८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘टेलिभिजन कार्यक्रममा मोदीको नाम नलिन चेतावनी’

फाइल फाेटाे : एजेन्सी

नयाँ दिल्ली– आफ्ना पूर्व रोजगारदाता एबिपी न्युजले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना नगर्न चेतावनी दिएको पत्रकार पुण्य प्रसुन बाजपाईले बताएका छन् ।आफ्नो ‘प्राइम टाइम सो–मास्टरस्ट्रोक’मा सरकारी नीतिको आलोचना गर्दा प्रधानमन्त्री मोदीलाई उद्धृत नगर्न एबिपीका प्रधानसम्पादक एवं प्रोपाइटरले भनेको पत्रकार बाजपाईले खुलासा गरेका छन्।

 सोमबार ‘द वायर’ मा प्रकाशित उनको लेखमा पत्रकार बाजपाईले आफ्नो टिमलाई समेत मोदीलाई फिचर गरेर तस्बिर तथा भिडियो प्रयोग नगर्न एबिपी न्युजले भन्ने गरेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदी र छत्तीसगढ राज्यकी एक महिलाबीच भएको भिडियो कुराकानीका क्रममा ती महिलालाई उनको आम्दानी राम्रो र दोब्बर भएको भन्ने भुटो दाबी गर्न यातना दिएको भन्ने विवरणसहितको रिपोर्ट मास्टरस्ट्रोकमा प्रसारण भएपछि सरकारका वरिष्ठ मन्त्रीहरुले आलोचना गरका थिए । त्यसपछि पत्रकार बाजपाई र समाचार सम्पादक मिलिन्द खान्देकरले एबिपी न्युजबाट राजीनामा दिएका थिए । एबिपी न्युजबाट राजीनामा दिएपछि पत्रकार बाजपाईको यस्तो आरोप बाहिरिएको हो।

जुलाई महिनामा उक्त रिपोर्ट प्रकाशन गरेपछि सरकारी अधिकारीहरुले यसको असर भोग्नुपर्ने भन्दै चेतावनीयुक्त धम्की दिएको पनि बाजपाईले खुलासा गरेका छन् । सो रिपोर्ट प्रसारण भएलगत्तै एबिपी न्युजको स्याटेलाइट संकेतमा गडबढी आउन थालेको र एबिपीका विज्ञापनदातालाई पनि चेतावनी आउन थालेको बाजपाईको लेखमा दाबी गरिएको छ । एबिपीबाट उनले राजीनामा दिएपछि एबिपीको संकेत पुनस्र्थापना भएको र विज्ञापन फेरि आउन थालेको उनले बताएका छन्।

‘नरेन्द्र मोदीको नाम प्रयोग नगर्न सक्नुहुन्छ? यदि तपाईंलाई इच्छा छ भने उनको मन्त्रीहरुको नाम प्रयोग गर्न सक्नुहुन्छ । सरकारी नीतिमा भएका गलत कार्यको तपाईंले रिपोर्ट बनाउन सक्नुहुन्छ । मन्त्रीका नामसमेत लिन सक्नुहुन्छ तर नरेन्द्र मोदीको नाम उल्लेख नगरिदिनुहोला,’ बाजपाईले एबिपी न्युजका प्रोपाइटरसमेत रहेका प्रधानसम्पादकसँग जुलाई १४ मा भएको दाबी गरिएको वार्तालापलाई उद्धृत गर्दै लेखेका छन्।  

‘तर प्रधानमन्त्री आफैले सबै योजना सार्वजनिक गर्ने गरेका छन् र मन्त्रीहरुले गरेका सबै कार्यसँग सम्बन्धित हुने गरेका छन् । साथै प्रत्येक मन्त्रीले कुनै पनि नयाँ योजना सार्वजनिक गर्दा वा सरकारी नीतिमा प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने गरेका छन् भने कसरी उनको नाम उल्लेख नगर्ने ?’ पत्रकार बाजपाईले प्रधानसम्पादकलाई जवाफ फर्काएको दाबी लेखमा गरेका छन् ।‘केही दिनपछि के हुन्छ हेरौं । तपाईंले राम्रो काम गरिरहनु भएको छ तर अहिलेलाई रोकौं,’ प्रधानसम्पादकले बताएको लेखमा जनाइएको छ ।

 

 

प्रकाशित: २३ श्रावण २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App