८ वैशाख २०८१ शनिबार
अन्य

माई मम्... माई बेस्ट फ्रेन्ड

भनिन्छ, जस्ती आमा त्यस्तै छोरी । अभिनेत्री आना शर्मा र उनकी आमा रचना गुरुङलाई हेर्दा पनि त्यस्तै लाग्छ । दुवै मनोरञ्जन उद्योगमा सक्रिय छन् । आना फिल्ममा अभिनय गर्छिन्, रचना देशको सबैभन्दा चर्चित सौन्दर्य प्रतियोगिता मिस नेपालको कोरियोग्राफी गर्छिन्, त्यहाँ सहभागीहरुलाई तालिम दिन्छिन्, लाउने–खाने र जीवनलाई ‘मेन्टेन’ गर्ने मामिलामा पोख्त बनाउँछिन् ।

आमाछोरीका धेरै कुरा उस्तै लाग्छन् । आत्मविश्वास उस्तै, कामप्रतिको प्रेम उस्तै । दुवै काम गर्दा संख्याभन्दा पनि स्तरमा विश्वास राख्छन् । फिल्ममा डेब्यू गरेको पाँच वर्ष भइसक्दा पनि आनाले जम्मा तीन वटा फिल्म मात्र खेलेकी छन्। ‘जेरी’ र ‘ग्याङस्टर ब्लूज’ रिलिज भइसक्यो, ‘मेन फ्रम काठमाडौं’ रिलिज हुन बाँकी छ । उनलाई संख्या बढाउन कुनै हतारो छैन बरु चिन्ता छ केवल स्तरीय फिल्म खेल्ने । 

‘म जस्तोसुकै बिजी हुँदा पनि छोरीहरुलाई मेरो आवश्यकता प-यो भने सबै काम छाडेर भए पनि उनीहरुलाई समय दिन सक्छु ।’ 

यस्तै देशमा च्याउसरी सौन्दर्य प्रतियोगिता भइरहँदा पनि रचना ‘मिस नेपाल’को मात्रै कोरियोग्राफी गरिरहेकी छिन् । वडा–वडामा भइरहेका ‘मिस’ र ‘मिसेस’ प्रतियोगितामा उनको कुनै रुचि, चासो र समर्थन छैन । 

दुवैको ‘चुजी’ स्वभाव देख्दा मनोरञ्जन वृत्तमा टिप्पणी पनि हुन्छ, ‘जस्तो रचना, उस्तै आना !’ 

आना–रचना सम्बन्ध

‘म छोरीहरुकी धनी हुँ,’ तीन सन्तान लगातार छोरी नै जन्माएकी रचनालाई कुनै गुनासो छैन, पूरै सन्तुष्ट छिन् । आना (अन्नपूर्ण) उनकी कान्छी छोरी हुन् । अहिल्या र अमाल्या क्रमशः जेठी र माइली छोरीको नाम हो । 

अघिल्लो महिनाको अन्तिम साता ‘नागरिक परिवार’को फोटोसुट गराउन रचनाले आनालाई आफ्नै कारमा चढाएर स्टुडियोसम्म ल्याएकी थिइन् । दुवै खुलेर संवाद गर्थे । दुवै एकअर्काको खुब ख्याल गर्थे । प्रश्नको जवाफ दिने क्रममा आना अड्किइन् भने रचना सपोर्ट गर्थिन् । रचनाले प्रश्न नबुझ्दा आनाले प्रस्ट पार्दिन्थिन् । उनीहरुको व्यवहार देख्दा लाग्थ्यो, उनीहरु आमा–छोरी कम, साथी–साथी ज्यादा हुन् । 

