८ वैशाख २०८१ शनिबार
कला

‘फेसन डिजाइनर हैन आर्टिस्ट हुँ’

तस्बिरः कृष्पा श्रेष्ठ

अनु श्रेष्ठ २० वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । क्यालिस्टो फेसन डिजाइनमार्फत आम मानिसलाई आफैँले पेन्टिङ र डिजाइन गरेका कपडाले सन्तुष्ट पारिरहेकी उनी यस क्षेत्रमा अझै राम्रो काम गर्ने सोचमा छिन् । नेपालमा चलिरहेका बुटिकहरु नाम मात्रैका भएकाले आफ्नो कामलाई फेसन स्टुडियोका नामले चिनाउन चाहेको बताउने उनै श्रेष्ठसँग पुष्पा थपलियाले गरेको कुराकानी:

अनुजी, तपाईंले आफ्नो बुटिकलाई बुटिक नभनेर किन फेसन स्टुडियो भन्नु भएको ?

यहाँ मैले आफैँले बनाएका डिजाइनहरु राख्छु र त्यहाँ एउटै खालका पिस मात्रै रहँदैन । त्यसैले यो बुटिक हैन । बुटिक भनेको त थरीथरीका डिजाइन तर पिस एकै खालका हुनुपर्छ । हाम्रो देशमा बुटिक भनिएकाहरु पनि बुटिकजस्ता हुँदैनन् र छैनन् पनि । यहाँ त बुटिकमै पनि बाहिरबाट कपडा ल्याउने अनि ग्राहकको इच्छाअनुसार डिजाइन गरिदिने टेलरिङ सेन्टर जस्तो पो हुन्छ । कतिपयले त रेडिमेट कपडा ल्याएर घटाउन, बढाउन, टाँक हाल्न लगाउनेलाई पनि बुटिक भनिरहेका हुन्छन् । यो गलत हो । 

फेसन स्टुडियो राख्नुको राज त थाहा भयो, क्यालिस्टो भनेको चैं के होला नि ? 

क्यालिस्टो ग्रिक भाषाको एउटा मीठो शब्द हो, जसको अर्थ हुन्छ मोस्ट ब्युटिफुल अर्थात् अति सुन्दर । मैले फेसन स्टुडियोको योजना त बनाएँ तर नाम के राख्ने भनेर धेरै सोचेँ । सुरुमा गुरुजीलाई हेराउँदा क बाट सुरु हुने शब्द आउनुप-यो भन्ने भयो । क बाट आउने शब्द धेरै खोजेँ, फेरि शब्द खोजेर मात्रै भएन, त्यसको अर्थ पनि राम्रो र काम सुहाउँदो आउनुप-यो । त्यही खोज्ने क्रममा ग्रिक शब्द क्यालिष्ट्रो फेला प-यो, नाम पनि क्याच्ची, अर्थ पनि आउने । अनि यही नाम राखेँ । अब भविष्यमा यसैलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउँछु भनेर लागिसकेपछि नाम पनि त राम्रै खोज्नुप-यो नि हैन ।

ब्रान्ड नै बनाउने योजना भएपछि त, यसका विशेषता पनि झल्किनुप-यो, कस्ता खालका कपडामा यसले फोकस गर्छ त ?

खासमा म पहिले पातली थिएँ, कपडाको केही समस्या पर्दैनथ्यो । जहाँ गए पनि फिट हुने कपडा पाइहाल्थेँ । तर बिस्तारै म मोटाउँदै गएँ, त्यो समयमा रियलाइज गरेँ कि मोटो मानिसलाई कपडा छान्न कति गाह्रो हुने रहेछ । कतै मन नपर्ने, कतै फिट नहुने । त्यसैलाई मध्यनजर गरेर मैले मोटी महिलालाई फोकस गरेर कपडा बनाउने गरेकी छु । यहाँ सिल्कका कपडा बनाइन्छ, त्यो पनि ठूला साइजका । जसले मोटी महिलालाई पनि दुब्ली देखाइदिन्छ र कन्फर्टेबल फिल गराउँछ । कन्फर्टेबल फिल भएपछि कन्फिडेन्ट पनि बढ्ने भैहाल्यो । 

यी त भए नाम र कामका कुरा । तपाईंको विचारमा फेसन भनेको चैं के हो नि ?

