coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमा हवाई फायर

तनाव ग्रस्त बनेको चौरजहारी अस्पताल ।   तस्बिर : नागरिक

नेपालगन्ज – रुकुमको चौरजहारी अस्पताल परिसरमा मंगलबार प्रहरीले हवाई फायर गरेको छ । जाजरकोट भेरी नगरपालिका–१३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न एक राउन्ड हवाई फायर र नौ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्न लाग्दा भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहरी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । ‘भीड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गर्नुपरेको हो,’ उनले भने।

मिर्गाैलामा संक्रमण भएपछि चार दिनअघि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी रोकायको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक रोकायका आफन्तले भने चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । छोरीले सुई लगाउन नमान्दानमान्दै स्वास्थ्यकर्मीले जबरजस्ती लगाइदिएको मृतकका बुवा धनबहादुर मल्लले बताए।

‘सुई लगाएको पाँच सेकेन्डमै छोरीको मृत्यु भयो,’ उनले भने, ‘सामान्य बिरामीलाई जटिल खालको सुई लगाइदिए । छोरीले म यो सुई लगाए मर्छु, नलगाइदिनुस् भन्दै थिई । तर स्वास्थ्यकर्मीले हात समाएर लगाइदिए ।’ यशोदाको मिर्गौलामा चिकित्सकले ५ एमएमको पत्थरी देखिएको बताएको धनबहादुरले बताए । चिकित्सकले भने गलत सुई प्रयोग नभएको दाबी गरेका छन् । उनीहरूले यसबारे आफूहरू छानबिन गर्न तयार रहेको र गल्ती भएको पाइएमा कारबाही भोग्न तयार रहेको बताएका छन्।

यशोदाको मृत्युपछि आक्रोशित उनका आफन्तले अस्पतालका सिसा तोडफोड गरेका थिए । त्यसपछि प्रहरी र मृतकका आफन्तबीच झडप भएको थियो । झडपमा प्रहरी जवानहरू टेकबहादुर घर्ती, अनिल परियार, भक्तबहादुर बुढा र शिव देवकोटा घाइते भएका छन् । उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।

दुई पक्षबीच झडप हुँदा नाम दर्ता, सभा हल, वार्ड, सोलार प्यानलमा क्षति पुगेको चौरजहारीका गोपाल रेग्मीले जानकारी दिए । उनका अनुसार मृतकका आफन्त अस्पताल प्रवेश गर्न खोज्दा झडप भएको थियोे । अस्पतालमा तनाव बढेपछि अन्य बिरामी र स्वास्थ्यकर्मी त्रसित बनेको अस्पताल प्रशासन प्रमुख डिलबहादुर गिरीले बताए । ‘हामी असुरक्षित थियौं,’ उनले भने, ‘शान्त वातावरणमा बिरामीको उपचार गर्न पाएनौं।’

बिरामी र अस्पताल सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मृतकका आफन्तले मृत्युका विषयमा सत्यतथ्य छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रकाशित: २३ श्रावण २०७५ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App