७ वैशाख २०८१ शुक्रबार
अर्थ

बबईको मूल नहर असुरक्षित, बर्सेनि करौडौं लगानी खेर

भत्किएको नहर मर्मत गर्दै उपभोक्ता। फाइल तस्बिर : नागरिक

बर्दिया - २०७१ साल साउन अन्तिममा बबईमा आएको बाढीले बबई सिँचाइ अन्तर्गतकोे मूल नहर डुबानमा पर्दा पश्चिम नहर प्रणालीको पाँच किलोमिटर क्षेत्रमा क्षति पुग्यो।

त्यति बेला पश्चिम नहर प्रणालीको मूल नहरसहित स्लाप र स्लोप ठाउँठाउँमा भत्किएकोे थियो। यस्तै, ०७२/७३ मा बबई नहर डुबानमा पर्दा ढोढरी नहरको समेत स्लाप र स्लोप भत्कियो। भत्किएर नहरबाट पानी बस्तीमा पस्दा सयौं सर्वसाधारण किसान विस्थापित भए।

आयोजनाका कर्मचारीले बाढीले भत्किएको बताए पनि स्थानीयले बर्सेनि डुबानमा पर्दा बबई नहर भत्किरहेको खुलाए। हचुवाको भरमा गरिएको डिजाइन र मापदण्डविपरीत नहर निर्माण भएकाले बर्सेनि भत्किने गरेको स्थानीय बताउँछन्।

गुणस्तरहीन संरचना (स्लाप र स्लोप) भत्किएको स्थानीय दाबी गर्छन्। कार्यालयबाट प्राप्त जानकारीमा ०७१ साउन अन्तिममा पश्चिम नहर प्रणालीमा २० र पूर्वी नहर प्रणालीमा पाँच करोड बराबरको क्षति पुगेको थियो। ठूलो आयोजना अन्तर्गत पूर्वी सिँचाइको ४ नम्बर शाखाअन्तर्गत बाँसगढीतर्फ चार सय एक मिटर लामो स्लाप निर्माण भयो। नदीको भेलले भत्किएको भन्दै एक सय ५० मिटर लामो साइफन पुनः निर्माणमा करोडौं खर्च गरेको देखिन्छ। २०७२ र ७३ मा नहर क्षेत्र पूरै डुबानमा परेको थियो । त्यति बेला पनि नवनिर्मित ढोढरी नहर भत्किएकोे थियो। भत्किएको मूल नहर मर्मत र नहर सुरक्षा (गाइड बन्ड) निर्माण गर्न १४ करोडको ठेक्का एसबिए सूर्य जेभी, सूर्य रसुवा निर्माण कम्पनीले संयुक्त रुपमा पाएका थिए।

ठाउँठाउँमा भत्किएको नहर पुनःनिर्माणमा करोडौं लगानी भइसकेको छ। तर, बबई नदीमा बहाब बढ्नेबित्तिकै नहर भत्किने र पुनः टेन्डर आह्वान गरेर नहर ‘मर्मतसम्भार’ गर्ने खेल लामो समयदेखि जारी छ।

बर्सेनि भत्किने र मर्मत गर्ने खेलमा टाठाबाठा, केन्द्रीय स्तरका नेता, कर्मचारी र ठेकेदार मिल्ने गरेको स्रोतको दाबी छ। यता, सिँचाइको आसमा बसेका किसानका लागि बबई सिँचाइ आयोजनाको नहर अर्थहीन जस्तै भएको छ । मूल नहरले पूर्णता नपाउँदा किसानले नहरबाट सिँचाइ गर्ने दिन धकेलिँदै गएको छ । उनीहरु बबईको नहरले पूर्णता पाउनेमा विश्वस्त छैनन्। ‘बबई नदीमा सधैं बर्खामा बहाब बढ्छ,’ स्थानीय कृष्ण शाहले भने, ‘नदी बढ्नेबित्तिकै भत्किने नहर कुन डिजाइनमा बनेको होला?’

