coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दिउँसो प्रवेश रोक लगाएकोमा टिपर व्यवसायीको विरोध

भक्तपुर ट्रक व्यवसायी संघद्वारा आयोजित पत्रकार सम्मेलन। तस्बिरः नागरिक

भक्तपुर - उपत्यकाका ट्रक, टिपर व्यवसायीले काठमाडौंभित्र दिउँसो टिपर प्रवेशमा रोक लगाइएकोप्रति विरोध जनाएको छ। सरकारले आफूहरुसँग छलफलै नगरी टिपर सञ्चालनमा रोक लगाएर व्यवसाय धरापमा पारेको व्यवसायीको भनाइ छ।

भक्तपुर ट्रक व्यवसायी संघ जगातीले बिहीबार पत्रकार सम्मेलन गरी रात्रीकालीन समयमा मात्र मालवाहक सवारी सञ्चालनको स्वीकृतिसँगै निर्माण सामग्री समयमा उपलब्ध गराउन नसकिएको जानकारी दिएको छ। यसले निर्माण सामग्रीको मूल्यसमेत बढेकाले उपभोक्ताले समेत आर्थिक भार बेहोर्नुपरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले बताए । रात्रीकालीन समयमा मात्र टिपर चलाउन दिनु दुर्घटनाको हिसावले झन् खतरा बढ्ने उनले बताए। ‘उपत्यकाभित्र राती आएर बिहान पाँच बजेअघि फर्कनुपर्ने बाध्यताका कारण दुर्घटना झन् बढ्न सक्छ,’ उनले भने।

भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले टिपर व्यवसायीको काम गरिखाने अधिकार राज्यले खोसेको बताए । उनले व्यवसायीको कमजोरी मात्र देखाएर बस्नुभन्दा यसलाई व्यवस्थित गरेर व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

भक्तपुर ट्रक व्यवसायी संघका निर्वतमान अध्यक्ष नवीन प्रजापतिले सरकारले टाइम कार्ड लागू गर्दा भक्तपुरलाई भेदभाव गरेको बताए। उनले काठमाडौं र ललितपुरमा जति समय पनि भक्तपुरमा नदिइएको बताए । हाल उपत्यकामा दैनिक २२ सयदेखि २५ सयसम्म टिपर सञ्चालनमा रहेको जानकारी दिँदै उनले सरकारले समय तालिका फेरबदल नगरे थप २५ सय टिपर आयात गर्नुपर्ने बाध्यता रहेको बताए । यसले निर्माण सामग्री ढुवानीमा असहजता थपिने उनको भनाइ छ।

व्यवासायीले सरकासँग ६ बुँदे सुझावसमेत प्रस्तुत गरेको छ। सवारी चालकलाई विभिन्न समयमा चेतनामूलक ज्ञान प्रदान गर्दैै आएको र कसैले पनि चाहेर दुर्घटना नगर्ने भन्दै कमी कमजोरी पत्तो लगाएर समस्याको समाधान खोज्न आग्रह गरिएको छ । सबै सवारीसाधनलाई ट्राफिक लेन अनुशासन प्रभावकारी एवं कडाइका साथ पालना गराउने, लेन अनुशासन पालना नगर्नेलाई नियमानुसारको कारबाही गर्ने, दुर्घटनामा गल्ती कसको हो भन्ने पहिचान गर्नुपर्ने लगायत सुझाव व्यवसायीको छ।

व्यवसायीले ट्राफिक प्रहरीसँग समन्वय गरी चालकलाई ट्राफिक नियमसम्बन्धि प्रशिक्षण दिने, चालकको मनोबल बढाउन दुर्घटना नगराउने र अनुशासित चालकलाई उत्कृष्ट चालक घोषणा गरी पुरस्कार तथा सम्मान गरी निजको छोरा छोरीलाई छात्रवृत्तिसमेत दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि टिपरका कारण सडक दुर्घटना बढेपछि सरकारले समय तालिका लागू गरेको थियो। जसअनुसार अहिले काठमाडौं उपत्यकाभित्र साँझ आठ बजेदेखि बिहान पाँच बजेसम्म मात्र टिपर चलाउन पाउँछ।

प्रकाशित: २५ श्रावण २०७५ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App