काठमाडौं - गुणस्तरहीन सामान उत्पादन गरेपछि बाराको नारायणी सिमेन्टसहित अन्य तीन उद्योग कारबाहीमा परेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागले हाललाई ती उद्योगको बिक्री वितरण बन्द गर्दै अनुमतिपत्र स्थगन गरेको छ।
कारबाहीमा पर्ने बारा जिल्लाका नारायणी सिमेन्ट उद्योग र नारायणी माइक्रो पाइप छन्। रुपन्देहीको नवनेपाल प्लास्टिक र काठमाडौंको ओडट फुड एन्ड बिभरेज पनि कारबाहीमा परेको छ । विभागले बिहीबार कारबाहीको निर्णय गरेको हो।
‘अनुगमनका क्रममा उद्योगबाट उत्पादित सामान गुणस्तर अनुसार नभएको पाइएपछि कारबाही गरिएको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नागरिकसँग भने, ‘तत्कालको लागि ती उद्योगको बिक्री वितरण बन्द गर्दै इजाजतपत्र स्थगित गरेका छौं ।’ विभागको टोलीले ती उद्योगमा एक महिनाअघि अनुगमन गरेको थियो।
कारबाहीमा परेका उद्योगमध्ये नारायणी सिमेन्टको इजाजतपत्र स्थगन गर्दै बिक्री वितरण बन्द गरिएको छ। यस उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्छ। नारायणीले उत्पादन गरिरहेको सिमेन्टको ‘आइआर’ मान नेपाल गुणस्तर अनुरुप नरहेको विभागले जनाएको छ।
एक महिनाको लागि उक्त सिमेन्टको बिक्री वितरण बन्द गर्ने र त्यसपछि नेपाल गुणस्तर अनुसार उत्पादन गर्ने प्रतिबद्धतासहित सुधार गरेमा पुनः खुला गरिने पुडासैनीले बताए।
त्यस्तै, बाराकै पाइप उत्पादन गर्दै आएको नारायणी माइक्रो पाइप उद्योग र रुपन्देहीको नवनेपाल प्लास्टिक उद्योगको इजाजतपत्र स्थगन गरिएको छ। यी उद्योगहरूले पाइप उत्पादन गर्दा धेरै फाइदाका लागि कमसल सामान प्रयोग गरेकाले कारबाही गरिएको हो। यी उद्योगले पाइप उत्पादन गर्दा प्रयोग गर्ने कालो दानाको सट्टा सेतो दाना प्रयोग गरेको पाइएको छ । सेतो दानाको मूल्य कालोभन्दा केही पैसा सस्तो पर्छ । लागत कम गरेर फाइदाको लागि सेतो दाना प्रयोग गरेको पाइएकाले कारबाही गरिएको पुडासैनीले बताए । नेपाल गुणस्तर मापदण्ड अनुसार पाइले निश्चित गुणस्तरको कालो दाना प्रयोग गर्नुपर्छ। कालो दाना सेतोभन्दा धेरै गुणस्तरीय हुन्छ । कालो दाना प्रयोग गरेर उत्पादन गरेमा यी उद्योगलाई पुनः बिक्री वितरण गर्न दिइनेछ।
त्यसैगरी, काठमाडौंको ओडट फुड एन्ड बिभरेज प्रालिले विभागको स्वीकृति नलिई नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) प्रयोग गरेको पाइएको छ । कुनै पनि उद्योगले विभागको स्वीकृतिबिना एनएस चिह्न प्रयोग गर्न पाउँदैनन्।
विभागका अनुसार उक्त उद्योगले आफ्नो उत्पादन पोटेटो क्र्याकरमा अनुमतिबिना एनएस चिह्न प्रयोग गरेको पाइएको छ। बिनाअनुमति उक्त चिह्न प्रयोग गरेकाले उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ।
ती उद्योगको स्थलगत अनुगमनका क्रममा उत्पादनहरु नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको कैफियत पाइएपछि उनीहरूसँग विभागले १५ दिनको स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण चित्त नबुझेपछि उनीहरूविरुद्ध थप कारबाही अघि बढाइएको विभागले जनाएको छ।
प्रकाशित: २५ श्रावण २०७५ ०३:४९ शुक्रबार