८ वैशाख २०८१ शनिबार
समाज

सरकारी उदासीनताका कारण यार्सामा लाखाैंकाे कर छली हुँदै

डोल्पा - नेपालमै गुणात्मक र संख्यात्मक हिसावले अन्य जिल्लाहरु भन्दा धेरै यार्सागुम्बा पाइने हिमाली जिल्ला डोल्पामा सरकारी उदासीनताका कारण बहुमुल्य जडीबुटी यार्सागुम्बाबाट भनेजतिको यार्साकर सरकारी करको दायरामा आउन सकेको छैन।

उपल्लो डोल्पामा पर्ने तिन्जे र धो हुँदै छिमेकी राष्ट्र चिनको स्वशासित क्षेत्र तिब्बतमा लगेर नेपाली यार्सागुम्बा व्यापारिहरुले चोरबाटोबाट यार्सा निर्यात गर्न थालेपछि नेपाल सरकारले यार्सागुम्बाबाट भनेजतिको राजश्व उठाउन नसकेको हो।

नेपाल सरकारले डोल्पाको उपल्लो क्षेत्रमा पर्ने तिब्बतसँग सिमा जोडिएका क्याटो र मोरिम्म नाकामा सिमा सुरक्षा पोष्ट र भन्सारको व्यवस्था गर्न नसकेका कारण नेपाली यार्सागुम्बा व्यापारिहरु वर्षेनी बहुमुल्य जडिबुटी खुलमखुला रुपमा तिब्बत तर्फ निर्यात गर्दै आईरहेका छन्।

हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने धो, तिन्जे ,छार्का, मुकोट लगायतका बस्तीहरु सरकारी सुरक्षा संयन्त्रणको पहुँचबाट टाढा छन। डोल्पाका दुई दर्जन भन्दा बढी यार्सागुम्बा पाइने वन पाटनहरुमा बर्षेनी दश क्वीन्टल भन्दा बढी यार्सागुम्बा उत्पादन हुने र सोही अनुपातमा संकलन तथा बिक्री बितरण हुने गरेको भएपनि उत्पादनको ३० प्रतिशतको हाराहारीमा मात्रै यार्सागुम्बाको राजश्व उठ्ने गरेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष ०६३/०६४ ताका दश क्वीन्टल यार्सागुम्बाको राजस्व संकलन गरेको जिल्ला वन कार्यालयले पछिल्लो समय दुई सय पचास केजी हाराहारीमा मुश्किलले राजस्व उठाउने गरेको जिल्ला वन अधिकृत दिपक खत्रीले बताए।
आर्थिक वर्ष ०७३/०७४ मा यार्सागुम्बाबाट ५४ लाख ५० हजार रुपैयाँ राजश्व उठाएकोमा आर्थिक वर्ष ०७४/०७५ को साउन २५ सम्म ६४ लाख ७५ हजार रुपैयाँ राजश्व उठाएका खत्रीले बताए।

यता शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तर्गतका यार्सा पाटनहरुमा यार्सागुम्बा संकलन गर्न गएका जिल्ला भित्र र बाहिरका ६ हजार २ सय ४० संकलकहरुबाट आर्थिक वर्ष ०७३/०७४ मा १ करोड ११ लाख ९१ हजार र छोडपुर्जिबाट २१ लाख २५ हजार गरेर १ करोड ३३ लाख १६ हजार राजश्व संकलन गरेकोमा आर्थिक वर्ष ०७४/०७५ को साउन सम्ममा ६ हजार ९ सय ६९ यार्सा संकलकहरुबाट १ करोड ४१ लख १२ हजार र छोडपुर्जिबाट १५ लाख ५८ हजार ७ सय ५० गरेर १ करोड ५६ लाख ७० हजार ७ सय ५० बराबरको राजश्व उठाएको निकुन्जका निमित्त संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए।

यो वर्ष सशस्त्र प्रहरी र नेपाली सेना गएन यार्साव्यापारीसँग
बिगतका वर्षहरुमा यार्सागुम्बाको सिजनमा राजश्व उठाउन तर्फ नभई यार्सा व्यापारीहरुको सुरक्षाको लागि व्यापारीकै खर्चमा डोल्पा र तिब्बतको सिमा नाका क्याटो र मोरिम्म सम्म पुगेर व्यापार अवधीभर सुरक्षा दिँदै आएको नेपाली सेना र सशस्त्र प्रहरीले भने यो वर्ष सुरक्षा दिएन।

यार्सागुम्बाको ब्यापारको शिलशिलामा उपल्लो डोल्पा र तिब्बतको सिमा नाकामा गएका व्यापारीहरुबाट पैसा लुट्ने र व्यापारीकै हत्या गर्ने सम्मका घटनाहरु बढ्न थालेपछि व्यापारीहरुको आग्रहमा सुरक्षा व्यवस्था गरिदै आएको छ।

 

प्रकाशित: २५ श्रावण २०७५ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App