१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वाग्मती र बकैयाकाे त्रास

रौतहट – अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।

जिल्लाका विभिन्न पाँच स्थानमा बाढीले कटान तीव्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाको पूर्वी भागमा पर्ने वाग्मती छेउका रौतहटको बडहर्वा तथा सर्लाहीको हजरिया र लालबकैया नदीको पश्चिमी तटमा पर्ने रौतहटका तेजापाकड, मर्यादपुर र लक्ष्मीनियाँमा बाढीले तीव्र कटान गरिरहेको हो।

दुर्गा भगवती गाउँपालिका प्रमुख अरुणकुमार साहले कटानका विषयमा पटक–पटक जानकारी गराए पनि सम्बन्धित निकायले बजेट नभएको जवाफ दिएको बताए । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले कार्यालयसँग बजेट अभाव भए पनि स्थानीय तहसँग समन्वय गरी कटान नियन्त्रणका लागि प्रभावित स्थानहरूमा प्राविधिक टोली खटाइएको बताएका छन्।

तेजापाकड, मर्यादपुर, फतुवा र लक्ष्मीनियाँमा लालबकैया नदीले गरिरहेको कटान नियन्त्रणका लागि २० हजार बोरा र पलास्टिकका जाली पठाइएको उनले जानकारी दिए । देश नयाँ संरचनामा गएकाले नदी नियन्त्रण कार्यालय नै रहने कि नरहने भन्ने अन्योलका कारण बजेट व्यवस्थालगायत कुनै ठोस निर्णय गर्न नसकिएको कार्यालय प्रमुख श्रीवास्तवको भनाइ छ।

परोहा नरपालिकाका स्थानीय शेषजमिल अख्तरले केही दिनदेखि बाढी कटान गर्दै तटबन्ध नजिक आइसकेको बताए । उनका अनुसार कटानको अवस्था हेर्दा बाढी बस्तीमा पस्ने खतरा उच्च देखिएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कटान नियन्त्रणका लागि काम भइरहेको दाबी गरे।

प्रकाशित: २३ श्रावण २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App