८ वैशाख २०८१ शनिबार
खेल

आजबाट प्रिमियर लिग सुरु हुँदै, उद्घाटन खेलमा युनाइटेड र लेस्टर भिड्दै

लन्डन – साबिक विजेता म्यानचेस्टर सिटीको वरिपरि घुमेको इङ्लिस प्रिमियर लिग शुक्रबार सुरु हुँदै छ। जसका कारण स्टारहरूले विश्वकपको थकाइ मेटाउने समय धेरै पाएनन्। 

युरोपका ठूला लिगमध्ये प्रिमियर लिग सबभन्दा चाँडो सुरु हुँदा विश्वकपबाट थकित खेलाडीलाई मार पार्ने एकातिर छ भने अर्कोतिर क्लबहरूलाई पनि टिम बलियो बनाउन सरुवा बजारमा पर्याप्त समय मिलेन। सिजन सुरु हुनुभन्दा एक दिनअघि बिहीबार मध्यरातमा सरुवा बजार बन्द हुनुअघि नयाँ खेलाडी भित्रयाउने क्लबहरूको अभियान हतारमै बित्यो। जहाँ सबभन्दा निराश म्यानचेस्टर युनाइटेड रह्यो।

सिजनपूर्वका अभ्यास भ्रमणमा प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टिमप्रति असन्तुष्टि जनाइरहँदा टोली कुनै उल्लेख्य सम्झौता गर्न पनि सफल भएन। युरोपेली फुटबलकै महारथी युनाइटेडले शुक्रबार लेस्टर सिटीसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्दै छ। 

ब्राजिली अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेड र पोर्चुगाली फुल ब्याक गियोगो डालोटलाई ओल्ड ट्राफोर्ड ल्याए पनि टिम बलियो बनाउने आफ्नो सोचमा पर्याप्त साथ नपाएको भन्दै माउरिन्होले क्लब व्यवस्थापनप्रति पनि असन्तुष्टि जनाइसकेका छन्। घाइते र विश्वकपबाट थकित खेलाडी रहेकाले माउरिन्होको टोली समस्यामा छ। 

गोलपिकर एलिसन तथा मिडफिल्डमा फाबिन्हो, नाबी केइटा र जेर्डान साकिरीजस्ता खेलाडी भित्र्याएर लिभरपुलले आगामी सिजनमा उपाधिका लागि सिटीपछि आफूलाई दोस्रो मुख्य दाबेदारका रूपमा उभ्याएको छ।

शुक्रबार पहिलो खेल खेलेका गोलकिपर सर्जियो रोमेरो, रक्षक एन्टोनियो भ्यालेन्सिया, डिएगो डालट, मार्कुस रोहो र मिडफिल्डर नेमान्जा माटिच एवं एन्ड्रे हरेरा घाइते भएर मैदान बाहिर रहनेछन्।

‘उनीहरू सोमबार मात्रै अभ्यासमा उपस्थित भए। सोमबार, मंगलबार, बुधबार र बिहीबार अभ्यास गरे। तर उनीहरू खेलका लागि तयार छैनन् यद्यपी हामीलाई उनीहरू आवश्यक पर्छ,’ माउरिन्होले भने, ‘टिमका महत्वपूर्ण खेलाडी कि घाइते छन् कि सोमबार मात्रै अभ्यासमा फर्किएका छन्। तर उनीहरू मानसिक तथा शारिरिक हिसाबले तयार छैनन्।’ 
अघिल्लो सिजन म्यान्चेस्टर सिटीले १९ अंकको अग्रताका साथ उपाधि जित्दा युनाइटेड दोस्रो भएको थियो। 

सरुवा बजारमा युनाइटेड प्रभावहीन उपस्थितिमा सीमित हुँदा लिभरपुलले भने १७ करोड पाउन्ड खर्चिएर उपाधि दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेको छ। गोलपिकर एलिसन तथा मिडफिल्डमा फाबिन्हो, नाबी केइटा र जेर्डान साकिरीजस्ता खेलाडी भित्र्याएर लिभरपुलले आगामी सिजनमा उपाधिका लागि सिटीपछि आफूलाई दोस्रो मुख्य दाबेदारका रूपमा उभ्याएको छ।

‘प्रिमियर लिगमा हामीले प्रतिस्पर्धा गर्नुपर्ने सबै टिम पहिल्यै बलिया थिए। त्यसमाथि केहीले ठूलो लगानी गरेका छन्, जस्तै  लिभरपुल। उनीहरूले सबथोक र सबैलाई किनेका छन्,’ माउरिन्होले आफ्नै टिमलाई सचेत पारे, ‘हामीले पनि आफ्नो टिम बलियो बनाउन सकेनौं भने सिजन कठिन हुनेछ।’

पाउल पोग्बा, रोमेलु लुकाकु र मार्कुस रसफोर्डजस्ता युनाइटेडका मुख्य खेलाडी विश्वकपबाट थकित भएकाले सिजनपूर्वको अभ्यासमा राम्ररी सहभागी हुन पाएका थिएनन्। पछिल्लो चरणमा मात्र टिममा आइपुगेका उनीहरुले आफ्नो क्षमताअनुसार क्लबका लागि प्रदर्शन गरे भने युनाइटेडको भविष्य नराम्रो नरहेको माउरिन्होको बुझाइ छ। 