मलाई त फेसन भनेको कला जस्तो लाग्छ । किनभने यसले तपार्इंको व्यक्तित्व झल्काउँछ । अनि त्यही व्यक्तित्व देखेर तपार्इं कस्तो मानिस हो भनेर अरू मानिसलाई जर्ज गर्न पनि सजिलो हुन्छ । त्यसैगरी फेसन गर्नका लागि सोच्नुपर्छ, मिहिनेत गर्नुपर्छ । मेरै कुरा गर्ने हो भने पनि म, फेसनेवल कपडा बनाउनकै लागि भनेर कपडामा पेन्टिङ गर्छु । आफ्नै हातले थरीथरीका चित्र कोर्छु, त्यसैले म आफूलाई फेसन डिजाइनरभन्दा आर्टिष्ट मान्छु । 

ओहो तपाईं आफैँ कपडामा पेन्टिङ गर्नुहुन्छ ?

हजुर । मेरो स्टुडियोमा जति पनि कपडाहरु बनेका छन्, तिनमा म आफै रंग र ब्रस लिएर पेन्ट गर्छु । खासमा म कपडा मात्रै बाहिरबाट ल्याउने हो, बाँकी काम सबै यहीँ हुन्छ । ७० प्रतिशत विदेशबाट र ३० प्रतिशत नेपालकै सिल्क प्रयोग गरेर कपडा बनाउने काम हुन्छ । बाहिरबाट ल्याउने भनेको चैं सेता कपडा हुन् । सेता कपडा ल्यायो, आफैँले पेन्ट गरेर जस्तो बनाउन मन लाग्यो त्यस्तै बनायो । 

यो पेन्टिङको काम चैं कसरी सिक्नुभयो नि ?

मैले फेसन र पेन्टिङसम्बन्धी पढाइ भारतबाट सकेकी हुँ । पढाइले मात्रै त पूरा भएन मेरो सिकाइ, अब यसैमा चासो भएपछि मैले नेपालमै र नेपाल बाहिर पनि यससम्बन्धी तालिमहरु थुप्रै लिएको छु । सबै खालका तालिम र पढाइले यत्तिको कन्फिडेन्ट आएको छ, अझै सिकिरहेको पनि छु, हेरौं यो सिलसिला कहाँसम्म चल्छ । 

तपाईंको आफ्नो फेसनको राज चैं के हो नि ?

त्यही त हो, स्टाइलिष्ट हुनुप-यो, अनि कम्फर्टेबल पनि । यो कुरा कपडाको गुणस्तरमा, डिजाइनमा सबै कुरामा लागू हुन्छ । त्यही भएर म आफूलाई कन्फर्टेबल फिल होस् भनेर सिल्कका कपडा नै बढी प्रयोग गर्छु । 

नेपालमा कस्तो फेसन चलेको छ त आजकाल ? विशेष गरेर महिलामा चलेको फेसनबारे बताइदिनुस् न ?

अब ठाउँ हेरेर फेसन गरिरहेका हुन्छन् । ट्रेन्डकै कुरा गर्ने हो भने क्याजुअलमा हिजोआज टीनएजर्सहरुमा एङ्कल लेन्थ भएको पेन्ट, लङ आउटर, लङ कुर्ता, स्टेट पेन्ट, टि–सर्ट पेन्ट नै चलेको छ । पार्टी ड्रेसमा आउटर प्लस लेहेंगा, लङ चोली, साटनको साडी लगायतको छ । जो हल्का लगाउन चाहन्छन् उनीहरुको रोजाइमा साटनको साडी हो, नत्र हेभी लगाउनेका लागि भरेका लेहेङ्गा र भरेका साडीहरु नै हुन् । एज वाइज हेर्ने हो भने, प्लस टु पढ्ने केटाकेटीहरु कोरियन डे«स रुचाउँछन् । ठूलो साइजको कपडा पनि उनीहरुले मिलाएर लगाएको देख्दा म त दंग पर्छु । ओभर साइजको ड्रेस भए पनि सानो बेल्ट मिलाएर बाँधिदिँदा राम्रो देखिन्छ, फेसन भनेको पनि त्यही हो, हामी सामान्य कपडालाई पनि स्टाइलिष्ट तरिकाले लगाउन, प्रिजेन्ट गर्न सक्छौं । 

अनि पुरुषहरुको फेसन चैं कस्तो छ नि ? 

उनीहरु पनि फेसनेबल छन् । तर म भने पुरुषको फेसनभन्दा महिलाको फेसनमा बढी ध्यान राख्छु । त्यसैले पुरुषको फेसनमा म अलि अपडेट छैन भनौं । 

तपार्इंकोमा आउने ग्राहकमा चैं कत्तिको फेसन सेन्स पाउनुभएको छ नि ?

