७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अध्यक्ष नहुँदा कामकाज प्रभावित

काठमाडौं - नेपाल इन्जिनियरिङ परिषद्मा एक महिनादेखि अध्यक्ष र उपाध्यक्ष पद रिक्त रहँदा परिषद्को दैनिक कामकारबाही ठप्प बनेको छ। विभिन्न कलेजबाट इन्जिनियरिङका विभिन्न तह उत्तीर्ण इन्जिनियरहरुको दर्ता रोकिएको छ। असार ३१ गते अध्यक्ष सत्यनारायण साह र उपाध्यक्ष विनोदकुमार न्यौपानेको चारवर्षे पदावधि सकिएपछि यी दुवै पद रिक्त छन्।

परिषद्को ऐनअनुसार भौतिक योजना तथा यातायात मन्त्रालयले अध्यक्ष नियुक्त गर्नुपर्छ। ऐनको दफा ५ (१) (क) अनुसार इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा १५ वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त इन्जिनियरमध्येबाट मनोनीत इन्जिनिर परिषद्को अध्यक्ष हुने व्यवस्था छ।

एक महिनासम्म पनि अध्यक्ष नियुक्त नहुँदा आफूहरुले काम गर्ने अनुमति पाउन नसकेको एक इन्जिनियरले बताए । ‘मैले भारतको एक विश्वविद्यालयबाट कमप्युटर इन्जिनियर पास गरिसकें,’ उनले भने, ‘मैले नेपालकै एक स्तरीय कम्पनीमा कमप्युटर इन्जिनियरको काम पाइसकेको छु तर काउन्सिलको दर्ता प्रमाणपत्र नभएका कारण समस्या भएको छ।’ अध्यक्ष नभएका कारण प्रमाणपत्र दिन ढिलाइ हुने परिषद्ले जनाएको उनले बताए।

परिषद्का रजिस्ट्रार खेमराज जोशीका अनुसार असारसम्म ८ सय ५१ इन्जिनियरले दर्ताका लागि आवेदन दिएका थिए। हालसम्म सो संख्या हजार पुगेको उनले बताए । नयाँ इन्जिनियरले दर्ताका लागि निवेदन दिएपछि विषय समितिले जाँचबुझ गरी योग्य ठहर भएकाको सूची परिषद्का इन्जिनियरले जाँची परिषद्को बोर्डमा पेस हुने उनले बताए । ‘तर बोर्डको अध्यक्ष र उपाध्यक्ष रिक्त भएकाले बोर्ड बैठक बस्न सकेको छैन । यसले गर्दा हजार भन्दा बढी नयाँ इन्जिनियरको दर्ता रोकिएको छ’, उनले भने, ‘परिषद्को दैनिक महत्वपूर्ण शैक्षिक, प्रशासनिक र आर्थिक कामकारबाहीसमेत रोकिएको छ।’ अध्यक्षको अभावमा वार्षिक बजेटसमेत पारित हुन सकेको छैन भने नयाँ विदेशी कलेज, विश्वविद्यालय तथा स्वदेशी कलेजको विषय थप र अनुगमन तथा नियमनको कामसमेत हुन सकेको छैन।

बोर्डका निवर्तमान अध्यक्ष साहले आफू कार्यरत रहेकै अवस्थामा ८ सय ५१ इन्जिनियरको दर्ता बाँकी रहेको बताए। २ पटक बोर्ड बैठक बसाएर दर्ताको निर्णय गर्न खोज्दा गणपूरक संख्या नपुगेर काम हुन नसकेको उनले स्पष्ट पारे।

उता भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अध्यक्षको योग्यतासम्बन्धी सर्त परिमार्जन प्रक्रिया अघि बढेकाले यसको टुंगो लागेपछि नियुक्ति हुने बताए। ‘मन्त्रालयले मेरै संयोजकत्वमा समीति गठन गरी अध्यक्ष छनोटको आधार तय गर्न कार्यादेश दिएको थियो। हामीले प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भने, ‘परिषद् नियमनकारी संस्था भएकाले अध्यक्ष हुने व्यक्ति कुनै पनि इन्जिनियरिङ कलेजमा व्यवस्थापक वा कार्यकारी हुन नपाइने सुझाव दिएका छौं।’ उनले अब छिटै अध्यक्ष नियुक्तको प्रक्रिया अघि बढ्ने उनले बताए।

प्रकाशित: २५ श्रावण २०७५ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App