भनिरहनुपर्दैन, सबै आमाका लागि सबै सन्तान उत्तिकै प्रिय हुन्छन्, उत्तिकै विशेष पनि । आमा र छोरी बीचको सम्बन्ध त झन् विशेष हुन्छ । रचना भन्छिन्, ‘ जुन कुरा छोराहरुसँग गर्न सकिन्न त्यो कुरा छोरीहरुसँग गर्न सकिन्छ । मेरा तीन छोरी छन्, तीनै जनासँग मेरो उत्तिकै विशेष सम्बन्ध छ । तीनै जनाको नेचर, क्यारेक्टर, पर्सनालिटी पनि फरक–फरक छ । तर म तीनैजनाको भावनालाई बुझ्ने सामर्थ्य राख्छु, आखिर सबैकी आमा न हुँ  !’ 

फेसन इन्डस्ट्री, सोसल वर्क लगायतका कामले गर्दा रचना निकै व्यस्त हुन्छिन् । तैपनि उनले तीनै जना छोरीलाई समय दिन भ्याएकै छिन्, कसैको मन दुखाएकी छैनन् । ‘म जस्तोसुकै बिजी हुँदा पनि छोरीहरुलाई मेरो आवश्यकता प¥यो भने सबै काम छाडेर भए पनि उनीहरुलाई समय दिन सक्छु ।’ 

आमाको यही स्वभाव आनालाई सबैभन्दा बढी मनपर्ने रहेछ । ‘ममी (आमा)ले हाम्रालागि जति गर्नुहुन्छ, त्यो साँच्चै अमूल्य छ,’ आना भन्छिन्, ‘मलाई थाहा छ कोही पनि सन्तानले आमाले लगाएको गुन तिर्न सक्दैन । तर म सधैँ आमालाई खुसी राख्ने प्रयास गर्छु । धेरै नसके पनि केही न केही दिन सकूँ भन्ने इच्छा राख्छु ।’ 

छोरीहरुप्रति कस्तो व्यवहार गर्नुपर्छ ? त्यसमा रचना पनि प्रस्ट छिन् । उनलाई छोरीहरुसँग आफ्नो कुनै ‘टेरिटोरी’ छ भन्ने लाग्दैन । भन्छिन्, ‘म अल द टाइम उनीहरुको खोजीनिधि गर्दिनँ । आनाले उसको पहिलो फिल्म गर्दा मात्रै १४ वर्षकी थिई । म बिना नै उसले सुटिङ सकी । त्यसपछि काम गर्न सक्ने रहेछ भन्ने विश्वास बढेर गयो ।’

गिभ एन्ड टेकको सम्बन्ध

आनालाई लाग्छ, उनको र ममको सम्बन्ध ‘गिभ एन्ड टेक’को जस्तो हो । भन्छिन्, ‘उहाँले हाम्रा लागिे जेजस्तो प्रेम र समर्पण गर्नुभएको छ, त्यसको बदलामा म सधैँ उहाँलाई केही न केही दिन खोजिरहेकी हुन्छु । मम हो, कहिलेकाहीँ डर पनि लाग्छ तर एट दि सेम टाइम खुसी पनि लाग्छ किनभने मसँग उहाँ (मम)हुनुहुन्छ, जोसँग म खुलेर कुरा गर्न सक्छु । जोसँग म बेस्ट फ्रेन्डजस्तो व्यवहार गर्न सक्छु ।’

‘पानी पनि नखाई भोकै व्रत बसेको मलाई ठीक लाग्दैन । एक दिन मात्रै केही नखाएर व्रत बस्दा श्रीमान्को आयु बढ्ने होइन । एक दिन मात्रै होइन, श्रीमान्लाई सधैँ सम्मान गर्नुपर्छ ।’

