८ वैशाख २०८१ शनिबार
अन्य

उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो

काठमाडौं– गैरन्यायीक रुपमा १९ वर्षअघि हत्या गरिएका उज्जन श्रेष्ठको परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ। कुनै राजनीतिक संलग्नता नरहेको व्यक्तिलाई शसस्त्र द्वन्द्वको नाममा हत्या गरिए पनि न्याय नदिने काम हालसम्म जारी रहेको पीडित परिवारको गुनासो रहेको छ। सर्वोच्च अदालतले गैरकर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुङगेललाई जोगाएर दल तथा सरकारले न्यायलाई मारेको आरोप उनीहरुले लगाएका छन्।

उज्जन हत्याको १९ वर्ष पुगेको दिन पारेर परिवारले हत्यारालाई कारवाही गरी न्याय दिन माग गरेका हुन्। २०५५ साल असार १० गते ओखलढुङ्गा तारकेराबारी खहरे खोलामा श्रेष्ठलाई माओवादी कार्यकर्ताहरुले गोली हानी हत्या गरेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतले पनि दुई पटक परमादेशको आदेश जारी गरिसकेको छ।

व्यक्तिगत रिसिइबीका कारण हत्या गरिएका श्रेष्ठको परिवारले जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुग्दा पनि दोषीहरु खुलेआम हिँडिरहेका छन्। उज्जनको हत्याको मुख्य योजनाकारका रुपमा सर्वोच्चले गरेको फैसला पनि अटेर गर्दै ढुङ्गेल राजनीतिक संरक्षणको आडमा हिँडेर दण्डहिनतालाई सरकारले सहयोग गरेको आरोप परिवारले लगाएका छन्।

‘तीन वटै अदालतले सर्वस्वसहित जन्मकैद सुनाएको व्यक्ति खुलेआम पीडित परिवारलाई धम्की दिँदै हिँडे पनि राज्यले त्यसको संरक्षण गरेको अनुभूती परिवान जनले गरेका छौं,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘हत्याको अभियोगमा संलग्न भएको भनी अदालतले ठहर गर्दा गर्दै सभासद् बनाउने, त्यसको संरक्षणमा प्रमुख पार्टीका जिम्मेवार नेताहरु लाग्ने गरेकाले न्यायप्रतिको विश्वासमा चोट पुगेको छ।’  

सर्वोच्च अदालतको संवैधानिक इजलाशले  २०७२ पुस २३  गते  पछिल्लो फैसला कार्यान्वयन गर्न दोस्रो पटक परमादेशको आदेश जारी गरेको थियो। पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले उज्जनको हत्यामा संलग्नहरुको विषयमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न भनेको थियो।

गणेश श्रेष्ठको मुद्दा दर्ताको चरणमा

उज्जनको हत्यारालाई कारवाही माग गर्दै किटानी जाहेरी दिएको भन्दै माओवादी कार्यकर्ताले हत्या गरेको गणेश श्रेष्ठको उजुरीमा पनि जिल्ला सरकारी वकिल कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी गरेको श्रेष्ठकी दिदी सावीत्री श्रेष्ठले बताइन्।  घटनाको मुजुल्का, साक्षीको बयान र अन्य प्रमाण संकलनको कार्य समाप्त गर्दै अभियोगपत्र दर्ता गर्ने तयारीमा प्रहरी उनले बताइन्।  २०५९ साल मंसिर ६ गते श्रेष्ठको हत्या माओवादीले गरेका थिए। हत्यापछि एक सातासम्म लास उठाउन नदिएको र उक्त लास जलाउन नसकी खाल्डोमा गाड्नु परेको थियो। गणेशका तर्फबाट प्रहरीमा दिएको किटानी जाहेरीमा अनुसन्धान समाप्त गरी प्रहरीले मुद्दा दर्ता गराउने तयारी गरेको हो। दुबै घटनामा द्वन्द्वकालमा माओवादी कार्यकर्ताहरुको संलग्नता रहेका थिए। माओवादी द्वन्द्वसँग संलग्नता कतै पनि नरहेका आफ्ना दाजुहरुलाई हत्या गरी पटक पटक न्याय माग्दासमेत नपाएको दिदि  श्रेष्ठले बताइन्।

‘हामी पीडित परिबारको अन्तिम माग भनेको न्याय र अदालतको फैसला कार्यान्वयन हो,’ श्रेष्ठले भनिन्, ‘सर्वोच्चवाट भएको फैसला कार्यान्वयन भई आफूहरुलाई सरकारले अविलम्व न्याय दिनुपर्छ।’

 

प्रकाशित: ९ असार २०७३ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App