अब कस्तो मानिसलाई फेसन सेन्स भएको र कस्तोलाई नभएको भनेर भन्नेमै म क्लियर छैन । मेरोमा आउने ग्राहकहरु ट्रन्ड फलो नगर्नेहरु हुन्छन् । उनीहरुलाई कम्फर्टेबल हुने, सजिलो लाग्ने ड्रेसहरु किन्नका लागि, तिनीहरुबारे बुझ्न आउँछन् मेरोमा ग्राहकहरु । एकपटक आउँछन्, त्यसपछि बारम्बार क्यालिष्ट्रोलाई नै खोज्छन् । म त यसैलाई फेसन सेन्स भन्छु । 

नेपालमा आयोजना हुने फेसन सो हरुमा त पक्कै जानुहुन्छ, कस्तो लाग्छन् ती सोहरु ?

धेरैमा त गएको छैन, तर केहीमा जान्छु । मैले निकै सम्मान गर्ने मानिसले बोलाएको फेसन सो म छुटाउँदिन र कसैले विशेष निम्तो दिएका छन् भने पनि जान्छु । मैले अहिलेसम्म सहभागिता जनाएको फेसन सोका बारेमा कुरा गर्ने हो भने त यसको स्तर निकै माथि पुगिसकेको छ । मोडल, मेकअपलगायत सबैको कम्बिनेसन मिलाउन सक्ने आर्टिष्टहरु बनिसकेकाले होला निकै राम्रा लाग्छन् मलाई त । 

अनि फेसन सोमा प्रस्तुत हुने डिजाइनबारे चैं कस्तो धारणा छ नि तपाईंको ?

मैले अघि पनि भने, राम्रा हुँदै गएका छन् । पढेलेखेका डिजाइनरहरु यो मार्केटमा आउन थालेका छन् । उनीहरु आफ्नो रुचि पूरा गर्न यस क्षेत्रमा आएका छन् र करियरप्रति सिरियस पनि छन् । त्यसैले यसको गुणस्तर बढिरहेको जस्तो लाग्छ । 

फेसन सो छाडेर फेरि तपाईंतिरै फर्कौं । मनपर्ने ब्रान्डहरु के–के हुन् र किन ?

मलाई केही ब्रान्डहरु मन पर्छन् । विदेशी ब्रान्डको नाम म भन्न रुचाउँदिन, स्वदेशी सामानलाई अगाडि बढाउनुपर्छ भन्ने चैं मेरो मान्यता रहेको छ । फेरि यही भनेर म कम गुणस्तरका तर नेपालमा बनेका भनेर प्रयोग गर्नेवाला भने छैन । त्यही भएर मलाई केही विदेशी ब्रान्ड मनपर्छ । यसरी ब्रान्ड मन पराउनुका पनि केही कारण छन् । जस्तो कि मेरो टाइम सेडुअल एकदमै टाइट छ, म कपडा छानेर, ट्रायल रुममा गएर फिट छ छैन चेक गर्न भ्याउँदिन । त्यसैले ब्रान्ड भएपछि त्यसको साइज थाहा हुन्छ, गयो, हे-यो, मन परेको उठायो । फेरि म ब्रान्ड भनेर जस्तो ब्रान्डको पनि पछाडि हिन्दिन । त्यो ब्रान्ड म किन प्रयोग गर्दैछु, कसरी सुरु भएको थियो, विशेषता के हो सबै बुझेर मात्रै प्रयोग गर्छु । यसरी बुझ्नाले आफूले कस्तो किसिमको फेसन प्रयोग गरिरहेको छु भन्ने जान्न धेरै मद्दत गर्छ । 

कतिपय हुन्छन्, जो ब्रान्डकै पछि हिँडिरहेका हुन्छन् तर म ब्रान्डको पछि लाग्दिन भन्छन्, के भन्नुहुन्छ, त्यस्तो सोच्ने मानिसलाई ?

