चिलिमे–त्रिशूली प्रसारणलाइनको २३ प्रतिशत काम सम्पन्न

शुक्रबार, २५ साउन २०७५, ११ : ०९ हिमनाथ देवकोटा

49


रसुवा - चिलिमे त्रिशूली प्रसारणलाइनको २३ प्रतिशत काम पूरा भएको छ। जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्नका लागि चिलिमे त्रिशूली प्रसारणलाइन निर्माण गरिएको हो।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतमा निर्माण हुन लागेको चिलिमे हबको निर्माणस्थलमा कटिङ र फिलिङको काम भइरहेको छ । जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन हुने समय नजिकिदै जाँदा नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा तीव्रता दिएको छ । आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्रि बी हबसम्म प्रसारणलाइन निर्माण हुनेछ । प्रसारणलाइनको दूरी साढे २७ किलोमिटर रहेको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए।

गोल्जुङदेखि मैलुङसम्म दुई सय २० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबीको हबसम्म ‘फोर सर्किट’ प्रसारणलाइन निर्माण हुनेछ । ‘प्रसारणलाइन निर्माणका लागि चेक सर्भे गर्ने र माटो परीक्षण गर्ने कार्य सम्पन्न भएको छ,’ आयोजना प्रमुख सिलवालले भने, ‘अहिले फिल्डमा चिलिमे हव निर्माणस्थलमा कटिङ र फिलिङको काम भइरहेको छ ।’ प्रसारणलाइन निर्माणका लागि चिनियाँ ठेकेदार पिंगाओ ग्रुप लिमिटेड र परामर्शदाताको रुपमा पावर ग्रिड इन्डियाले काम गरिरहेका छन् । प्रसारणलाइनको टावर र सबस्टेशनको विभिन्न उपकरणको डिजाइन कार्य ५० प्रतिशत सम्पन्न भएको सिलवालले बताए । गोल्जुङदेखि थ्रिबी हबसम्म ८९ वटा टावर रहने बताइएको छ । ‘सुरुमा ९८ वटा टावर राख्ने गरी कार्यअघि बढाइएको थियो,’ उनले भने, ‘चेक सर्भेपछि अनावश्यक ठाउँको टावर हटाइएको हो ।’
बर्खा सकिएपछि जग्गा प्राप्तीको काम अघि बढाइने उनले बताए । ‘वर्षात्को कारण विभिन्न ठाउँमा पहिरो गएपछि प्राविधिक लैजाने र जग्गा प्राप्तीका लागि काम अगाडि बढाउन सकिएको छैन,’ प्रमुख सिलवालले भने, ‘बर्खा सकिएपछि बाँकी काम अगाडि बढाउँछौं।’

टावर निर्माण गर्ने स्थानमध्ये केही ठाउँमा मान्छेले निर्माण सामग्री बोकेर लैजानुपर्ने उनले जानकारी दिए । ‘टावर राख्ने सबै क्षेत्रमा सडक पुगेको छैन । सडक नपुगेको स्थानमा मान्छेले सामान बोक्नुपर्नेछ,’ उनले भने । टावर निर्माण गर्ने जग्गाको उचित मुआब्जा दिएर विद्युत् प्राधिकरणको नाममा ल्याइने सिलवालले जानकारी दिए।

टावर राख्ने जग्गाको मुआब्जा दिइने भएपनि प्रसारणलाइनको तारमुनी पर्ने अन्य जग्गाको जग्गाधनीलाई क्षतिपूर्तिवापत १० प्रतिशतदेखि २० प्रतिशतसम्म रकम प्रदान गरिनेछ । ‘तारमुनी पर्ने जग्गामा खेतीपाती लगाउन मिल्छ,’ आयोजना प्रमुख सिलवालले भने, ‘तारलाई छुने अग्लो हुने बिरुवा रोप्न पाइँदैन ।’ प्रसारणलाइन सन् २०१९ को जुनसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने लगायतका कारण प्रसारणलाइन निर्माणमा केही ढिलाइ हुन पुगेको उनले बताए।

प्रसारणलाइन र सबस्टेसनमा निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारणलाइन निर्माणपछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत्को विद्युत् जोडिनेछ । चिलिमे त्रिशूली प्रसारणलाइनमा दुई सय १६ मेगावटको माथिल्लो त्रिशूली–१, एक सय ११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ४२.५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला, १४.८ मेगावटको माथिल्लो सान्जेन, ६.४२ मेगावटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाका विद्युत् जोडिनेछ । यो प्रसारणलाइनमा पाँच सय मेगावट विद्युत् जडान गर्न सकिने आयोजनाले जनाएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...