७ वैशाख २०८१ शुक्रबार
खेल

एसिया कप छनोटका लागि १९ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौं – राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान सरद भेषवाकरलाई टोलीबाट हटाउँदै एसिया कप छनोटका लागि १९ सदस्यीय राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोली घोषण गरिएको छ।

मलेसियामा यही अगष्ट अन्तिमबाट आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। घोषित १९ सदस्यीय टोलीमा शरद भेषावकर भने परेका छैनन्। भेषावकरले गएको हप्ता नेदरल्याण्ड्समा सम्पन्न ऐतिहासीक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा दायाँ हातको कान्छी औंलामा चोट बोकेका थिए। त्यही चोटका कारण उनी कम्तिमा चार साता मैदान बाहिर रहने छन्।

नेपालले यही श्रावण २९ गतेबाट एसिया कपको तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्नेछ। बन्द प्रशिक्षणपछि अन्तिम १५ सदस्यीय टोलीको घोषणा हुनेछ। मलेसिया जानुअघि नेपालले केही अभ्यास खेल खेल्ने तालिका रहेको छ। भदौ १३ देखि २१ गतेसम्म हुने एसिया कप छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन्।

नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ। त्यस्तै भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग खेल्नेछ। प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान सुरक्षित गर्नेछ। एसिया कपमा टेष्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, बंगलादेश,श्रीलंका र अफगानिस्तान छन्।

एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा हुँदैछ। यसैबीच नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक अपूर्व देसाई आउने पक्का पक्की भएको छ। देसाई  भारतीयका ‘सी’ लेभल प्राप्त प्रशिक्षक हुन्।

घोषित १९ सदस्यीय प्रारम्भिक टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सागर पुन, सुवास खकुरेल, प्रदीप ऐरी, अनिलकुमार साह, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, ललित भण्डारी, ललितनारायण राजवंशी, करण केसी, मोहम्मद आरिफ शेख, किशोर महतो, सुनील धमला र सुशान भारी छन्।

 

प्रकाशित: २४ श्रावण २०७५ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App