coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कलाकारको म्युजिकल्ली क्रेज

काठमाडौं - विराटनगरकी रेश्मा घिमिरे न त मोडल हुन्, न त चल्तीकी नायिका। एउटा फिल्म त खेलेकी थिइन् तर आए गएको पत्तो भएन । तर पनि रेश्मा बाटोमा हिँड्दा चल्तीका कलाकारझैं उनलाई पनि फ्यानसँग  सेल्फी लिन भ्याइनभ्याई हुन्छ ।  पेशाले नर्स रेश्मालाई  सेलिब्रेटी बनाउने श्रेय जान्छ, बजारमा चर्चित ‘म्युजिकल्ली’ लाई।

स्थानीय आरके चिल्ड्रेन हस्पिटल एण्ड रिसर्च सेन्टरमा पढ्दै काम गरिरहेकी उनलाई अस्पतालमा उपचार गर्न आउनेले कम चिन्छन्। तर सामाजिक सञ्जालमा उनको म्युजिकल्ली भिडियो अपलोड हुँदा लाइक र कमेन्टको ओइरो नै लाग्छ।

एक वर्षअघिबाट म्युजिकल्लीमा ‘डेब्यु’ गरेकी उनले फ्यान पनि राम्रो संख्यामा बनाएकी छन्। उनको म्युजिकल्ली भिडियोमा पाँच लाख बढी सब्स्क्राइबर, इन्स्टाग्रामममा ६० हजार फलोअर्स र फेसबुक पेजमा १७ हजार फलोअर छन्। ‘परिवारसँग बजार घुम्न निस्कँदा बाटोमा ‘तपाई रेश्मा हो है’ भन्दै फ्यानले सेल्फी खिच्नुहुन्छ। त्यो क्षण मेरा लागि गर्वको क्षण हो,’रेश्माले भनिन्,‘सँगै हिँडेको छोरीसँग सेल्फी लिएको देख्दा बुवाआमाको अनुहारमा पनि खुशी देख्छु ।’ उनका अनुसार युट्युब, इन्स्टाग्राम र फेसबुकमा प्रोत्साहनपूर्ण प्रतिक्रिया आउँछन्।

परिवारसँग बजार घुम्न निस्कँदा बाटोमा ‘तपाई रेश्मा हो है’ भन्दै फ्यानले सेल्फी खिच्नुहुन्छ। त्यो क्षण मेरा लागि गर्वको क्षण हुन्छ । सँगै हिँडेको छोरीसँग सेल्फी लिएको देख्दा बुवाआमाको अनुहारमा पनि खुशी देख्छु।

रेश्माको लागि पढाई र कामको दिक्दारी हटाउने सारथी अहिले म्युजिकल्ली नै बनेको छ। फुसर्दको समयमा मोबाइलमा रहेको संवाद र गीतलाई सदुपयोग गर्दैै उनी म्युजिकल्ली सेल्फीमा रमाउन थाल्छिन्। ‘मेरो मोबाइलमा हिन्दी, नेपाली, अंगे्रजी र तामिल भाषाका गीत र संवाद छन् । म एकैपटक चार–पाँचवटा म्युजिकल्ली तयार पार्छु। अनि समय मिल्दा पालै पालो पोष्ट गर्छु,’उनले नागरिकसँग भनिन्, ‘पहिलोपटक म्युजिकल्ली गर्दा कुनै ज्ञान थिएन। तर अहिले बानी नै बसिसकेको छ । मेरो भिडियोमा धेरै दर्शकले सकारात्मक प्रतिक्रिया दिनुहुन्छ। त्यसले गर्दा नयाँ सोचको म्युजिकल्ली कसरी गर्ने भन्ने जिम्मेवारी पनि बढाएको छ।’

म्युजिकल्लीकै कारण रेश्मालाई फिल्म र म्युजिक भिडियोबाट अफर नआएको पनि होइन् । तर उनको अहिले ध्यान पढाई र काममै छ। उनले केही समय अघि मात्र सागर राजको ‘झिमझिम गर्ने परेली’को भिडियोमा अभिनय गरेकी थिइन्। ‘सागर दाइसँग मेरो चिनजान भएकाले मात्र उहाँको प्रस्तावलाई नकार्न नसकेकी हुँ। मलाई राम्रो ठाउँबाट म्युजिक भिडियो र फिल्मको अफर पनि आइरहेका छन्,’उनले भनिन्,‘तर अहिले पढाई र काममा व्यस्त भएकाले दुवै कुरा छुटाउन सक्दिन । फिल्मका लागि झण्डै महिनादिनको समय मिलाउनुपर्छ। मेरा लागि त्यो तत्कालका लागि असम्भव छ।’

