१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रहर हराएको सहर!

घटना नं. १
राजधानी आउनुअघि ओखलढुंगाकी सञ्जु गौतमलाई लागेको थियो– राजधानी सफाचट र सुविधासम्पन्न होला। त्यही सम्झेर उनी चार वर्षअगाडि अध्ययनको लागि काठमाडौं आइन्। तर, उनले काठमाडौंको फरक परिवेश पाइन्। जताततै फोहोर, बिग्रिएका सडक र अस्तव्यस्त सहर । यो त घर बाहिरको समस्या थियो। गोकर्णेश्वर नगरपालिकामा डेरामा बस्दै आएकी उनलाई अहिले घरको फोहोर कहाँ फाल्ने समस्या थपिएको छ।

फोहोर उठाउने गाडी नआउँदा उनको कोठामा फोहोर जम्मा भएको साताभन्दा बढी भइसक्यो। उनले प्लास्टिकमा पोका पोका पारेर कोठामै फोहोर थुपारेर राखेकी छन्। फोहोर जम्मा हुँदा कोठा दुर्गन्धित भएको उनी बताउँछिन्।  

घटना नं. २
साताअघि कक्षा ११ मा पढ्ने सोनाम लामा विद्यालय जाँदै थिए । जोरपाटीबाट हुइँकिँदै आएको बसले छ्यापेको पानीले उनलाई निथुक्कै भिजायो। उनी रातोपिरो भए । गाडी चालकसँग रिसाएर अगाडि बढ्दै थिए । उनको खुट्टा हिलोमा फस्यो । पैदलयात्राबाट कलेज जाँदै गरेका सोनाम सडकको अवस्थाले गर्दा घर फर्कनुपर्ने बाध्यता परे । ‘केही दिनअघि मात्रै कलेज सुरु गरेको थिए,’ सोनामले सुनाए, ‘उत्साहित हुँदै कलेज गएको त, कलेज नपुग्दै हिलोले पुरिएर आधा बाटोबाटै फर्किन प-यो।’

घटना नं. ३
महाबौद्धस्थित पसलमा काम गर्ने अशोक खड्का हरेक साँझ नेपाल एयरलाइन्सको भवन अगाडि सुन्धारामा निराश अनुहारमा उभिरहेका भेटिन्छन्। ट्याँट्याँ–टुँटुँ गरिरहेका माइक्रो लाम देख्छन्, उनी। घर फर्किन माइक्रोभित्र पस्न माइक्रो जता दौडिन्छ, त्यतै दौडिन्छन् अशोक पनि। तैपनि माइक्रो चढ्न पाउँदैनन्। रात परिसक्यो भन्दै घडी हेरेर निराश हुनेबाहेक विकल्प हुँदैन् अशोकसँग ।उनले तीन वर्षअघिदेखि भोग्दै आएको समस्या हो। पसलबाट घर फर्किदा माइक्रोमा चढेर सिट पाएको दिन अशोकलाई ठूलो युद्ध जितेजस्तो लाग्छ। महिनामा २० दिनजतिचाहिँ अशोक माइक्रोको ढोकामै झुण्डिएर यात्रा गर्छन्। ‘माइक्रो चढ्नको लागि कम्तीमा पनि २० मिनेट कुर्नपर्छ,’ उनले सुनाए, ‘त्यसपछि सिट पाए त भाग्य हुन्थ्यो नि। झुण्डिएर जोखिम मोल्दै यात्रा गर्नपर्छ।

अघिल्लो वर्ष स्थानीय तहको चुनाव हुँदा अब राजधानी बन्छ, धेरैलाई विश्वास लाग्यो। तर, स्थानीय सरकार आएको पनि डेढ वर्ष भयो। राजधानीको अवस्था जस्ताको तस्तै छ।