आमालाई गाह्रो पर्दा छोरीले सघाउने, छोरीलाई समस्या पर्दा आमाले सम्झाउने । यसरी नै चलिरहेको छ आना–रचनाको सम्बन्ध । ‘छोरीहरुलाई बन्धनमा राख्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन,’ उनले भनिन्, ‘उनीहरु जे हुन्, त्यही हुन दिनुपर्छ । उनीहरुको यथार्थलाई स्वीकार गर्नुपर्छ । लाइफमा सुःख, दुःख सबै आउँछन् । जस्तोसुकै अवस्थामा पनि साथ दिन छाड्नुहुन्न । गल्ती गर्दा गाली गर्नुहुन्न, हौसला दिनुपर्छ । किनभने मान्छेले सिक्ने भनेको गल्तीबाटै हो । अर्को कुरा, म सधैँ छोरीहरुलाई सुझाव मात्रै दिन्नँ, उनीहरुसँग लिन्छु पनि ।’

अब छोरी ठूली भइछे !

जब छोरीहरु आफ्नो प्राथमिकतालाई छुट्ट्याउन थाल्छन्, त्यतिबेला रचनालाई लाग्दोरहेछ, ‘अब छोरी ठूली भइछे ।’ आनातिर हेर्दै उनी भन्दै थिइन्, ‘जब उनीहरुलाई मैले होमवर्क गर, खाना खाऊ, यसो गर, उसो गर भनेर भन्नुपर्दैन, त्यतिबेला उनीहरु हुर्किएको अनुभूति हुन्छ ।’

मम्ले आफूलाई आत्मनिर्भर हुन प्रेरित गर्दा आना औधि खुसी हुन्छिन् । ‘उहाँ हाम्रो भविष्यको एकदमै चिन्ता गर्नुहुन्छ,’ आमाको सुझाव आनाले सम्झिइन्, ‘अरुको भरमा पर्नुहुन्न, आफैँ बलियो हुनुपर्छ भनेर उहाँ सधैँ सम्झाइरहनुहुन्छ । सधैँ भन्नुहुन्छ, ‘कोहीसँग पनि कहिल्यै निर्भर नहोऊ, कोहीसँग पनि केही अपेक्षा नराख । केही गर्नु छ भने आफैँ गर, अहिले गर । बरु समय जतिसुकै लागोस्, मतलब भएन तर गर किनभने तिमीले गर्न सक्छौं ।’

आमाको मन न हो, छोरी जतिसुकै ठूली होस्, सधैँ सानै लाग्छ । पाँच वर्षअघि अनमोल केसीसँग पहिलो फिल्म ‘जेरी’ गर्दा आना १४ वर्षकी मात्रै थिइन् । नौ कक्षामा पढ्दै थिइन् । उनलाई १४ वर्षको भन्दा कसैले पत्याउदैन थिए । 

हिरोइन आनाको खास लक्ष्य पनि थिएन । अफर आयो, स्टोरी सुनिन्, त्यसपछि ‘ट्राइ गरौं न त’ भनेर खेलिन् । खेल्दै गएपछि भने फिल्मप्रतिको मोह बढेर गयो । भन्छिन्, ‘जेरी खेलेपछि फिल्मप्रति मोह जागेको हो ।’

रचनालाई त्यतिबेला पनि छोरी सानी नै छ भन्ने लाग्थ्यो, त्यसैले फिल्ममा डेब्यू गराउनु अघि उनले निकै सोचिन् तर आनाको आत्मविश्वासले उनको मन जित्यो । ‘छोरीले म गर्न सक्दिनँ होला भनेकी भए म फिल्ममा काम गर्न दिन्न थिएँ होला तर उसले नाइँ म गर्छु, म सक्छु भनी । ऊ सानैदेखि अलि परिपक्व पनि थिई, त्यसैले गरेर देखाई पनि,’ रचनाले भनिन् । 

‘जेरी’ गरिसकेपछि आनाको अभिनयको निकै तारिफ भयो । अफरहरु थुप्रै आए तर आनाले लगातार तीन वर्ष फिल्ममा कामै गरिनन् । राकेश ओमप्रकाश, इम्तियाज अली र इर्शाद कामिलले मुम्बई बोलाएर फिल्ममा काम गर्न अफर पनि गरे । उनले त्यहाँ पाँच दिनको एक्टिङ वर्क सप पनि लिइन् तर फिल्ममा काम गरिनन् । 

