७ वैशाख २०८१ शुक्रबार
समाज

तामाङ गाउँमा आफ्नै ‘संसद्’

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोभार्खुमा भएको गाउँले भेला ।  तस्बिर : नागरिक

रसुवा – ठूलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा–संस्कृति तथा समग्र जीवनशैली समान छ । सदीयौंदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायनिसाफ गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ।

गत शनिबार ठूलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा (गाउँले भेला) बस्यो । गाउँको ‘संसद्’ भनिने भेलाले कृषि सडक निर्माण, खानेपानी निर्माण, माने नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरेको थियो।

भेलाले आगामी वर्षका लागि चारवटा योजना स्वीकृत गरेको छ । भेलाले गाउँको विकास, धर्म, संस्कृति आदि विषयमा करिब चार घन्टा छलफल गरी चारवटा योजना सर्वसम्मत पारित गरेको अधिवक्ता एवम् तामाङ संस्कृतिसम्बन्धी जानकार फुर्बा तामाङले बताए । तामाङले भने, ‘संसद्मा पेस गरिएको योजना सर्वसम्मत स्वीकृत भयो।’

बैठकमा एउटा पनि मुद्दा नपरेको आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति रसुवाका अध्यक्ष एवम् स्थानीय लाक्पा तामाङले जानकारी दिए । ‘अघिल्लोपटक बैठकमा दुईवटा उजुरी आएको थियो’, उनले भने, ‘लेनदेन र अर्मपर्मसम्बन्धी विवाद मिलाइएको थियो।’

गाउँभेलाले कृषि सडक निर्माण, खानेपानी योजना निर्माण, माने नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरी आगामी वर्षका लागि योजना स्वीकृत गरेको छ।

गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोभार्खु र सानोभार्खुमा ‘गाउँले भेला’ सञ्चालन हुन थालेको ३० वर्ष भयो । त्यसअघि घले राजाहरूले यस्तो भेला राख्थे । घले राजाको शासनकाल सकिएपछि स्थानीय आफैंले प्रथाजनित कानुनलाई निरन्तरता दिएका हुन् । प्रतिनिधिसभाको झल्को दिने गरी उनीहरूले अजेन्डा प्रस्तुत गर्ने, छलफल गर्ने र नीति तथा योजना पारित गर्ने गर्दछन् । त्यसैले अहिले यस्तो भेलालाई गाउँलेले ‘संसद्’ नामकरण गरेका हुन्।

मुद्दामामिला मिलाउन, नीति तथा योजना निर्माण गर्न, चरन क्षेत्र तोक्न र संस्कृतिको जगेर्ना गर्नका लागि चौमासिक रूपमा गाउँसभा आयोजना गरिन्छ।

के हो गाउँले भेला ?
गाउँले भेलालाई तामाङ भाषामा ह्युल छोक्पा भनिन्छ । गाउँमा यस्तो भेला वर्षमा तीनपटक आयोजना हुँदै आएको छ । चौमासिक रूपमा सञ्चालन हुने भेला आवश्यकताअनुसार अगाडि पनि बस्न सक्ने अध्यक्ष तामाङले बताए । ‘हामीले यो परम्परादेखि मान्दै आएका हौं’, उनले भने, ‘भेलामा संसद्मा जस्तै गरी विषयवस्तु प्रस्तुत गरिन्छ ।’ गाउँसभाको अघिल्लो दिन कटुवालले गाउँसभा हुने मिति, स्थान र समयको जानकारी दिने चलन छ।

भेला हुनुपूर्व अजेन्डा तय गरिन्छ । ती अजेन्डा भेलामा प्रस्तुत गरिन्छ । सहभागीले विषयवस्तुमाथि पालैपालो धारणा राख्छन् । अजेन्डा सकेसम्म सर्वसम्मत पारित गरिन्छ । सर्वसम्मत नभए बहुमतले पारित गर्ने व्यवस्था छ । चोहो गेम्बा अर्थात् संयोजकले निर्णय पढेर सुनाएपछि बैठक समापन भएको घोषणा हुन्छ।

तामाङ जातिमा पहिलेदेखि आफ्नै नियम तथा कानुन प्रचलित थियो । सुरुसुरुमा तिथि हेरेर भेला डाकिन्थ्यो तर पछिल्लो समय चौमासिक रूपमा १९ गते बैठक बस्ने गरेको छ । बैठकमा निर्धारित समयभित्रै पुग्नुपर्ने नियम छ । दिउँसो १२ बजेभन्दा ढिलो पुग्नेलाई जरिबाना गरिन्छ । २०४६ सालअघि सानोभार्खु र ठूलोभार्खुमा संयुक्त भेला हुने गरेको थियो । पछि सानो भार्खुमा छुट्टै भेला गर्न थालिएको छ । ठूलोभार्खुमा अहिले ८८ घरधुरी छ । ‘भेलामा प्रत्येक घरका एकजना सदस्य उपस्थित हुन्छन्’, तामाङले भने।

प्रकाशित: २३ श्रावण २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App