त्यो जसले त्यसो भन्छ उनीहरुकै व्यक्तिगत कुरा हो । फेरि मैले मेरो कुरा गरेकी हुँ सबैको हैन । यदि समय छ, चाहेको बेला सपिङका लागि चाहेकै ठाउँ जान सक्नुहुन्छ भने यो त्यति ठूलो डिल हैन । ब्रान्डको पछि लाग्दिन भन्नुहुन्छ भने पनि राम्रै हो । अझै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले त सधैँ कालो पेन्ट र सेतो सर्ट मात्रै लगाउनुहुन्थ्यो रे, समय बचाउनका लागि । तपाईं पनि एकपटक एकै प्रकारका ड्रेस लगाएर ट्राइ गर्नुस्, कति धेरै समय बच्छ । के लगाउँ भनेर सोचिरहन पनि परेन, सट्ट निकाल्यो, लगायो अनि हिँड्यो । 

फेसनकै लागि भनेर कति खर्च गर्नुहुन्छ नि ?

हिसाबै राख्दिन । म जहाँ जान्छु, मन परेका कुरा देखे टिपिहाल्छु । यसका लागि कहिले धेरै खर्च हुन्छ, कहिले थोरै । यति नै खर्च गर्छु भन्ने नै छैन । त्यही भएर म अनलिमिटेड खर्च गर्छु फेसनमा । 

फेसनका ब्लगहरु, साइटहरु पनि हेर्नुहुन्छ कि ?

यस क्षेत्रमा अपडेट हुनका लागि फेसन ब्लगहरु नै हेर्नुपर्छ, पढ्नुपर्छ भन्ने छैन । अझ भन्ने हो भने मसँग देशमा के कस्तो घटना घटिरहेका छन् भनेर हेर्ने फुर्सद त छैन, झनै फेसन ब्लग हेर्ने फुर्सद कसरी पाउनु । तर युट्यूबमा भने म रोयल फेसनहरु हेरिरहन्छु । भर्खरै पनि मैले एक रोयल वेडिङ, जुन डेढ घण्टा जत्तिको थियो होला, पूरै हेरेँ । फेरि म त्यस्तो फेसनका ट्रेन्ड फलो गर्ने मानिस पनि हैन, त्यसैले फेसन ब्लगको त्यति जरुरत पर्दैन । 

तपाईंलाई मनपर्ने कलर ?

सेतो, रातो र कालो । यी तीन कलर मलाई एकदमै मन पर्छ । यसका कारण छन्, सेतो कलरले हाम्रो दिमागलाई शान्त राख्छ, तपाईं सधैं आफूलाई फ्रेस महसुस गर्न सक्नुहुन्छ । रातो हाम्रो संस्कृतिमा नभई नहुने कलर हो । तपाईं बिहेमा जानुस्, कुनै पार्टीमा जानुस्, केही चाडपर्व मनाउनुस् रातो कलर नै हो लगाउने । अनि कालो कलरले चैं, मानिसलाई अलि दुब्लो देखाउँछ । 

मनपर्ने ड्रेस ?

क्याजुअल मलाई सजिलो खालको चाहिन्छ । त्यही भएर लुज टाउजर र टप लगाउन मन पराउँछु । अफिसियलमा सट, पेन्ट वा कुर्ता सुरुवाल । अनि पार्टी वेयरमा चैं अलवेज साडी नै लगाउँछु । 

सपिङ गर्न कत्तिको मनपर्छ नि ?

सपिङ भनेको एक प्रकारको थेरापी हो जस्तो लाग्छ । जसले गर्दा हामीलाई निकै आनन्द आउँछ । हामी खुसी हुन्छौं, हाँस्छौं यसले हाम्रो स्वास्थ्य पनि राम्रो बन्छ । त्यही भएर खुसी हुन त सबैलाई मन पर्छ, मलाई पनि मनपर्छ । 

विदेशमा चैं सपिङ गर्नुहुन्न ?

विदेश गएको बेला, सपिङकै लागि समय छुट्याउन भने सक्दिन, किनभने एकदमै व्यस्त सेडुअल हुन्छ । तर थोरै समय भएका बेला सपिङका लागि निस्किएँ भने मलाई त्यस देशका सांस्कृतिक कुराहरु किन्न मन लाग्छ । जुन देशमा जान्छु, त्यहाँका कल्चर, ट्रेडिसन झल्किने खालका सामान किनेर ल्याउँछु । अहिले त यसको कलेक्सन पनि कति धेरै भैसक्यो । यहीँ अफिसमै पनि जताततै तिनै सामानहरु छन् । 

एक्लै सपिङ गर्नुहुन्छ कि परिवारको साथमा ?

फुर्सद भए परिवारको साथमा नत्र एक्लै । अर्को कुरो सपिङ विनायोजना गरिन्छ । मिलेसम्म चैं, साथीहरुसँग सपिङ गर्न, घुम्न मनपर्छ । 

प्रकाशित: २३ श्रावण २०७५ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App