coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कनकाईले बहाब परिवर्तन गर्दा ११ परिवार विस्थापित

झापा-लगातारको कटानले कनकाई नदी पश्चिमतिर मोडिँदा झापा शिवसताक्षी–८ का ११ घरपरिवार विस्थापित भएका छन्। कनकाईको कटानले अरु सयौं सर्वसाधारणको उठिबास हुने जोखिम उच्च रहेको बेला स्थानीयको सयौं विघा धानखेत कटानमा परिसकेको छ।

केही दिनयता मेचीका पहाडी जिल्लाहरु तथा झापाकै पनि उत्तरी क्षेत्रमा भइरहेको लगातारको वर्षाले जिल्लाका अधिकांश खोलानालामा पानीको सतह बढेको छ । खोलामा पानीको सतह बढ्दै जाँदा कनकाईले सबैभन्दा ठूलो क्षति गरिरहेको छ । ‘खोला बढेर आउँदा पनि जमिन कटान ज्यादै हुँदोरहेछ’, स्थानीय तिलबहादुर कटुवालले भने ‘पानी घट्दै जाँदा पनि कटान चाहिँ उही दरमा हुँदोरहेछ । यही दुई चार दिनमै पनि पचास विघाभन्दा बढी धान खेत हेर्दाहेर्दै बगर बनिसकेको छ ।’ खोलामा बाढी आउने मुख्य समयमा विस्थापनमा पर्नबाट जोगिएकाहरु मनसुन सकिने बेलाको बाढीका कारण थातथलो गुमाउन बाध्य भएका छन्।

यसपटकको बर्खाको शुरुआतदेखि नै शिवसताक्षी नगरको कनकाई तटीय क्षेत्रमा कटान ज्यादै बढेको थियो। मध्यबर्खामा चिल्लागढ धाम बगाउने खतरा थोरैले मात्रै टरेको थियो । केही दिनयताको झरीले खोला बढेपछि चिल्लागढ पोखरीभन्दा उत्तर –दक्षिणको क्षेत्रमा कटान झन् तीव्र भएको हो। शिवसताक्षी–८ स्थित चिल्लागढडधामदेखि  १ सय मिटर दक्षिणमा रहेको  बस्तीमा रहेका ११ परिवार्र  विस्थापित भएका हुन्।  स्थानीयबासी श्रीप्रसाद थाङ्गम्वा, राजन थाङ्गम्वा,  रोशन खरेल, मित्रलाल खरेल, विष्णुप्रसाद खरेल, डम्बर रिजाल, छविलाल पौडेल, तुलसी तिमिल्सना, धर्मानन्द रिजाल, विष्णु रिजाल, योगमाया खरेल लगायतको  परिवार विस्थापित भएको हो । उनीहरुमध्ये धेरैको घरको आँगनमै खोला आइपुगेको छ । यसअघि नै कनकाई पुल उत्तरको बस्तीमा चार वटा घर खोलाले बगाइसकेको छ।

केही महिना अघि मात्रै जिल्ला विकास समितिले १० लाख रुपैयाँ खर्चेर खोला सोझ्याउने र अस्थायी बाँध निर्माण गर्ने काम गरेको थियो । तर, निरन्तरको नदी कटानले त्यो पनि व्यर्थ भएको छ । कटान जारी रहेका कारण शिवसताक्षी–८ का थप १५ घर र वडा नम्बर ९ का ३३ घर उच्च जोखिममा परेको स्थानीयबासीले बताएका छन् । ‘यही दरमा कटान जारी रहने हो भने आजभोलि नै थप ५० घर विस्थापनमा पर्ने निश्चित छ’, तिलबहादुर कटुवालले भने ‘व्यक्तिगत घरसहित कनकाई किनारमा रहेका धेरै मन्दिरहरु पनि जोखिममा परेका छन् ।’

चाडपर्व नजिकिँदै गरेको र धान भित्र्याउने समय पनि नजिकै आइरहेका बेला खोलाले धमाधम खेत कटान गर्दा सर्वसाधारण ठूलो आहतमा छन् । ‘अबको महिना दिनपछि धान पाक्न शुरु हुन्थ्यो’,  विस्थापनमा परेका श्रीप्रसाद थाङ्गम्वाले भने ‘चाडपर्व पनि आइरहेको बेला घर छाड्नु पर्यो, धानखेत पनि सबे बगर भयो। अब विजोग हुनेभयो ।’ 

 

 

प्रकाशित: २७ भाद्र २०७३ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App