८ वैशाख २०८१ शनिबार
समाज

सिक्टामाथि छानविन गर्न गाउँपालिकाको माग

नेपालगन्ज– राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना ‘नाजुक’ अवस्थामा रहेको भन्दै गुणस्तर छानविन गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग माग गरेको छ। राप्तीसोनारी–२ स्थित अगैयामा हेडवर्क्स रहेको उक्त आयोजनाको पश्चिम(दायाँ) मुल नहर वडा नम्बर २, ८ र ९ हुँदै निर्माण गरिएको छ।
 
गाउँपालिकाको बुधबार सम्पन्न गाउँकार्यपालिका बैठकले राज्यको अर्वौ रुपैयाँ लगानी लागेको आयोजनाको पश्चिम मुल नहर पटक–पटक भत्किने गरेको र सोही नहरका कारण ३ वटा वडा असुरक्षित हुन पुगेको भन्दै गुणस्तर छानविन गर्न माग गरिएको अध्यक्ष लाहुराम थारुले जानकारी दिए। ‘सिक्टाको गुणस्तर छानविन गर्न बैठकबाट हामीले माग गरेका छौं,’ उनले भने ‘बैठकको निर्णय संघीय र प्रदेश सरकार समक्ष पठाउने, सिक्टा सिचाई आयोजना कार्याललाई बोद्धार्थको रुपमा जानकारी गराउने निर्णय भएको छ।’ सिक्टाको गुणस्तरका विषयमा उठेको प्रश्नबारे संघीय सरकारले तत्काल अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्ने बैठकमा सहभागी कार्यपालिका सदस्यले जोड दिएका थिए। 

गाउँपालिकाको उक्त बैठक सिक्टा सिचाई आयोजनाकै विषयमा बढी केन्द्रित भएको थियो। बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र वडा नम्बर ९ का अध्यक्ष महाबीर ओलीले सिक्टा सिँचाई आयोजनाको काम र गुणस्तर तथा गाउँबस्तीमा पु-याएको जोखिमबारे जानकारी गराएका थिए। पहिलो पटक परिक्षण गर्ने क्रममा २०७३ असार १४ गते र दोस्रो पटक परीक्षण गर्दा यही साउन ७ गते सिक्टाको पश्चिम मुल नहर भत्किएको थियो। सिक्टामाथि छानविन गर्नुपर्ने माग चौतर्फी रुपमा उठिरहेका बेला गाउँपालिकाले कार्यपालिका बैठकबाट यस्तो निर्णय गरेको हो।  

प्रकाशित: २३ श्रावण २०७५ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App