसँग सहकार्य गर्ने सरकारी नीति नै भएकाले उनलाई विदेश विभाग प्रमुख बनाइएको प्रवक्ता राईको भनाइ थियो। सो अवसरमा एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा गर्ने जानकारी समेत दिइयो। साधारणसभाले संघीयता अनूकूल विधान बनाउने बताइएको छ। रासस
प्रकाशित: २५ श्रावण २०७५ १४:३० शुक्रबार