४ वैशाख २०८१ मंगलबार
खेल

एनभिए कप आजबाट

काठमाडौं- साबिक विजेता एपिएफको महिला टोलीले एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणकोपहिलो खेलमा काभ्रेसँग प्रतिस्पर्धा गर्ने भएको छ। महिलाको अन्य खेलमा साबिक उपविजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबसँग खेल्दा नेपाल पुलिसकोभेट ढोरपाटन स्पोर्टस क्लबसँग हुनेछ।

आयोजक नेपाल भलिबल संघले सोमबार जारी गरेको खेलतालिकाअनुसार पुरुष र महिलातर्फ समान चार समूह छ। महिलाको समूह 'ए' मा न्यु डायमन्ड, आर्मी र जिरीको प्रगतिशील क्लब, 'बी' मा एपिएफ र काभ्रे, समूह 'सी' मा नेपाल पुलिस र ढोरपाटन स्पोर्टस, समूह 'डी' मा पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्।

यसैगरी पुरुषतर्फ समूह 'ए' मा साबिक विजेता नेपाल पुलिस, काभ्रे जिल्ला, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, समूह 'बी' मा एपिएफ, बुढानीलकण्ठ भलिबल टिम, ढोरपाटन स्पोर्टस क्लब, 'सी' मा त्रिभुवन आर्मी, हेल्प नेपाल, जावलाखेल तथा समूह 'डी' मा पश्चिमाञ्चल, प्रगतिशील र नयाँबजार क्लब छन्।

सोमबार पहिलो खेलमा काभ्रे र मणिमुकुन्द, बुढानीलकण्ठ र ढोरपाटन, प्रगतिशील र नयाँबजारले प्रतिस्पर्धा गर्नेछन्।

यस एनभिए कपलाई भलिबल संघले लिग भलिबलको छनोट प्रतियोगितामा लिएको छ। एनभिए कपको पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ स्थानमा रहने टोलीले लिगमा प्रतिस्पर्धा गर्न पाउने छन्।

एनभिए कपको पहिलो संस्करण २०६९ मा भएको थियो। एनभिए कप नेपाल भलिबल संघको अघिल्लो कार्य समितिले सुरुगरेको सफल प्रतियोगिता हो। पहिलो संस्करणमा एपिएफले पुरुष र नेपाल पुलिस क्लबले महिलाको उपाधि जितेका थिए। २०७१ सालमा दोस्रो संस्करण हुँदा पुलिस (पुरुष) र एपिएफ (महिला) च्याम्पियन भएका थिए।

दुवै विजेताटोलीले समान १ लाख ५० हजार, उपविजेताले ७० हजार र तेस्रो टोलीले ५० हजार पाउनेछन्।

प्रकाशित: २८ भाद्र २०७३ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App