८ वैशाख २०८१ शनिबार
समाज

बालगोपालेश्वर मन्दिरको नयाँ डिजाइन

काठमाडौं- रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री (रड, सिमेन्टलगायत) प्रयोग भएपछि पुनर्निर्माण रोकेको पुरातत्व विभागले मन्दिरको नयाँ डिजाइन तयार गरेको छ।

विभागले मन्दिरमा क्रंकिट प्रयोग भएपछि भदौ १३ मा पुनर्निर्माणमा तत्काल रोक लगाएको थियो। ऐतिहासिक महत्वका सम्पदा विभागको मापदण्ड अनुसार पुनर्निर्माण गर्नुपर्ने प्रावधान छ। रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले भने मापदण्ड बेवास्ता गर्दै मन्दिरमा क्रंकिट प्रयोग गरेको थियो। 'पुनर्निर्माणमा क्रंकिट प्रयोग भएपछि मापदण्डलाई कुल्चिएको भन्दै काम रोकेका थियौं,' पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, 'अब हामीले मन्दिरको डिजाइन तयार पारेका छौं, त्यसै अनुसार महानगरपालिकाले निर्माण गर्नुपर्छ।' दाहालका अनुसार तयारी डिजाइन आउने बुधबार महानगरपालिकालाई जिम्मा लगाइनेछ।

विभागको डिजाइन अनुसार महानगरपालिकाले मन्दिर पुनर्निर्माण गर्नुपर्छ। 'विभागको मापदण्ड अनुसार कंक्रिटका पिलर भत्काउनै पर्छ,' दाहालले भने, 'हामीले पुरानै शैलीमा र ऐतिहासिक महत्वका सामग्रीबाटै पुनर्निर्माण गर्नुपर्छ।'

महानगरपालिकाले सम्पदा बलियो बनाउने बहानामा मौलिकता नबिग्रने गरी निर्माण गर्ने भन्दै मन्दिर पुनर्निर्माणमा क्रंकिट प्रयोग गरेको थियो। महानगरपालिका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख उत्तरकुमार रेग्मीका अनुसार मन्दिरमा पहिले पनि छड, सिमेन्ट प्रयोग भएकाले महानगरपालिकाले पनि प्रयोग गरेको दाबी गरे।

महानगरपालिकाले पनि अब भने विभागको निर्देशन अनुसार काम गर्ने बतायो। 'अहिले काम रोकिएको छ,' महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'अब विभागले जे निर्देशन दिन्छ त्यसै अनुसार पुनर्निर्माण गरिनेछ।'

२०७२ वैशाख १२ मा आएको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको मध्यमा रहेको मन्दिरको पुनर्निर्माण गत वैशाख दोस्रो साता सुरु भएको थियो। वर्षको एक दिन भाइटीकाको दिन मात्र खुल्ने मन्दिर अब वर्षभर नै खोल्ने तयारी महानगरको छ। मन्दिर पुनर्निर्माणसँगै महानगरले रानीपोखरीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने भन्दै स्वरुप समेत परिवर्तन गरी पुनर्निर्माण गर्न वर्ल्डवाइड कँडेल केएन केजी जेभीले ६ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको छ। मन्दिरको काम रोकिए पनि अहिले कम्पनीले अन्य काम गरिरहेको छ।

चार सय वर्ष पुरानो रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकमुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ। दुई वर्ष लगाएर विसं १७२७ मा निर्मित पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सालिक छ।

प्रकाशित: २८ भाद्र २०७३ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App