आइतबार वेस्ट ह्यामसँग घरेलु मैदानमा खेल्दै सिजनको सुरु गर्ने तयारीमा रहेको लिभरपुलको अवस्था युनाइटेडको भन्दा ठीक विपरित छ। लिभरपुलका भर्लिल भान डिज्क, केइटा र फाबिन्हो विश्वकपमा थिएनन् भने मोहम्मद सालाह र साडियो माने पनि इजिप्ट र सेनेगल समूह चरणबाटै बाहिरिएका कारण पर्याप्त आरामपछि पुनर्ताजगीका साथ सिजन सुरु गर्न सक्ने अवस्थामा छन्।

योर्गान क्लोपको टोलीले गत सिजन ठूला अवसरमा सिटीलाई हराउने क्षमता देखाएको थियो। दुई टिमबीच चार पटक भेट हुँदा लिभरपुल तीनपटक विजयी भएको थियो। दुई लेगको च्याम्पियन्स लिग क्वार्टरफाइनलमा लिभरपुलले सिटीलाई ५–१ को समग्र अन्तरमा पराजित गरेको थियो। तथापी लिभरपुल पेप ग्वार्डिओलाको सिटीभन्दा २५ अंकले पछि परेको थियो। सिटीले गत सिजन लिगमा कीर्तिमानी १ सय अंकका साथ उपाधि जितेको थियो। 

‘गत सिजनकै खेलाडीका कारण हामीलाई यसपालि विशेष उत्साह मिलेको हो। केही नयाँ खेलाडीको आगमनले टिम थप बलियो भएको छ,’ नयाँ सिजनको तयारीका लागि अमेरिका भ्रमणमा रहँदा सनसनीपूर्ण प्रदर्शन गरेपछि क्लोपले भनेका थिए, ‘हामीले आउँदो सिजनमा एकरूपको प्रदर्शन गर्नु जरुरी छ। त्यसका लागि ११ खेलाडीको भरमा सम्भव हुँदैन। धेरैभन्दा धेरै खेलाडी उस्तै स्तरका भए भने पर्याप्त मात्रामा परिवर्तन गरिरहन सकिन्छ र एकरूपको उच्च प्रदर्शन सम्भव हुन्छ। यसपालि हामीले टिम थप बलियो बनाएका छौं। अहिले भित्र्याएका खेलाडीले टिमलाई एकरूपको प्रदर्शनका लागि सहयोग गर्नेछन्।’

अबुधाबीका मालिकको खजाना ग्वार्डिओलाले आफू इत्तिहाद आएको पहिलो दुई सिजनमा जसरी यसपालि प्रयोग गरेनन्। तथापी उनले यसपालि क्लबको कीर्तिमानी रकममा रियाद माहरेजलाई भित्रयाएका छन् । ९ वर्षअघि युनाइटेडले प्रिमियर लिगमा उपाधि रक्षा गरेको थियो। त्यसयता यस्तो उपलब्धि कुनै पनि टोलीले दोर्याउन सकेका छैनन्। यसबीचमा दुई पटक च्याम्पियन भएको चेल्सीले उपाधि रक्षा गर्न सकेन भने लेस्टर त पछिल्ला तीन सिजन शीर्ष चारमा पर्न पनि असफल भएको छ। 

विश्वकपमा सहभागिता जनाएका थुप्रै स्टारको अनुपस्थितिमा समेत सिटीले शनिबार कम्युनिटी शिल्डमा चेल्सीमाथि प्रभावशाली प्रदर्शनका साथ २–० को जित दर्ता गरेको थियो। तर आइतबार प्रिमियर लिगको नयाँ सिजन सुरुआत सिटीका लागि सहज हुने छैन। लिगको पहिलो खेलमा साबिक विजेताले आर्सेन वेंगरको युग समाप्तिपछि नयाँ प्रशिक्षकको नेतृत्वमा रहेको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

आर्सनलका नयाँ प्रशिक्षक युनाई इमरेसँग प्रि–सिजनमा टोलीका अधिकांश मुख्य खेलाडीको साथ थियो। पिरे इमेरिक औबामेयाङ, हेनरिख एमखिटार्यन, मेसुट ओजिल र एलेक्जेन्डर लाकाजेटजस्ता खेलाडीको साथका कारण आर्सनलको अग्रपंक्ति सबै विपक्षीका लागि चुनौती बन्न सक्छ।

चेल्सीले पनि नयाँ सिजनका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको छ। तर सिजन सुरु हुनुभन्दा एक महिनाअघि आएका प्रशिक्षक माउरिजियो सारीको आगमनले टोलीलाई पर्याप्त मात्रामा ऊर्जा दिन सकेको छैन। 

६२ हजार दर्शक क्षमताको नयाँ रंगशालामा सर्ने तयारीमा रहेको लन्डनकै अर्को टोली टोटेनह्यामले भने बिहीबार सरुवा बजारको अन्तिम दिन राति अबेरसम्म पनि कुनै खेलाडी अनुबन्ध गरेको थिएन। तथापी विश्वकपका गोल्डेन बुट विजेता ह्यारी केन, फ्रान्सका गोलपिकर ह्युगो लोरिस र क्रिस्टियन इरिक्सनजस्ता खेलाडीको साथ रहेको माउरिसियो पोचेटिन्होको टोलीमा अगाडि बढ्नका लागि प्रतिभाको कमी भने छैन्।

प्रकाशित: २५ श्रावण २०७५ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App