बादी समुदायको असहमति किन?

बिहिबार, २४ साउन २०७५, ०९ : २२ गोपाल नेपाली(बादी)

२०६४ सालमा भएको बादी समुदायको आन्दोलनलाई बिर्साउने गरी फेरि बादीहरू काठमाडाैं केन्द्रित सडक आन्दोलनमा छन् । २०६४ सालको आन्दोलन राज्यविरुद्ध थियो । राज्यलाई चुनौती दिँदै बादी महिलाहरू भन्दै थिए— कति नांगिनु, कहिले कोठाभित्र नंग्यायौ, कहिले समाजमा नंग्यायौ, सार्वजनिक ठाउँमा नंग्यायौ, कति नांगिनु, लुकाउने र छुपाउने ठाउँ केही र कहीँ छैन । राज्य हामीलाई कि त सधैँका लागि नांगो बनाइदे, होइन भने हाम्रा लागि केही वैकल्पिक व्यवस्था गर्।

तर अहिलेको सडक दौडाहा तिनै नांगिएका दिदी–बहिनीलाई साहित्य र अभिनयमार्फत फेरि नंग्याइएको विरुद्धमा छ । २०६५ पुस २३ गते नेपाल सरकार र बादी समुदायबीच भएको सम्झौता बमोजिम बादी समुदायका महिला जो यौन पेसामा संलग्न थिए, उनीहरूले आफूले गर्दै आएको पेसालाई पूर्णरूपमा बन्द गरिसकेका थिए । र, नयाँ पिँढीहरूले पनि पुराना घाउ बिर्संदै थिए भने समाजले पनि बादी समुदायमा लागेको कलंकलाई पनि बिर्संदै थियो । सामाजिक अन्तरघुलनको प्रक्रियामा रहेका बेला आएका केही साहित्यिक कृति र चलचित्रहरूले बिर्सिसकेको घाउलाई कोट्याएर दुखाएको र बादी समुदायको आत्मसम्मानमा चोट पु¥याएको बादी समुदायले महसुस गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।  

बादी समुदायलाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने र समाजमा पुनः अपमानित बनाउने साहित्य–सिनेमा कतिन्जेल?

बादी समुदाय आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको दलित अल्पसंख्यक समुदाय हो । यस समुदायको धर्म, सांस्कृतिक मूल्य र मान्यता अन्य समुदाय सरह नै रहेको छ । बादी समुदायको परम्परागत पेसा भनेको नाचगान गर्ने, बाद्यवादनका सामग्री (मादल, ढोल र तबला आदि) निर्माण गर्ने, जाल बुन्ने र माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने रहेको छ । यो समुदाय खास गरी नदी किनार, खोलाछेउ र ओडार आदिमा बस्ने गथ्र्याे र आफ्नो  जीवनलाई घुमन्ते जीवनका रूपमा जीवनयापन गर्ने सीमान्तीकृत समुदाय हो । इतिहासको कालखण्डदेखि नै राजा रजौटाहरूलाई चाड, पर्व, भोजमा नाचगान गरी शुभसाइत जुराउने र मनोरञ्जन दिने पेसा गरेको पाइन्छ । यसरी गरिमामय पेसा गर्दै आएको अवस्थामा बादी समुदायका केही परिवारका अविवाहित बादी  युवतीहरू तत्कालीन राजा, रजौटा, मुखिया, जिम्मुवालबाट यौन शोषणमा पर्न गई तिनीहरूलाई रखेलका रूपमा राखी उनीहरूलाई यौन मनोरञ्जनको साधनका रूपमा प्रयोग गरेको पाइन्छ । साथै, सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताका आधारमा जात जान्छ भनी कथित राजा–रजौटाले उनीहरूलाई त्यसै अलपत्र छाड्ने गरेकोे इतिहास पाइन्छ । यस प्रकारको कलंक र नकारात्मक प्रभावबाट छुटकारा पाई सम्मानित जीवनयापनका लागि स्वयं बादी समुदायबाट विभिन्न किसिमका प्रयास गरिएका छन् । बादी समुदायले आफ्नो अधिकार प्राप्तिका लागि २०६४ साउन ३१ देखि ४८ दिनसम्म आन्दोलन गरी २०६४ असोज २८ गते नेपाल सरकार र बादी समुदायबीच वार्ता–सम्झौता भई नेपाल सरकारबाट बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरू भाँड, बदेनी, पातर रण्डी, वेश्या आदि शब्दहरूको प्रयोगमा रोक लगाएको थियो।

