काठमाडौं – प्रत्येक हप्ता दुईदेखि चारवटासम्म फिल्म प्रदर्शन हुनु नेपालका लागि नयाँ कुरा होइन्। यहि क्रमलाई निरन्तरता दिँदै शुक्रबारबाट ‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम प¥या छन्’ गरी तीन फिल्म प्रदर्शनमा आउँदैछन्।
उमा बेबी फिल्मस्को व्यानरमा सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कहिँ कतै’मा शिवानी गिरी, सोनम बरफुङ्गपा, किशोर खतिवडा, उमा बेबी, दिलिप रायमाझी, प्रतिमा रसाइली र विशाल गुरुङको अभिनय छ।
प्रेमकथाको फिल्ममा सचिन सिंह र लक्की सिटौलाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन र बाबु श्रेष्ठको छायांकन छ।
त्यस्तै तन्नेरी पुस्ताको कथालाई समेटिएको फिल्म ‘टिनएज’मा दिनेश पाख्रिनको निर्माण तथा निर्देशन छ। फिल्ममा नरेशवीर सिं, प्रतीक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोपाध्याय, अजय खड्का, माया मगरको अभिनय छ। फिल्ममा वीरु मगर, चिनिमाया वाइवा, देविका खड्का र बुद्धिमान स्याङतान ‘निर्मल’को लगानी छ।
यस्तै हास्यप्रधान फिल्म ‘पिरिम प¥या छन्’मा पुरन थापाको लेखन तथा निर्देशन छ। फिल्ममा दिलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, शोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा र सुरवीर पण्डितको अभिनय रहेको छ। फिल्ममा विमल ढकालको छायांकन, विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ।
प्रकाशित: २५ श्रावण २०७५ ०६:२० शुक्रबार