coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सवारी दुर्घटना घटाउन चालकलाई १५ मिनेट रिफ्रेसमेन्टको व्यवस्था गरेका छौं’

जय थापा मगर, वडाध्यक्ष, दक्षिणकाली नगरपालिका–१

तपार्इं जनप्रतिनिधि भएर आएपछि जनताले महसुस गराउने के–के काम गर्नुभयो?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहिन रह्यो । जसको कारणले जनप्रतिनिधीसँग स्थानीय जनताको धेरै चाहाना र आंकाक्षा रहेका छन् । त्यसैले हामीले धेरै काम गर्न सकेका छैनौं । दक्षिणकाली नगरपालिका काठमाडौं जिल्लाको गरिब नगरपालिकामा पर्छ । त्यसैले बजेट पनि अत्यन्तै न्यून रहेको छ । जनप्रतिनिधि भएर आएसँगै वडाको भौतिक विकासमा जोड दिँदै आएका छौं । गत वर्षअघि सारेका योजना उपभोक्ता समितिमार्फत् निर्माण सम्पन्न गरेका छौं । चाङ्लाखेल, बोसन, कुस्लेगाउँ, खहरेखोलालगायत क्षेत्रमा सानो परिणाममा भए पनि सडक ढलान गरेका छौं । अन्य योजनालाई पनि क्रमागत रूपमा अघि बढाइरहेका छौं।

तपार्इंको वडामा पर्याप्त सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ नि?
वडामा अहिले एउटा मात्रै सार्वजनिक शौचालय छ । वडामा पर्याप्त सार्वजनिक शौचालय नहुँदा टाढा–टाढाबाट आउने बटुवालाई समस्या हुने गरेको छ । त्यसलाई मध्यनजर गरेर वडा कार्यालयले हात्तीवन क्षेत्रमा सार्वजनिक शौचालय बनाउने योजना अघि सारेको छ । चालू आर्थिक वर्षमा शौचालय निर्माणको लागि पाँच लाख बजेट विनियोजन गरेका छौं । अबको केही समयभित्रै शौचालय निर्माणले गति लिनेछ।

तपार्इंको वडामा खानेपानीको समस्या कस्तो छ?
अन्य स्थानमा जस्तो हाम्रो वडामा खानेपानीको समस्या छैन । वडामा पर्याप्त खानेपानीको स्रोत भएकाले घर–घरमा सहज ढंगले खानेपानीको वितरण हुँदै आइराखेको छ।

हिमाल सिमेन्ट कारखानादेखि दक्षिणकाली पुग्ने सडक अस्तव्यस्त छ, कहिलेसम्म व्यवस्थित गर्नुहुन्छ?
यो सडक विस्तारमा समस्या देखिएको छ । गत असारसम्म सडक विस्तार सम्पन्न गर्नुपर्ने समयावधि रहेको थियो । तर, मुआब्जा र जग्गा विवादको कारणले समस्या भइराखेको छ । त्यसको साथसाथै सडक जीर्ण भएर खाल्डाखुल्डी हुने अर्काे समस्या छ । जसको कारणले सर्वसाधारणलाई आउजाउ गर्न समेत सास्ती भइराखेको छ । लामो समयदेखि मर्मतसम्भार नहुँदा उक्त सडक अस्तव्यस्त भएको हो ।

तपार्इंको वडामा सार्वजनिक यातायातमा निकै समस्या रहेको छ नि?
दक्षिणकालीदेखि काठमाडौं आउने पर्याप्त सार्वजनिक बस सेवा नहुँदा समस्या भइरहेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भए पनि दक्षिणकाली क्षेत्रमा गुड्ने सार्वजनिक यातायातमा सुधार आउन सकेको छैन । दक्षिणकाली नगरपालिकाले नगरक्षेत्रमा गुड्ने सार्वजनिक यातायात सुधार्न गर्न १० लाख रूपैयाँ बजेट अनुदान दिने निर्णय गरेको छ । दक्षिणकाली नगरबस कम्पनीले थप पाँच वटा गाडी थप्ने योजना अघि बढाइरहेको छ।

तपाईंको वडामा टाटा सुमो गाडीको आंतक देखिन्छ, त्यसलाई न्यूनीकरण गर्न के गरिरहनुभएको छ?
लामो रुटमा चल्ने टाटा सुमो गाडीको आतंकले सर्वसाधारणले सास्ती पाए । विशेष गरेर दक्षिणकाली हुँदै हेटौंडा, जनकपुर लालबन्दी, वीरगन्जलगायत स्थानमा टाटा सुमो गाडी चल्ने गर्छन् । सुमो गाडीको कारणले अत्यधिक दुर्घटना भएकाले अहिले चालकलाई फर्पिङमा १५ मिनेट रिफ्रेसमेन्टको लागि समय तोकेका छौं । त्यसको साथसाथै चालकलाई सवारी दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम पनि निरन्तर चलाउँदै आइरहेकाले अहिले पहिलेको तुलनामा सवारी दुर्घटनामा न्यूनीकरण भएको छ । उक्त रुट भएर गुड्ने सवारीसाधनलाई टाइम कार्डसमेत लागू गरेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ८५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये ८० प्रतिशत भौतिक पूर्वाधारअन्तर्गत सडक निर्माण र ढल निर्माणमा खर्चियौं । त्यस्तै गरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च ग¥यौं । चालू आर्थिक वर्षको लागि पनि ८५ लाख रूपैयाँ विनियोजन भएको छ । नगरपालिकाको आयस्रोत नै कम भएकाले बजेट बढ्न नसकेको हो । वडावासीको विकासप्रतिको चाहाना धेरै छ । तर, हामीसँग अत्यन्तै सीमित बजेट भएकाले काम गर्न सकिरहेका छैनौं । वडा कार्यालयले विभिन्न शीर्षकको करबाट ५० लाख रूपैयाँ वार्षिक आम्दानी गर्छ । खर्च अनुसारको आम्दानी बढाउन वडा कार्यालयले विभिन्न जागरणमूलक कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
वडा कार्यालयलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापना गर्न खोजिरहेको छु । दक्षिणकालीबाट ऐतिहासिक चम्पादेवी मन्दिर नजिकै पर्छ । उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनको काम गरिरहेका छौं । बोसन क्षेत्रमा अग्लो भागमा अवस्थित छ । उक्त स्थान भ्यूटावर बनाउने तयारी गरेका छौं । केही समयभित्रै भ्यूटावर सहितको व्यवस्थित पार्क निर्माण गर्नेछौं । बोसन क्षेत्रमा पहिलो चरणमा होमस्टे बनाउन चार घरलाई अनुदान दिएर सञ्चालन गर्न लागेका हौं ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २५ श्रावण २०७५ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App