साहित्य र सिनेमाबाटै शोषण
 बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको सरस्वती प्रतीक्षाद्वारा लिखित ‘नथिया’ नामको उपन्यासले आशयरूपी जातीय विभेद गरेको देखिन्छ । नथियाको शीर्षक नै विवादित रूपमा प्रस्तुत गरिएको छ भने यसको अर्थलाई अनर्थ हुने गरी लेखकले परिभाषित गरेकी छन् । नथुनी खोल्नु बादी समुदायमा इतिहासको कुनै खालखण्डमा भए पनि अहिले हराइसकेको चलनलाई टपक्क टिपेर बादी समुदायको इज्जत, प्रतिष्ठामा आँच आउने शब्दहरू प्रयोग गरेर जातीय भेदभाव गरेको देखिन्छ । बादी समुदायका पुरुषहरू ‘राक्षस’ हुन्, उनीहरूले आफ्नो धर्म–संस्कृति विपरीत आफ्नै सन्तानसँग यौन कार्य गर्छन् भन्ने तरिकाले प्रस्तुत गरिएको छ, जुन बिल्कुल कपोकल्पित मिथ्या आरोप हो । कुरूप बादी महिलाबाहेक सबै बादी महिलाहरू यौन व्यापार गर्छन् भनेर सबै बादी महिलाहरूको आत्मसम्मानमा आँच आउने कार्य गरेको देखिन्छ । विभिन्न अध्ययन र नेपाल सरकारको आधिकारिक अध्ययन टोलीको प्रतिवेदनलाई हेर्दा यस समुदायका ६५  परिवारका विवाहित महिलाले नभई अविवाहित युवतीले मात्र यस पेसामा संलग्न भएको पाइन्छ । र बाँकी ९४५ बादी परिवार अहिले पनि विभिन्न सम्मानित पेसामा संलग्न भएको कुरालाई बिर्सेर सबै बादीहरूलाई यस्तो आरोप लगाउनु किमार्थ सत्य हँुदै होइन । साथै, उक्त उपन्यासले नेपाल सरकारबाबाट बन्देज गरेका– समग्र यस समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छना, भेदभाव देखिने– शब्दहरूको प्रयोग भएको र समग्र समुदायलाई प्रतिकूल असर हुने खालका शब्द जस्तैः बदेनी, पातर, रण्डी, वेश्या, रखेल जस्ता शब्दहरू तथा प्रक्रियाहरू उपन्यासमा प्रयोग भएको छ । जसले समग्र बादी समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने र समाजमा पुनः अपमानित भई जीवन जिउन बाध्य हुने अवस्था देखिन्छ।

यसै गरी, सांग्रिला पब्लिकेसनद्वारा प्रकाशित विवेक ओझा लिखित ‘ऐलानी’ उपन्यासमा बादी समुदायका महिलाहरूको शरीर ऐलानी जमिन सरह हो भन्ने भाव प्रकट भएको देखिन्छ । उक्त उपन्यास ऐलानीमा पनि बदेनी, पातर, रण्डी, वेश्या, रखेल जस्ता शब्द प्रयोग भएको र एउटा बादी महिलाको जीवनलाई ऐलानी जमिनसँग जोडी जसले पनि उपभोग गर्ने, प्रयोग गर्ने जस्तो गलत प्रक्रिया प्रस्तुत गरिएको छ । समाजमा आत्मसम्मानमा ठेस लाग्ने र जसको नकारात्मक प्रभावले यस समुदायका महिलाको अस्मितामाथि आँच पुग्न गई भावी पिँढीमा नकारात्मक मनोसामाजिक असर पर्ने देखिन्छ।

दुई उपन्यास र चलचित्रका कारण बादी समुदायका बालबालिकाहरू विद्यालय–क्याम्पसहरूमा अपमानित भइरहेका छन् । बादी समुदायका बालिकाहरूको नाकमा हेरेर नथुनी लगाएको छ कि छैन, यसको त नथुनी खोलेको रहेनछ जस्ता अपमानित शब्द सुनाउन थालिएको छ । बादी महिलाको शरीर त ऐलानी जस्तै हो भन्दै जिस्काउन थालिएको छ।  

