१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटल स्कुलको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौं – होटल म्यानेजमेन्ट पढाउने विश्वभरका शैक्षिक संस्थाको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल एशोसिएसन अफ होटल म्यानेजमेन्ट स्कुल्स (इयुहोफा इन्टरनेसनल) को ५९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। पहिलो पटक एसियामा हुन लागेको यो सम्मेलन सन् २०१९, नोभेम्बर २६ देखि ३० सम्म काठमाडौंमा आयोजना गरिनेछ।

सम्मेलनमा विश्वभरका होटल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २ सयभन्दा बढी व्यवस्थापक सहभागी हुने इयुहोफाका बोर्ड सदस्य तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले जनाए। ‘यो नेपालको पर्यटन उद्योगकै ठूलो उपलब्धि हुनेछ । सम्मेलनमा आउने विभिन्न देशका सहभागीले प्रवाह गर्ने सन्देशले विश्वभर नेपालको पर्यटन प्रचारप्रसारमा ठूलो योगदान पुग्नेछ,’ लकाईले भने।

नेपाल भ्रमणमा रहेकी इयुहोफाका अध्यक्ष डा. मारिया विसिंगरले  सम्मेलन पूर्वतयारीबारे नेपालका सदस्य होटल स्कुलहरू ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, गोल्डेन गेटका प्रमुखसँग छलफल गरेकी छन्। मुलुकका ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानले होटल व्यवस्थापन एवं पर्यटन शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका दुई सय होटल व्यवस्थापन पढाउने स्कुल सदस्य छन्।  होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरका उत्तम अभ्यास अनुसरण गर्ने, विद्यार्थी तथा शिक्षकको अनुभव आदानप्रदान गर्ने उद्देश्यले ५६ वर्षअघि इयूहोफा युरोपमा स्थापना भएको हो। सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्ड हुँदैछ।

प्रकाशित: २५ श्रावण २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App