६ वैशाख २०८१ बिहीबार
शिक्षा

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

काठमाडौं - पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय अध्ययन एवं पोखरा विश्वविद्यालय केन्द्रीय सम्पर्क समिति सदस्य नवराज त्रिपिठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका ५८ वटा सम्बन्धनप्राप्त निजी कलेज र चार आंगिक कलेजमा भर्ना हुन उक्त क्याम्पसमा एउटै इन्टेकका लागि छुटाछुटै ५९ पटक प्रवेश परिक्षा लिने, प्रवेश परीक्षा शुल्क जथाभावी लिने व्यवस्थाले समग्र विश्वविद्यालय शिक्षाको गुणस्तरमा नकरात्मक असर पारेको गुनासो गर्दै आपूmहरु शैक्षिक सुधारका लागि ५ बुँदे मागसहित आन्दोलनमा उत्रेको बताएका हुन्।

‘एउटै विश्वविद्यालयको क्यामपसमा अध्ययन गर्न फरक–फरक मापदण्डको प्रवेश परीक्षा दिनुपर्ने, क्याम्पसैपिच्छे दस्तुर तिरेर प्रवेश परीक्षा दिनुपर्ने प्रणाली विश्वविद्यालयको परिभाषाभित्र पर्दैन,’ त्रिपाठीले भने, ‘त्यसकारण संकायअनुसारको एकरुपता कायमा गर्न, गुणस्तर बढाउन र मेरिट प्रणालीलाई स्थापित गर्न विश्वविद्यालयको आंगिक तथा सम्बन्धनप्राप्त कलेजका लागि विश्वविद्यालयले एकै पटक प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने हाम्रो माग हो ।’ उनले थपे, ‘इन्जिनियरिङ जस्तो विषयमा पनि एउटा कलेजको प्रवेश परीक्षा फेला भए त्यही विश्वविद्यालयको अर्को कलेजमा प्रवेश परीक्षा पास गरेर पढ्न पाइने प्रणालीले विश्वविद्यालय शिक्षालाई ब्यापारको बस्तु बनाइदिएको छ।’

पत्रकार सम्मेलनमा भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजबाहेक कुनै कलेजले पनि मापदण्ड पुरा नगरेको बताएका छन्। विश्वविद्यालय र काउन्सिलले तोकेको मापदण्ड पनि पूरा नगरी कलेज संचालन हुनु दुःखद भएको उनीहरुको भनाइ छ। ‘विश्वविद्यालयको मापदण्डअनुसार कलेजहरुले ५० प्रतिशत फुलटाइम शिक्षक राख्नुपर्ने, ल्याब, पुस्तकालय व्यवस्थित हुुनपर्नेमा त्यस्तो कलेजहरुमा ५ प्रतिशत पनि फुलटाइम शिक्षक छैनन्,’ त्रिपाठिले भने, ‘निजी कलेजहरुले पोखरा विश्वविद्यालयको लोगो प्रयोग गरी शैक्षिक ब्यापार गर्ने काम गरिरहेका छन्।’

आन्दोलनरत विद्यार्थीहरुले विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुले कुल बजेटको ५ प्रतिशत रकम रिसर्च एन्ड डेभलपमेन्ट युनिट खडा गरी छुटाउनुपर्ने, एकीकृति प्रणालीबाट भर्ना प्रवेश परीक्षा लिनुपर्ने, शुल्कमा एकरुपता हुनुपर्ने, परीक्षा एकै समयमा हुनपर्ने, सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने र सबै सम्बन्धनप्राप्त कलेजमा स्ववियु निर्वाचन तत्काल गर्नुपर्ने माग राखी चरणबद्ध आन्दोलनमा उत्रेका हुन्।

विश्वविद्यालयका परीक्षा नियन्त्रक भरतराम ढुंगानाले निजी कलेजहरुको हकमा एकीकृत भर्ना प्रवेश परीक्षा अझै गर्न नसकेकाले पक्कै पनि उच्च शिक्षामा नकरात्मक असर पर्ने स्पष्ट पारे। उनले यसतर्फ विश्वविद्यालयको ध्यान केन्द्रित भएको समेत बताए। ‘विश्वविद्यालय शिक्षामा एउटै इन्टेकका लागि एकैपटक एकीकृत प्रणालीबाटै प्रवेश परीक्षा हुनु राम्रो हो,’ ढुंगानाले भने।

विश्वविद्यालयमा यो वर्ष विभिन्न विषयमा १० हजार विद्यार्थीले रजिस्ट्रेसन गरेका छन्। विश्वविद्यालयका रजिस्ट्रार गोविन्द शर्माले विश्वविद्यालयले सन् २०१९ को इन्टेकदेखि प्रवेश परीक्षा एकीकृत गर्ने तयारी गरिरहेको बताए। ‘हामी शिक्षा व्यवस्थापनमा लागेका छौं,’ रजिस्ट्रार शर्माले नागरिकसँग भने, ‘निजी कलेजमा शुल्क बढेको गुनासाहरु आएका छन्। इन्जिनियरिङ विषयमा कसैले ८ लाख र कसैल ११ लाखसम्म लिएको गुनासा आइरहेकका छन्। विश्वविद्यालय ऐनमा निजी कलेजको शुल्क, परीक्षालगायत विषयमा स्पस्ट व्यवस्था नभएकाले व्यवस्थापनमा चुनौती छ।’

प्रकाशित: २४ श्रावण २०७५ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App