देशका विभिन्न चलचित्र हलमा एक साथ प्रदर्शनमा रहेको थमनकुमार भण्डारीद्वारा निर्माण गरिएको ‘पण्डित बाजेको लौरी’ नामक चलचित्रको कथावस्तु एउटा बादी परिवारमा आधारित छ । यसमा उल्लिखित केही शब्दहरू, अनि प्रक्रिया जस्तैः कान्छा बादीको भूमिकामा रहेका पात्र माछा मार्ने र मादल बनाउने मात्र नभई आफ्नै श्रीमतीलाई यौन पेसामा लगाउने, ग्राहक आफैँले खाज्ने र त्यसको कमाइबाट जीविकोपार्जन गर्ने गरिएको देखाइएको छ । जुन अपमानजनक छ र श्रीमान्बाट कहिल्यै पनि त्यस प्रकारका व्यवहार, क्रियाकलाप कहीँकतै र कहिल्यै पनि भएको छैन, त्यसै गरी कान्छा बादीकी श्रीमतीका रूपमा रहेकी मन्दिरा बदेनीको भूमिकामा छिन् । जसबाट विवाहित बादी महिलाले यौन व्यवसाय गरेको देखाइएको छ । जुन कुरा कहीँकतै र कहिल्यै पनि नभएकाले बादी महिलाको अस्मितामाथि ठूलो आँच पुगेको छ । यस चलचित्रमा बादी बदेनी जस्ता अपशब्द पटक पटक प्रयोग भएको छ । यस चलचित्रले बादी समुदायमा लागेको कलंक, लान्छना र भेदभावलाई झन्झन् बढावा दिई समाजमा नकारात्मक प्रभाव पारेको छ । साथै, भविष्यमा यसले ठूलो रूप लिने सम्भावना देखिन्छ र यस समुदायका महिला पुरुष पुनः लान्छना र भेदभावमा पर्ने र समाजमा उत्साहित भई रचनात्मक कार्य गर्नबाट वञ्चित हुने सम्भावना देखिन्छ।

कानुनी अवस्था
नेपालको वर्तमान संविधानले सामाजिक न्यायको विषयलाई राज्य सञ्चालनको मार्गनिर्देशन तथा नागरिकको मौलिक हकका रूपमा स्वीकार गर्दै आर्थिक समानता, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने विषयलाई संविधानको प्रस्तावनामै उल्लेख गरेको छ । संविधानको धारा ४२ मा समाजिक न्यायको हकअन्तर्गत समाजिकरूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु आदिलाई समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था गरिएको छ । संविधानले उल्लिखित छुवाछूत तथा भेदभावविरुद्धको हक, महिलाको हक, दलितको हक, बालबालिकाको हक, जेष्ठ नागरिकको हक, सामाजिक सुरक्षाको हकजस्ता मौलिक हक सामाजिक न्याय स्थापना गर्ने दिशामा निकै महत्वपूर्ण छन् । वास्तवमा समाजमा रहेको आर्थिक तथा सामाजिक असमानता हटाएर विभिन्न जाति, सम्प्रदाय, वर्ग तथा समुदायबीच सामञ्जस्य स्थापना गरी न्याय र नैतिकतामा आधारित स्वस्थ समाज स्थापना गर्ने प्रक्रिया हो, समाजिक न्याय । यसरी हेर्दा बादी समुदायमा बनेका चलचित्र र उपन्यासले बादी समुदायलाई सामाजिक न्याय दिएका छन् त ? यी विषयमा संलग्न व्यक्तिहरूले सामाजिक न्यायको सिद्धान्त बुझेका हुन् त ? होइन भने सामाजिक न्याय र आत्मसम्मानका लागि माथि उल्लिखित उपन्यास र चलचित्रलाई सामाजिक न्यायको सिद्धान्तअनुरूप कानुनी उपचार गर्न अवश्यक देखिन्छ कि देखिँदैन ? साथै, नेपाल सरकारबाट बादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरू भाँड, बदेनी, पातर, रण्डी, वेश्या आदि  शब्दहरूको प्रयोगमा रोक लगाएको अवस्था छ भने जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को भाग ४(१२) मा कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह-याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको अवस्था रहेको छ । साथै, नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यमा भएका व्यवस्थाहरू धारा १६(१), १७ २ च (१), १८(१¬), १९(१,२,३) यसरी संवैधानिक र कानुनी व्यवस्थालाई बेवास्ता गरी विगतमा भएको यस समुदायका केही परिवारमा देखिएको यौन पेसालाई आधार बनाई केही निर्माता, निर्देशक, साहित्यकार, लेखकहरूले चलचित्र बनाउने, विभिन्न कथा उपन्यास लेखी पुनः बादी जातिप्रति लान्छना, भेदभाव र शोषण गरेको पाइएको छ।

