७ वैशाख २०८१ शुक्रबार
अर्थ

ऐंसेलुबाट आम्दानी

ऐंसेलु संकलन गर्दै विद्यार्थी ।तस्बिरः भगिश्वर/ नागरिक

तेह्रथुम - जंगली काँडादार फल ऐंसेलु बिक्री गरेर गाउ“का कृषकले एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । दुई महिनाको अवधिमा स्थानीयले जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई बिक्री गरेर उक्त आम्दानी गरेका हुन्।

संखुवासभाको तामाफोक नौ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐंसेलु बिक्री गरेर गाउ“मै करोडौं भित्र्याउने माध्यम बनेको छ । कम्पनीले वाइन् बनाउने कच्चा पदार्थको रुपमा प्रयोग गर्न ऐंसेलु खरिद गरेपछि स्थानीय लाभान्वित भएका हुन् । लालिगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले ऐंसेलु बिक्रीबाट दुई लाख रुपैयाँ बढी आम्दानी गरेको बताए ।

यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटेलागायतका बासिन्दाले ऐंसेलु बिक्री गरेर ५० लाख रुपैयाँभन्दा बढी भित्र्याएका छन् ।उद्योगका सञ्चालक सुजन श्रेष्ठका अनुसार गत वैशाखको दोस्रो साताबाट जंगलमा फलेको ऐंसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक लगायतका बासिन्दाले ४० लाख रुपैयाँभन्दा बढी गाउ“मा भित्र्याएका छन् । ऐंसेलुबाट उद्योगले ‘हिंवा’ ब्रान्डको वाइन उत्पादन गरिरहेको उनले बताए ।

जंगलमा निःशुल्क टिप्न पाइने ऐंसेलु प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐंसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन् । ऐंसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐंसेलुखेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत ललन यादवले बताए।

गाउँलेबाट ऐंसेलु खरीद गरेर उद्योगलाई बिक्री गर्ने बिचौलीयाले समेत दुई महिनाको अवधिमा लाखौं रुपैयाँ कमाएका छन् । यो सिजन १० जना बढी व्यापारी यसमा संलग्न भएको बताइएको छ । उनीहरुले स्थानीयसँग प्रतिकेजी ५० रुपैयाँमा खरीद गरेर उद्योगलाई ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । ऐंसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायत काममा एक सय जनाभन्दा बढी युवायुवतीले रोजगारीसमेत पाएका छन् ।जंगलमा त्यतिकै खेर गइरहेको ऐंसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपियन मुलुकबाटसमेत माग आइरहेको उद्योगले जनाएको छ । तर, जंगली फल ऐंसेलु मौसममा आधारीत हुने भएकाले सधैं एकैनासले उत्पादन हुँदैन । कच्चा पदार्थ उत्पादनमै उतारचढाव भइरहने हुनाले मागअनुसार उत्पादन बजारमा पठाउन नसकिएको सञ्चालक श्रेष्ठको भनाइ छ । ऐंसेलुबाट उद्योगले अहिले वार्षिक एक लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको छ ।

 

 

प्रकाशित: २३ श्रावण २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App