coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चार महिनाभित्र रेल सञ्चालन गर्ने

बलास्ट लोडगरी ५३ बोगीसहित धनुषाको खजुर आउँदै भारतीय रेल। तस्बिरः नागरिक

जनकपुरधाम - भारत सरकारको आर्थिक सहयोगमा नेपाली भूमिमा निर्माण भइरहेको पहिलो ब्रोडगेज रेलमार्ग अबको चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

भारत, बिहारको जयनगरदेखि साढे आठ किलोमिटर (नेपाल, धनुषाको खजुरी स्टेसन)सम्म भारतीय रेल–इन्जिनकै प्रयोग गरी नवनिर्मित रेलमार्गको सफल परीक्षण सम्पन्न भएको छ । जयनगरस्थित नेपाली स्टेसनबाट खुलेको उक्त इन्जिन खजुरी पुगेर सुरक्षित फर्केपछि रेलमार्ग निर्माणमा आवश्यक गिट्टी (ब्लास्ट) रेलबाटै ढुवानी गर्न थालिएको छ । एक्लो इन्जिनको सफल परीक्षण लगत्तै जयनगरबाट ब्लास्ट लोड ५३ वटा मालवाहक बोगी (डब्बा) सहितको रेल खजुरी स्टेसनसम्म पु¥याएको छ । यसअघि ट्रकमा ढुवानी हुने उक्त निर्माण सामग्री ओसारपसार गर्न महंगो हुनुको साथै ढिलाइ पनि भइरहेकाले रेलमार्ग प्रयोगमा ल्याइएको ठेकेदार पक्षले जनाएको छ।

विरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख बिसी प्रधानले भने रेलमार्गको औपचारिक परीक्षण बाँकी रहेको बताएका छन् । ‘निर्माण क्रममा प्राविधिक पक्षले आन्तरिक परीक्षण र निर्माण सिलसिलामै रेलमार्गको प्रयोग गरिएको हो,’ उनले भने । प्रधानले रेलमार्गको पुरै निर्माण कार्य सम्पन्न भइसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुअघि औपचारिकरुपमा रेलमार्गको परीक्षण गरिने बताए।

बिहारको जयनगरदेखि धनुषाको खजुरी स्टेसनसम्म भारतीय रेल–इन्जिन प्रयोग गरी नवनिर्मित रेलमार्गको सफल परीक्षण सम्पन्न भएको छ।

सन् २०१० मा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवकोे भारत भ्रमणको क्रममा भारतीय नाकासँग जोडेर नेपालको विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माणको सम्झौता गरिएको थियो । तत्कालीन राष्ट्रपति यादवको पहलमा दुई मुलुकबीच जलपाइगोडी–काँकडभिट्टा ७० किलोमिटर, जोगबनी–विराटनगर १७.६५ किलोमिटर, जयनगर–जनकपुरधाम–बर्दिबास ६९ किलोमिटर, नौतनमा–भैरहवा १५.३ किलोमिटर र रुपैडिहा–नेपालगन्ज १२.११ किलोमिटर रेलमार्ग भारत सरकारले निर्माण गरिदिने सम्झौता भएको थियो।

उक्त सम्झौता भएको करिब चार वर्षपछि वि.सं. २०७१ बाट निर्माण कार्य सुरु भएको जयनगर–जनकपुर–बर्दिबास खण्डको जयनगरदेखि जनकपुरस्थित कुर्था स्टेसनसम्म अगामी डिसेम्बरबाट रेल सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको रेल विभाग, जनकपुरधाम साइट कार्यालयका प्रमुख इन्जिनियर विनोदकुमार ओझाले बताए । यसका लागि अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । अगामी अक्टोबरमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने र डिसेम्बरसम्म रेल सञ्चालन गरिसक्ने योजना रहेको ओझाले बताए।

पाँच सय ४८ करोड भारतीय रुपैयाँ (करिब आठ सय ७७ करोड नेपाली रुपैयाँ)को लागतमा निर्माणाधीन यो रेलमार्गको काम दुई चरणमा भइरहेको छ । बिहारस्थित जयनगरदेखि जनकपुरहुँदै कुर्था स्टेसनसम्म ३५ किलोमिटर रेलमार्गको काम अन्तिम चरणमा पुगेको छ । कुर्थाबाट भंगहासम्म १७ किलोमिटर खण्डको ७५ प्रतिशत काम सम्पन्न भएको साइट इन्जिनियर ओझाले बताए । भंगहादेखि बर्दिबाससम्म अर्को १७ किलोमिटर रेलमार्ग निर्माणको लागि नेपाल सरकारको तर्फबाट रेल विभागले जग्गा अधिग्रहणको काम गरिरहेको छ।