बादी समुदायमा पारेको प्रभाव
लामो समयदेखि बादी समुदायप्रति हेर्ने दृष्टिमा नै फरक नआइरहेको अवस्थामा यी दुई उपन्यास र चलचित्रका कारण बादी समुदायका बालबालिकाहरू विद्यालय–क्याम्पसहरूमा अपमानित हुँदा छन् । बादी समुदायका बालिकाहरूको नाकमा हेरेर नथुनी लगाएको छ कि छैन, यसको त नथुनी खोलेको रहेनछ जस्ता शब्दहरू सार्वजनिक ठाउँमा नै प्रयोग गर्न थालिएको छ । त्यसैगरी बादी महिलाको शरीर त ऐलानी जस्तै हो भन्छन् भन्दै जिस्काउन थालेको देखिन्छ । गाउँसहर जहाँ पनि बादी समुदायका व्यक्तिहरूलाई लौरीका रूपमा चित्रण गर्न थालिएको छ । प्रत्यक्ष र परोक्षरूपमा साथीहरूसँग कुरा गरेको बहाना गरी पण्डित बाजेको लौरी कस्तो लाग्यो भनी मानसिक पीडा दिन थालेको देखिएको छ।

अन्त्यमा,
यसप्रकार विभिन्न चलचित्र, कथा, उपन्यास लेख प्रदर्शन, प्रकाशन गरी समग्र बादी समुदायलाई प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारी विभेद, लान्छना, शोषण सामाजिक अपराध गरेको पाइएकाले यस समुदाय विपरीत हुने कार्य घोर भत्र्सनालायक छ । साथै, यस किसिमको जघन्य सामाजिक अपराधपूर्ण कार्यमा सम्बन्धित निकायको ध्यान पुग्न पनि आवश्यक देखिन्छ किनकि छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को १४(ग) मा स्पष्टसँग कसैको चरित्र हत्या वा अपमान हुने वा लैंगिक हिंसा वा विभेदलाई बढावा दिने(घ) विभिन्न जात जाति, धर्म, वर्ग, क्षेत्र, सम्प्रदायका मानिसहरूको बीच वैमनस्य उत्पन्न गर्ने तथा साम्प्रादायिक दुर्भावना फैलाउने, र (ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने प्रकाशनमा प्रतिबन्ध गर्ने व्यवस्था रहेको हुँदा प्रकाशन गृहहरूले पनि यथाशीघ्र बन्द गर्न आवश्यक छ । साथै, प्रकाशन गृहबाट पनि यस्ता खाले जातिको आत्मसम्मानमा ठेस लाग्ने सामग्री प्रकाशन गर्दा ध्यान नपुगेको देखिन्छ।

चलचित्र निर्माता थमनकुमार भण्डारीले यस जातिको संवेदनशीलतालाई हेरी फिल्म प्रदर्शन यथाशीघ्र स्थगित गर्न“पर्छ । नथिया लेखक सरस्वती प्रतीक्षा तथा ऐलानी लेखक विवेक ओझाले उपन्यासमा उल्लेख भएका बादी समुदायलाई प्रत्यक्ष ठेस पुग्ने शब्द यथाशीघ्र संशोधनसहित आत्मालोचना गर्नुपर्छ । उहाँहरूले बादी समुदायले जनाइरहेका आपत्ति, असहमति, असन्तुष्टिलाई ‘कोद्वारा परिचाालित हुनुहुन्छ’ भनेर उल्टै बेवास्ता गर्नुभएको छ, यसरी गरिरहनुहुन्छ भने स्थिति धेरै अगाडि पुग्नेछ । कारबाही र सजायका कुरा हामी अज्ञानी बादी समुदायले यहाँहरूजस्तो महान् ज्ञानी व्यक्तित्वहरूलाई के सम्झाइरहनु र!

लेखक–प्रकाशक, निर्देशक–निर्माताज्यू ! बादी समुदायको संघर्ष र बादी अध्ययन कार्यदलको सिफारिसमा नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषणलाई २०६५ पुस २३ गतेका दिन अन्त्य भएको घोषणा गरेको छ र सोही दिनदेखि बादी समुदाय यौन शोषणरहित समुदायका रूपमा प्रतिस्थापन भएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad