coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपथ्यले ल्यायो 'हो रामा रामा'

काठमाडौं- 'हो रामा रामा, हो रामा रामा

हाइ माया हाँसी दिँदा, देब्रे गाला डिम्पल बसने'

नेपथ्यका चर्चित गायक अमृत गुरुङले चितवनमा पहिलोपटक यो गीत प्रस्तुत गरे तब भिडमा नयाँ उत्साह छायो। थारु भेग भएकाले पनि आफ्नै भाषा जस्तै सम्झेर दर्शकको गीतप्रति थप चासो बढ्यो।

'हाइ माया हिउँचुली र वरचुली

सरमाइ लजाउने'

गण्डक क्षेत्रकै उल्लेखनीय मानिने यी दुइटै चुलीहरुसँग प्रेमका अनेक प्रसंग र संगीतका अनेक धुनहरु बनिसकेका छन्। यो गीत आइतबार युट्युबमा सार्वजनिक भएको छ। प्रेम र अपनत्व दर्शाउने भाव बोकेको नयाँ गीत नेपथ्यले आगामी अल्बममा समेटेको छ। नेपथ्यका अधिकांश गीतझैं लोकधुनसँग नजिक रहेर यो गीत तयार गरिएको हो। गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाकाको लयसँग मिल्दोजुल्दो भाखा यो गीतमा रहेको छ। गीतका शब्दले 'माया' भनेर पुकार्दै नारी सौन्दर्यको वर्णन गरेको उनी उल्लेख गर्छन्।

सोही गीतमध्येको गीत 'हो रामा रामा' दर्शकश्रोतामाझ ल्याइएको हो। यो गीतलाई नेपथ्यले नै झन्डै दस वर्षअघि लेखेर संगीत भरेको थियो। 'सन् २००५ मा हामीले भर्खर 'घटना' अल्बम तयार पारेपछि हामी गम्भीर गीतहरुतर्फ जान थालेको अनुभव भयो,'  गायक अमृत भन्छन्, 'त्यो लामो समयको एकोहोरोपनालाई तोड्ने पहिलो गीत यो 'रामारामा'नै थियो। गीत तयार पारेको दस वर्षपछि यो सार्वजनिक हुन लागेकोमा असाध्यै खुसी लागेको उनले बताए।

'यो गीतलाई कन्सर्टहरुमा गाउनेबित्तिकै जब दर्शकहरु उफ्रिँदै गाउनथालेका देख्यौं, हामीले स्टेज र दर्शकका त्यस्ता लाइभ दृश्यहरु खिचेर संकलन गर्न सुरु गर्‍यौं,' म्युजिक भिडियो निर्माता नेपालयका किरणकृष्ण श्रेष्ठ थप्छन्, 'यसरी जम्मा भएका दृश्यहरु पछि हेर्दै जाँदा यो गीतलाई नै भिडियोमार्फत् सम्पूर्ण उत्साहित दर्शकहरुमा समर्पित गर्ने हिसाबले तयार पार्ने सोच विकास भएको हो।'

सन् २०१४ मा दक्षिणकोरियाको राजधानी सोलमा यो गीत पहिलोपटक गाइएको थियो।। यस गीतको भिडियोलाई फेरि सिउलमै प्रदर्शनको निम्ति जानै लागेको बेला नेपथ्यले आमदर्शकका निम्ति युट्युबमार्फत् सार्वजनिक गरेको छ। २०१६ को सेप्टेम्बर १५ तारिखमा नेपथ्य सिउलमा गाउँदैछ।

यो गीत रहेको नेपथ्यको दसौं अल्बमको रेकर्डिङ भर्खरै सकिएको छ। छिट्टै सार्वजनिक हुने तरखरमा रहेको ब्यान्डले जनाएको छ। यसपटक भने हरेक गीतलाई पालैपालो सार्वजनिक गर्दै लैजाने र अन्तिममा संग्रहणीय हिसाबले सग्लो अल्बम श्रोतासामु ल्याउने रणनीति ब्यान्डले लिएको छ।

 

प्रकाशित: २८ भाद्र २०७३ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App