म्युजिकल्ली रमाउने युवा पुस्तामा रेश्मा प्रतिनिधी पात्र हुन् । नेपालका थुप्रै कलाकार म्युजिकल्लीको लतमा छन्। नेपाली फिल्म तथा म्युजिक भिडियोमा सक्रिय थुप्रै नायिकाका लागि म्युजिकल्ली फुसर्दको साथी बनेको छ। उनीहरु कहिले गीत, कहिले संवाद तथा कहिले क्यारिकेचरलाई पनि खिचेर सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका छन्।

आगामी भदौ २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रामकहानी’की निर्मात्री तथा नायिका पूजा शर्मा कहिलेकाहीं मात्र म्युजिकल्लीमा झुल्किन्छिन् । ‘म प्रायः आफ्नै फिल्मको गीतको म्युजिकल्लीमा प्रस्तुत हुन्छु। गीत र संवादकै कारण पनि म्युजिकल्लीमार्फत फिल्म प्रमोसनमा फाइदा भइरहेको छ,’पूजा भन्छिन्,‘अहिलेसम्म ६, ७ वटा मात्र म्युजिकल्ली बनाएको छु । तर बनाएका सबै म्युजिकल्लीमा फ्यानको रेस्पोन्स राम्रो पाएकी छु।’ म्युजिकल्ली नेपालको युट्युब च्यानलमा पूजा र नायक आकाश श्रेष्ठ फिल्मको ‘तिम्रो लागि’ गीतमा म्युजिकल्ली अभिनय देख्न सकिन्छ।

तीज गीतमा व्यस्त नायिका तथा मोडलको म्युजिकल्ली व्यस्तता पनि कम छैन । रमाइलोकै लागि म्युजिकल्ली गर्न रुचाउने अनु शाहको म्युजिकल्ली समय पनि आफ्नै किसिमको छ । ‘सुटिङको बेला फुसर्दको समयमा वा मेकअपको बेला म्युजिकल्लीमा आउँछु । मलाई संवादभन्दा पनि गीतमा सजिलो लाग्छ,’उनी भन्छिन्,‘पुराना नेपाली गीतमा लिपसिङ गर्न रमाइलो लाग्छ । म्युजिकल्लीबाट फाइदाभन्दा पनि सबैले प्रयोग गरेको देखेर मात्र प्रयोग गरेकी हुँ । तर आदत चाहिँ बसिसकेको छैन । केवल समयको सदुपयोगको लागि मात्र हो।’

रेश्मा, अनु र पुजालाई म्युजिकल्ली रमाइलोका लागि भए पनि नायिका तथा मोडल निश्मा घिमिरेलाई यसको विशेष महत्व छ । ‘फिल्मको डबिङको समयमा संवादसँगै आफ्नो अनुहारको भाव पनि ल्याउनुपर्छ । त्यसको पूर्व तयारीका लागि म्युजिकल्लीले मलाई ठूलो सहयोग गरेको छ । हरेक किसिमको भाव अनुहारमा देखाउनकै लागि पनि म्युजिकल्ली मेरा लागि राम्रो माध्यम बनेको छ,’निश्मा सुनाउँछिन्,‘म्युजिकल्लीमा फिल्ममा जस्तै टेक खानुपर्छ । एकैपटकमा फाइनल सर्ट लिन सकिँदैन ।’ उनी कहिले दिनमा दुई तीनवटा त कहिले एउटै म्युजिकल्लीबाट चित्त बुझाउँछिन्।

नायिका आँचल शर्मा, वर्षा राउत, पवित्रा आचार्य पनि म्युजिकल्लीमा सक्रिय कलाकार हुन् । उनीहरू म्युजिकल्ली भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् । कहिले संवाद त कहिले गीतमार्फत उनीहरु म्युजिकल्लीमा आफूलाई सक्रिय बनाइरहेका छन्।

सन् २०१४देखि अस्तित्वमा आएकोे म्युजिकल्ली भिडियो सोसल नेटवर्क एप हो । यो एपको माध्यमबाट प्रयोगकर्ताले १५  सेकेन्डदेखि १ मिनेटसम्मको भिडियो बनाउँछन् ।  यसरी बनाइएका भिडियोमा प्रयोगकर्ताले एप स्टोरमा रहेका गीत तथा संवादलाई आफ्नो हाउभाउसँग मिलाएर प्रस्तुत गर्नन्।

एक समय डबमासको फेसन नै थियो । फिल्मी संवादलाई मोबाइलमा भिडियो बनाएर डबमासका रुपमा प्रयोग गर्नेको संख्या उल्लेख्य थियो । तर अहिले डबमासको फेसनलाई म्युजिकल्ली फेसनले उछिनेको छ । जसको प्रमाण सामाजिक सञ्जालमा देखिने सेलिब्रेटीको म्युजिकल्ली भिडियोले देखाइरहेको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App