७ वैशाख २०८१ शुक्रबार
कला

सिनेमा हलमा आगलागी हुँदा ५ करोड क्षति

हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणको प्रयास गरिदै । तस्बिरः नागरिक

मकवानपुर– हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा बुधबार आगलागी हुँदा ५ करोड रुपैयाँ बढीको क्षति भएको छ।आगलागीबाट भवनभित्र रहेका सबै सामग्री जलेर नष्ट भएकाले धेरै क्षति भएको प्रहरीले जनाएको छ। ‘हलभित्र रहेको पर्दा, प्रोजेक्टर, साउण्ड सिस्टम, सिटहरुसहित अन्य सबै सामग्री जलेर नष्ट भएको छ’, वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवम् प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने, ‘फिल्म देखाउने प्रोजेक्टर कक्षमा बिद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।’

आगो निभाउन हेटौंडा उपमहानगरपालिकाको दमकल पर्याप्त नभएपछि  नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको दमकल पनि ल्याईएको थियो। दमकलसहित जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँगै स्थानीय युवाहरुको करिब २ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

हल व्यवस्थापनका अनुसार हलमा बिहानी शो नचलाइने भएकाले मानवीय क्षती भएको छैन्। नेपाली चलचित्र ‘कायरा’ प्रर्दशनरत रहेको हलमा शनिबारमात्र बिहानी शो देखाइने गरिएको थियो। बुधबार बिहान करिब साँढे ९ बजेबाट लागेको आगलागी हेर्न स्थानीयबासीको भिड समेत लागेको थियो।

नयाँ प्रविधिसहितको सिनेमा हल करिब ६ करोड रुपैंया लागतमा २०६७ सालमा निर्माण भएको हल सञ्चालक नरेन्द्र महर्जनले बताए। आगलागीबाट ४ सय सिट क्षमताको हल पूर्ण रुपमा जलेर नष्ट भएकाले भवन समेत प्रयोग गर्न नमिल्ने भएको बताए। हेटौंडामा सिनेमा हल सुरु भएको दुई दशकपछि ओम्याक्स सिनेमा हलले नै पहिलोपटक डिजिटल प्रविधि भित्र्याएकोे थियो।

यसैबीच, नेपाल चलचित्र संघले हेटौंडाको ओम्याक्स सिनेमा हलमा भएको आगलागीप्रति दुःख ब्यक्त गरेको छ। संघका अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी विज्ञप्तीमा हल सञ्चालक एवम् नेपाल चलचित्र संघका उपाध्यक्ष नरेन्द्र महर्जनलाई दुःखको समयमा आफुहरुले साथ दिने उल्लेख गरेका छन्। हेटौंडामा ओम्याक्स र नारायणी मलमा एनएस सिनेमाका २ हल सञ्चालित छन्। 

प्रकाशित: २३ श्रावण २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App