जग्गा अधिग्रहण सम्बन्धि काम पूरा हुनेबित्तिकै उक्त खण्डमा समेत रेलमार्ग निर्माण कार्य सुरु हुने भारतीय महावाणिज्यदूत प्रधानले बताए । ‘हामी (भारतीय पक्ष) ले सम्झौताअनुसारको समय सीमाभित्रै रेलमार्ग निर्माण कार्य सम्पन्न गर्न प्रतिबद्ध छौं,’ प्रधानले नागरिकसँग टेलिफोन संवादमा भने, ‘रेलमार्ग निर्माणको लागि जग्गा क्लियर गरेर नेपाल सरकारले उपलब्ध गराइदिएको खण्डमा करिब–करिब निर्माण कार्य सम्पन्न हुँदैछ । बाँकी खण्डको सिमांकन गरेर हामीलाई जिम्मा लगाउने बित्तिकै युद्धस्तरमा काम सुरु गर्छौं।’

वि.सं. १९९४ मा राणा सरकार र भारतको इस्ट इन्डिया कम्पनीबीच भएको सम्झौता अनुसार महोत्तरीमा रहेको वन मासेर सालको काठ भारत ओसार्न जयनगर–जनकपुर–भंगहा ६९ किलोमिटर रेल सञ्चालन गरिएको थियो । उक्त वन समाप्त भएपछि २००७ सालदेखि मालवाहक रेल यात्रु ओसार्ने बोगी जडान गरी सञ्चालनमा ल्याइएको ओझाको भनाइ छ । सुरुमा कोइला इन्जिनबाट सञ्चालित उक्त रेल ०५१ सालदेखि डिजेल इन्जिनबाट चलाउन थालिएको थियो।

पर्साको रक्सौल खण्डमा मुलुककै पहिलो रेल चलेपनि जयनगर–जनकपुर रेल लामो समयसम्म मुलुककै एकमात्र रेलको परिचय बोकेको थियो । ०७१ माघमा न्यारोगेज रेलमार्ग बन्द गरी ब्रोडगेज निर्माण कार्य सुरु गरिएको थियो । दुई मुलुकबीचको समझदारी अनुसार आगामी मंसिर महिनासम्म रेल सञ्चालनमा आए यो खण्ड नेपालकै पहिलो ब्रोडगेज रेलमार्गको रुपमा पहिचान पाउने विभागका साइट इन्जिनियर ओझाको दाबी छ । जोगबनी–विराटनगर खण्डमा जनकपुर रेलमार्गसँगै काम अगाडि बढिरहे पनि जनकपुरमा पहिले रेल सञ्चालन हुने सम्भावना रहेको उनको अनुमान छ।

पहिलोपटक रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जयनगर–जनकपुर रेलसेवा सञ्चालनमा आएको स्मरण गर्दै ओझाले भने, ‘औपचारिकरुपमा रेलमार्ग सञ्चालनमा आइसकेयता विभिन्न समयमा गरी आधा दर्जनभन्दा बढी पटक प्राविधिक समस्याको कारण रेलसेवा महिनौसम्म अवरुद्ध भयो । तर, संयोग मान्नुपर्छ, हरेक पटक विवाह पञ्चमीकै दिन पुनः सञ्चालन हुने गरेको थियो ।’ नेपाल–भारतबीचको सम्झौता र निर्माण कार्यको प्रगति हेर्दा ब्रोडगेज रेलमार्ग पनि अगामी रामजानकी विवाह पञ्चमी मेलाकै समयमा उद्घाटन हुने सम्भावना देखिएको उनले बताए।

जयनगर–कुर्था खण्डको ३५ किलोमिटर खण्डमा पाँच स्टेसन र तीन हल्ट राखिएको छ । जयनगर, इनर्वा, खजुरी, वैदेही र कुर्थामा स्टेसन तथा महिनाथपुर, देउरीप्रवाहा र जनकपुरधाममा हल्ट निर्माण गरिएको छ । यो खण्डमा सानो–ठूलोगरी ५६ वटा पुलपुलेसा निर्माण भएको ओझाले बताए । उनका अनुसार पहिलो चरणमा रेलसेवा सञ्चालन गर्न ३५ किलोमिटर मध्ये ३२ किलोमिटर रेलमार्ग पूर्ण तयार भइसकेको छ । जनकपुरधामदेखि कुर्थासम्म एक किलोमिटर तथा देउरीप्रवाहादेखि कनकपट्टीसम्म दुई किलोमिटर गरी तीन किलोमिटर रेलमार्ग निर्माण कार्य पनि १० दिनभित्रै पूरा हुने उनको विश्वास छ।

लिजमा रेल लिने तयारी
रेलमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि रेल विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय सरकारले रेलसेवा सञ्चालनको लागि इन्जिन र बोगी (डब्बा) व्यवस्थापनबारे छलफल सुरु गरेको विभागले जनाएको छ । यसअघि दुई इन्जिन र २४ बोगी खरिदको लागि विभागले अर्थमन्त्रालयसँग दुई अर्ब रुपैयाँ माग गरेपनि उक्त प्रस्ताव स्वीकृत हुन सकेन । अहिले आएर नयाँ रेल निर्माण गर्न कम्तीमा डेढ वर्ष लाग्ने भन्दै तत्काल भारत सरकारसँग लिजमै लिएर सञ्चालन गर्ने पक्षमा सरकार रहेको बुझिएको छ । यद्यपि, यसबारे स्पष्ट निर्णय हुन बाँकी रहेको स्रोतले बतायो।

प्रकाशित: २५ श्रावण २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App