coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आततायी हत्या

राजधानी काठमाडौंमा दिनानुदिन कुनै न कुनै आपराधिक घटना हुँदै आएका छन् । यो स्थिति राजधानीबाहिर झनै भयावह किसिमले बिग्रिएको छ । एकातिर, काठमाडौं खाल्डोमा बसोबास गर्ने जनसंख्या बढिरहेको छ । अर्कोतिर, शान्तिसुरक्षाका आधारभूत पक्षमा ध्यान नदिँदा बालबालिका र शारीरिक रूपमा कमजोर व्यक्ति आपराधिक व्यक्तिको तारो बन्दै आएका छन्।

बालबालिकाको अपहरण नियमित आकस्मिकता जस्तो भइरहेको छ । अपहरणपछि हत्याका घटना पनि दोहोरिइरहेका छन् । बालिका र महिलामाथिको जघन्य बलात्कारका घटना हामीकहाँ नौला हुन छाडेका छन् । हरेक दिनजस्तो बलात्कार र त्यसपछि हत्या गरिएका खबर सार्वजनिक भइरहेका हुन्छन् । यो स्थिति आउनुको कारणबारे गहिरो सोच आवश्यक छ।

समाजमा आपराधिक वृत्ति र प्रवृत्तिको विकास किन भइरहेको छ ? अपराध कर्म गर्न मानिस किन डराउँदैन ? यसतर्फ मानिसलाई आकर्षित गर्ने तत्व के हो ? यस्ता किसिमका आपराधिक चिन्तन र त्यसको निराकरण गर्नुपर्ने बेला भइसकेको छ । प्रायः बालबालिकालाई कुनै अपरिचित व्यक्तिले विभिन्न प्रलोभन दिई निकटता कायम गर्ने गरेको देखिन्छ । बालबालिकासँग निकट भई तिनैलाई अपहरण गरी बाबुआमासँग फिरौती माग्ने गरेका घटना दोहोरिइरहेका छन् । एउटा घटनालाई प्रहरीले सुल्झाउन पाएको हुँदैन फेरि अर्को घटना भइसक्छ । आफ्ना नानीहरू यस्ता आततायीबाट जोगाउन अभिभावकमा विशेष सतर्कता चाहिन्छ। 

अपहरण र हत्याका घटना हामीकहाँ नियमितजस्तो भइरहेका छन् । समाजमा बेरोजगारीले मात्र यस्ता घटना भइरहेका छैनन् । नैतिक मूल्यको ह्रास यस्ता घटनाको मुख्य कारण हो । दण्डहीनताले पनि धेरै व्यक्तिलाई अपराध कर्मतर्फ आकर्षित गरेको छ।

राजधानीको काँडाघारीमा बालक निसान खड्काको अपहरणपछि हत्या भएको घटनाले फेरि पहिलेका यस्तै घटनाको सम्झना भएको छ । त्यही अपहरणमा जोडिएका नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका अजय तामाङको प्रहरी ‘इन्काउन्टर’ भएको छ । यो घटनाको यथार्थ अझै सार्वजनिक भइसकेको छैन । बालक निसानको अपहरण र हत्या जघन्य अपराध हो । यही प्रकृतिका घटना फेरि हुन नदिन प्रहरी थप सक्रिय र सतर्क हुनैपर्छ।

अपहरणमा परेका बालकको मुक्तिका निम्ति प्रहरीले देखाएको सक्रियता प्रशंसनीय हुँदाहुँदै पनि यस्ता घटनाका आरोपितलाई जिउँदै पक्रन सफल भए यथार्थ पत्ता लगाउन सहज हुन्छ र अपराधको गहिराइसम्म पुग्न सकिन्छ । अपहरणकारीलाई सजिलै गिरफ्तार गर्न नसक्ने स्थितिमा घुँडामुनि गोली हानेर पनि अदालतसमक्ष उपस्थित गराउन सकिन्छ । यस्ता गतिविधिमा लागेका व्यक्तिको गिरफ्तारी र तिनका विरुद्धमा कडा कारबाहीले मात्र समाजमा खराब कामविरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ।

आपराधिक प्रकृतिका घटनाले हाम्रो समाजलाई उद्वेलित तुल्याउँछ । जुन सहरमा रातसाँझ हिँड्न सकिन्छ, त्यो सभ्य ठाउँ हो । कुनै आपराधिक घटनाको डर नहुँदा बासिन्दालाई बढी स्वतन्त्रताको अनुभूति दिलाउँँछ । अन्यथा, नागरिकको मनोदशा बिग्रन्छ । हाम्रो मुलुक विदेशबाट आउने पाहुनामा समेत निर्भर छ । पर्यटन उद्योग चलाउन देशको शान्तिसुरक्षाको अवस्था जहिल्यै उम्दा हुनुपर्छ । त्यसले अन्तर्राष्ट्रिय जगत्मा समेत सकारात्मक सन्देश जान्छ । सिंगापुरमा किन धनी र शक्तिशाली मानिस जान चाहन्छन् भने त्यहाँ बढ्ता सुरक्षाको अनुभूति हुन्छ । हाम्रो मुलुकलाई पनि यस्तै सुरक्षा अनुभव गर्न सक्ने बनाउनु आवश्यक छ। 

समाजमा बेरोजगारीले मात्र आपराधिक घटना भइरहेका छैनन् । नैतिक मूल्यको ह्रास यस्ता घटनाको मुख्य कारण हो । दण्डहीनताले पनि धेरै व्यक्तिलाई अपराध कर्मतर्फ आकर्षित गरेको छ । हिंसाको राजनीतिबाट हाम्रो मुलुक बाहिर निस्किएको धेरै भएको छैन । कसैको हत्या गरिहाल्ने मानसिकता हामीकहाँ अलि धेरै नै बढेको अनुभव गर्न सकिन्छ।

परिवारका निकट सदस्यको हत्याका समाचार पनि दिनहुँजसो आइरहन्छन् । पहिले पनि आपराधिक घटना नभएका होइनन् तर अहिले यसको ग्राफ बढेको देखिन्छ । मानिसमा क्रूरता बढ्नुको कारण पनि खोज्नु आवश्यक छ । सजिलै सम्पत्ति कमाउने लोभमा हुने यस्ता अपराध कर्म बेठिक हो भन्ने सन्देश दिन प्रहरी र समाजका अगुवाहरूले भूमिका निर्वाह गर्नु पनि उत्तिकै जरुरी छ । निसानको हत्यासँगै परिवारका सपना चुँडिएका छन्।

बाबु विदेशमा कमाउन गएका छन् । आमा सहरमा बसेर जेनतेन जीवन धान्दैछिन् । सहरमा यस्तो परिस्थितिका परिवार धेरै छन् । वैदेशिक रोजगारीमा गएका धेरै परिवारसँग आज विषम प्रकृतिका घटना जोडिइरहेका छन् । यो दुःखद घटनाबाट पाठ सिक्दै फेरि यस्तो हुन नदिन रोकथाममूलक काममा पनि प्रहरीले भूमिमा निर्वाह गर्नुपर्छ । कुनै अपरिचित वा भर्खरै मात्र चिनेजानेका व्यक्तिसँग नजिकिँदा हुनसक्ने यस्ता घटनाबाट जोगिन सावधानी आवश्यक छ। 

 

प्रकाशित: २३ श्रावण २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App