राजधानी काठमाडौंमा भोग्दै आएका यी तीन घटना त प्रतिनिधि मात्रै हुन्। सुन्दर र व्यवस्थित राजधानीको कल्पना गरेका काठमाडौंवासीले दिनदिनै अनेकौं समस्या झेल्न बाध्य छन्। पाइलैपिच्छे समस्याको उल्झनमा अल्झिँदा कुनैबेला रहरको काठमाडौं सहर हिजोआज धेरैको लागि कहर बन्दै गएको छ।

राजधानीमा बसोबास गर्नेहरू सामान्य सुविधाबाट समेत वञ्चित छन्। जसले गर्दा उनीहरूले कष्टकर जीवन बिताउनुपरेको छ। ‘काठमाडौंलाई राजधानी सहर भन्न पनि लाजैमर्दो भइसक्यो,’ टुरिस्ट गाइड नरध्वज तामाङ भन्छन्, ‘काठमाडौंमा पर्यटक घुमाउँदा ‘यस्तो पनि राजधानी हुन्छ’ भनेर प्रश्न गर्दा लाजमर्दो हुन्छ।’

धुवाँधुलो, खाल्डाखुल्डी सडक, घण्टौं कुर्दा नपाइने सवारी देखेर नरध्वज जस्ता लाखौं आजित छन्। १० वर्षअघि सहर जाने रहर बोकेर काठमाडौं आएका नरध्वजलाई आजकल काठमाडौं बस्ने रहर हराएको छ। ‘विदेशीहरू लिएर उपत्यकाबाहिर घुम्न जाँदा त्यहाँको हावापानी तथा वातावरणले मोहित पार्छ,’ उनले भने, ‘जब उपत्यका प्रवेश गरिन्छ, दिमाग नै ह्याङ भएजस्तो हुन्छ।’

काठमाडौंलाई केन्द्रीय राजधानी, फराकिला सडक, स्मार्ट सिटी, मेट्रो रेल, मोनो रेल गुड्याउने समाचार पनि नरध्वज सुनेका छन् । ती पूर्वाधारको विकास कहिले हुन्छ, सरकारलाई नै थाहा छैन। ‘यो बेला सरकारले सपना बाँड्ने होइन्, नागरिकले भोग्दै आएका सामान्य समस्याको समाधान गर्दै जाने हो,’ उनले भने, ‘यतिबेला नागरिकले ठूला सपना होइन, दैनिक आउने अल्झनको समधान चाहेका छन्।’

राजधानीको रूप बिग्रदै आएको पाँच वर्षभन्दा बढी भयो। राजनीतिक अस्थिरताले गर्दा राजधानीको अवस्थामा कुरुपता आएको, धेरैको अनुमान थियो । अघिल्लो वर्ष स्थानीय तहको चुनाव हुँदा अब राजधानी बन्छ, धेरैलाई विश्वास लाग्यो । तर, स्थानीय सरकार आएको पनि डेढ वर्ष भयो। राजधानीको अवस्था जस्ताको तस्तै छ । यसरी राजधानीको रूप नफेरिँदा यहाँका रैथाने पनि आजित छन्। ‘काठमाडौं पटक्कै बस्न नसकिने भइसक्यो,’ वसन्तपुरका गणपतिलाल श्रेष्ठ भन्छन्, ‘छोडेर जान पनि रैथाने ठाउँ छोड्ने कुरा भएन।’

प्रदूषण र अस्तवस्थता सडक तथा वस्तीले गर्दा राजधानी कुरूप हुँदै गएको अनुमान श्रेष्ठको छ।

रैथानेसँगै आगन्तुक पनि काठमाडौंसँग दिकदार छन् । कुनैबेला काठमाडौंमा बस्ने रहर बोकेर आउनेहरू यतिबेला राजधानीको अस्तव्यस्ताले काठमाडौं बस्ने रहर हराउँदै गएको छ।