नहर भत्काएर बाढी बस्ती पस्दा स्थानीयले असुरक्षित महसुस गर्न थालेका छन् । ‘तीन वर्षअघि नहर हुँदै बबई नदी बस्ती पस्यो,’ बगानाहाका रामकिसुन चौधरीले भने, ‘बर्खाको बेला नहर भत्किएर बाढी बस्ती पसेको हो।’

नहर मर्मतमा लापरबाही हुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। बबई सिँचाइ आयोजनाले बाढीले भत्काएको भन्दै सरकारको लगानी खेर फालिरहेकोे स्थानीयको आरोप छ।

बबई नदीको सतह बढ्दा नहर डुबानमा पर्ने क्रमले लक्ष्य अनुरुप द्रुत गतिमा बबई नहरको काम अघि बढ्न सकेको छैन । कृषि उत्पादन बढाई किसानको आय वृद्धि गर्ने, खेतीयोग्य जमिनलाई नदी कटानबाट जोगाउने, जंगल विनाश रोक्ने, वातावरणमा सन्तुलन ल्याउने र कृषक संगठनलाई संस्थागत विकास तथा सुदृढीकरण गरी प्राविधिक सीप र ज्ञान दिलाउने आयोजनाको लक्ष्य हो। तर, आयोजनाले तीन दशकअघि सुरु गरेको मूल नहरको काम पूरा नगर्दा किसान सिँचाइ सुविधाबाटै वञ्चित छन्।

२०४५ सालमा निर्माण सुरु गर्दा पाँच वर्षभित्र किसानको खेतबारीमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य थियो । वर्षैपिच्छै आयोजना प्रमुख फेरिँदा नहर निर्माणमा ढिलाइ हुने गरेको र केन्द्रमा पहुँच भएका ठेकेदारले  कामको जिम्मा पाएकाले गुणस्तरमा लापरबाही गर्ने गरेको स्थानीय औंल्याउँछन्। उनीहरुका अनुसार  केन्द्रमा पहुँच भएको ठेकेदार सामु कार्यालय प्रमुख निरिह हुँदा यस्ता समस्या देखिने गरेको छ।

पछिल्लो समय कमाउने, खाने र कार्यकर्ता भर्ना गर्ने अड्डाको पहिचान बनाएको आयोजनाको कार्य प्रगति कछुवा गतिमा छ । बनिसकेका शाखा र उपशाखा नहर भत्केर अलपत्र छन्।

हेडवक्र्स, मूल नहरसँगै शाखा र प्रशाखा नहर निर्माण एकसाथ सुरु गरेको भए अहिलेसम्म किसानका खेतमा सिँचाइ पुगिसक्थ्यो । पश्चिम सिँचाइ प्रणालीवाट सूर्यपटुवा, ढोढरी, सानोश्री, ताराताल, भुरिगाउँको पाँच हजार नौ सय ९३ हेक्टर र गुलरिया नगरपालिकाका केही भाग गरी २१ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने   बबई सिँचाइ आयोजनाको लक्ष्य छ।

पश्चिम बबईमा १० हजार हेक्टर जमिन सिँचित गर्न बबई नदीमा चार सय एक मिटर लामो ड्याम र ३० क्युमेक्स क्षमताको साइफन, ३० क्युमेक्स क्षमताको १.५२५ किलोमिटर मूल नहर, २० क्युमेक्स क्षमताको २.३२५ किलोमिटर लिंक नहर र दुई हजार एक सय मिटरको गाइड बन्ड निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

१० अर्ब लगानी भइसकेको उक्त आयोजना सम्पन्न गर्न थप १२ अर्ब ५६ करोड लाग्ने अनुमान संशोधित गुरुयोजनामा छ । संशोधित गुरुयोजनामा लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७८/७९ भित्र बबई सिँचाइ नहर निर्माण सम्पन्न गर्ने पनि उल्लेख छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २२ देखि २५ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यस वर्ष बबई सिँचाइ नहर निर्माणका लागि सरकारले एक अर्ब २५ करोड छुट्ट्याएकोे छ । डुबान समस्या नियन्त्रणका लागि यसै वर्ष काम सुरु गरिने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए। ‘बर्खामा नहर क्षेत्र डुबानमा पर्ने गरेको छ,’ उनले भने, ‘यस वर्षदेखि डुबान रोक्न आयोजनाले काम थाल्नेछ।’ यस वर्ष डुबान नियन्त्रणका लागि आयोजनाले बजेट प्रस्ताव गरिसकेको उनले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App