‘गाउँभन्दा काठमाडौंमा सुविधा छ,’ ओखलढुंगाकी सन्जु भन्छिन्, ‘त्यो हिसाबले हेर्दा काठमाडौं ठीक भए पनि यतिबेलाको काठमाडौं अवस्था नियाल्दा बस्न मनै नलाग्ने भइसक्यो।’ हुन पनि हो ओछ्यानबाट उठेदेखि समस्या झेल्नुपर्छ काठमाडौंमा । बिहान उठेपछि कोठामा थुप्रिएको फोहोर देख्नुपर्छ । धारामा पानी आउँदैन् । बाहिर निस्कँदा धुवाँधुलो खपिसक्नु छैन । कतै जानुपर्दा सवारीको सहजता छैन। चिटिक्क परेर निसक्दा बेलुका कुरूप भइन्छ। सञ्जुले आजकल यस्तै समस्याबाट ग्रसित छिन्।

यो समस्या सञ्जुको मात्र होइन, काठमाडौंमा बस्ने जोकोहीले भोग्दै आएका छन्।

सरकारले चाहेको भए यी समस्याको समाधान भने गर्न सक्ने अनुमान पनि समस्या भोग्नेहरू नै गर्छन्। ‘सरकार काठमाडौंको समस्या समाधान गर्नै चाहँदैन,’ श्रेष्ठले भने, ‘विदेशी पाहुना आउँदा, महत्वपूर्ण कार्यक्रम हुँदा राजधानी शृगार्ने सक्ने सरकारले अघिपछि त्यसैलाई कायम गराउन नसक्ने त पक्कै हुँदैन।’

हुन पनि हो, विदेशी कुनै पाहुना आउँदा सडक रातारात चिल्ला बन्छन् । सडकमा हरियाली छाउँछ । जब ती पाहुना जान्छन्, राजधानी क्रमशः पुरानै अवस्थामा फर्किदै जान्छ।

श्रेष्ठका अनुसार नागरिक चुप बसेरै सरकारले काठमाडौंलाई बेवास्ता गरिरहेको छ । दिनहुँ समस्या बढ्दै गए पनि जसोतसो चलेकै छ भनेर चुपचाप बस्दा सरकारले राजधानीको हविगत बनाएको श्रेष्ठको आरोप छ।

सरकारलाई गर्दै नगरेको होइन, वाचा अनुसार काम नगरेको भने पक्कै हो । सरकारले सडक विस्तार गरेर फराकिलो बनाउने अभियान २०६८ सालबाट थालेको थियो । अधिकांश सडक विस्तारको लागि भन्दै २०७२ सालमा ठेक्का लगायो । एकदेखि दुई वर्षको लागि निर्माण सक्ने गरी लगाइएका उपत्यकाका दर्जन बढी सडकको काम आधा पनि हुन सकेको छैन । यसले गर्दा नागरिकले दैनिक सडकको समस्या झेलिरहेका छन्।

यसरी नागरिकले समस्या खेपिरहे पनि सडक निर्माण सम्पन्न कहिले हुन्छ, त्यसको उत्तर सरकारसँगै छैन् । ‘धमाधम काम गर्न पाएको भए यतिबेला काठमाडौंका सडक फराकिला र चिल्ला भइसक्थे,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीले भने, ‘विभिन्न उल्झनले गर्दा सडक विस्तारको काम सोचे अनुरूप भएको छैन । यही हिसाबले हो भने सडक विस्तार कहिलेसम्म भइसक्छन् यकिन गर्नै गाह्रो छ।’

सडकले गर्दा दैनिक क्रियाकलपमै समस्या आएपछि नागरिक सडकमा नउत्रिएका पनि होइनन् । अघिल्लो साता मात्रै विरोध स्वरूप बौद्ध सडकखण्डमा लामाहरूले गिटी हाले । तर, सरकार रातरात काम गरेर नागरिकको समस्या समधान गर्नुको सट्टा अनुगमन मात्रै गरिरहेको छ।

बिहीबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बौद्ध सडकको अनुमगनमा पुगे । त्यसले कुनै परिर्वतन ल्याउने ल्याउनेमा सर्वसाधारणको आशंका छ । किनकि, यसअघि मन्त्री महासेठले कंलकी–नागढुंगाको पनि अनुगमन गरेका थिए । त्यस अनुगमनले कुनै परिवर्तन नल्याएको स्थानीयको भनाई छ।

सडकको कारण काठमाडौंवासीले वर्षा सुरु भएसँगै हिलोको मार खेप्छन् । असारमा धान रोप्न तयार गरेका खेतका गरा जस्ता सडकमा सवारी कुदाउँछन् । पानी पर्न छोडेपछि धुलोको मार सुरु हुन्छ । यसले दैनिकीमै असर त ल्याउँछ नै, राजधानी जस्तो सहरको त्यो हविगतले जो कसैको मन कुँडाइदिन्छ । ‘बिहान सफा लुगा लगाएर निस्कियो भने बेलुका फर्किदा मैलो हुन्छ,’ बौद्धकी छेल्हमु शेर्पाले भनिन्, ‘दैनिक यस्तैयस्ता समस्याले पीडा मात्रै होइन, मनै कुडिएर आउँछ ।’ सहरको धुलो खाएर राजधानी बस्ने छेल्हमुलाई मन त छैन । तर, होटल व्यवसाय गरिरहेकाले उनी यही बस्न बाध्य छिन्।

छेल्हमुका अनुसार यो सहर न बालबालिकामैत्री छ न महिलामैत्री । साँझ पर्न नपाई सार्वजनिक यातायात नपाउनुको झमेला देख्दा उनको मन पोल्छ । सरकारले ०७५ साल लागेसँगै यातायातमा भएको सिन्डिकेट तोड्ने अभियान ल्यायो। यो कुराले छेल्हमु पनि खुसी भएकी थिइन्।

पुतलीसडकमा व्यवसाय गर्दै आएकी छेल्हमु यातायातको सिन्डिकेट तोडिएपछि त बेलुका घर फर्किदा सहज होला भन्ने लागेको थियो । तर, यातायातको सिन्डिकेट तोड्ने अभियान थालेको महिनौं बित्दा पनि त्यसको अनुभूत छेल्हमुले गर्न पाएकी छैनन् । सार्वजनिक यातायातको अव्यवस्थाले छेल्हमु जस्ता लाखौंले सास्ती भोगिरहेका छन्।

अर्कोतिर पैदलयात्रु हिँड्ने सडकपेटी छैनन् । भएका सडक पेटीमा पनि मोटरसाइकल पार्किङ र फुटपाथ पसलले भरिएका छन् । कतिपय ठाउँमा छाडा चौपायाले सडक पेटीलाई कब्जा गरेका छन्।

समस्याको भारी बोकेर यतीबेला राजधानीवासी भन्न थालेका छन्, ‘राजधानी सहर नभएर कहर हो । कुनै दिन रहर थियो राजधानीमा बस्ने । अब त राजधानी बस्ने रहर हराउन थालेको छ।’

तर, अस्तव्यस्त राजधानी देखेर आजित हुनेहरू आतिनु नपर्ने बताउँछन्, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी । उनका अनुसार राजधानी यतिबेला पूर्वाधारको विकासको क्रममा छन्।

‘जुनै राजधानीको अवस्था हेर्दा पनि विकास क्रममा केही न केही समस्या भइहाल्छन्,’ प्राधिकरणका प्रमुख आयुक्त तिवारीले भने, ‘अहिलेको समस्याले आतिनु पर्दैन्। अबको एक दुई दशकमा राजधानीको पूर्णरूपमा फेरिनेछ ।’ काठमाडौंमा धेरै पूर्वाधार विकासका काम अघि बढेका छन्। बाहिर चक्रपथ देखि स्मार्ट सिटीसम्म बनिसक्दा राजधानी अत्यन्तै सुन्दर सहर हुने उनको दाबी छ।

प्रकाशित: २५ श्रावण २०७५ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App