पटक–पटक फिल्म रिजेक्ट गरेपछि रचनाले छोरीलाई धेरैपल्ट सम्झाइन्, ‘अब त गर न छोरी, धेरै भयो ग्याप,’ तर आनाले मनिनन् । उनले उल्टै आमालाई सम्झाइन्, ‘म के गर्दैछु मलाई राम्रोसँग थाहा छ । म अहिले पढाइमा फोकस्ड हुन चाहन्छु । बलिउड मुभी भन्दैमा प्रोफाइलका लागि मात्रै म काम गर्दिनँ । भोलि फ्लप भयो भने के गर्ने ? घर फर्कने ? त्यो मेरो इच्छा नै होइन । मलाई त एउटा राम्रो कलाकार बन्नु छ । मन परेको स्क्रिप्टमा काम गर्नुछ । चर्चाका लागि मलाई काम गर्नु नै छैन ।’

आनाको जवाफ सुनेर रचना त चकितै परिन् । ओहो ! मेरो छोरी कति ज्ञानी, कति बुझ्झकीजस्तो लाग्यो रचनालाई । ‘छोरीहरु त्यसरी परिपक्व भएको देख्दा साँच्चै ठूली भएको महसुस हुने रहेछ,’ रचनाले मख्ख पर्दै सुनाइन् ।

नो जेनरेसन ग्याप !

पुस्तान्तरण नेपाली समाजको ठूलो समस्या हो । आमा र छोरीबीच उत्पन्न हुने जेनरेसन ग्यापलाई रचना र आनाले कसरी व्यवस्थापन गरेका छन् त ? रचनाले भनिन्, ‘मेरो आमा–बुबाको पालामा भन्दा अहिलेको प्यारेन्टिङ धेरै फरक छ । त्यतिबेला हामी अँध्यारो हुनुअघि घर पुगिसक्नु पथ्र्यो । मैले त्यो ब्रेक गरेँ । छोरीहरुको काम प-यो भने उनीहरु ढिलो आइपुग्दा पनि म गाली गर्दिनँ । समय धेरै परिवर्तन भएको छ । समयसँगै हामी पनि परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ 

यसको अर्थ रचना छोरीहरुसँग कडा हुँदिनन् भन्ने होइन । कडा छिन् तर उनीहरुको भलो हुने ठाउँमा । भन्छिन्, ‘मेरो कडाइ छोरीहरुले आफ्नो प्राथमिकता के हो त्यो पत्ता लाउन सकून् भन्नेमा हुन्छ । सधैँ उनीहरुले खोज्दा म नहुन पनि सक्छु । त्यसैले उनीहरु आफैँ आफूलाई सम्हाल्न सकून्, आफ्नो काम आफैँ गर्न सकून् भन्ने लाग्छ ।’ 

छोरी आनालाई भने आफू र ममीबीच कुनै जेनेरेसन ग्याप छ भन्ने लाग्दैन । ‘हामी तीन जना दिदीबहिनी फरकफरक नेचरका छौँ,’ आनाले अथ्र्याइन्, ‘सबैको आ–आफ्नो नेचरअनुसार ममले हामीलाई ह्यान्डल गर्नुहुन्छ । मेरो हरेक काममा ममीले मलाई साथ दिनुहुन्छ । जब हामीलाई उहाँ चाहिन्छ, उहाँले सबथोक छाड्दिनुहुन्छ । ममी ओल्ड फेसनको पनि हुनुहुन्न । हेर्दा पनि उहाँलाई भर्खरकै देखिन्छ । कुरा पनि मिल्छ नै । सँगै रमाइलो पनि गर्छौं । त्यसैले हामीबीच जेनरेसन ग्याप छ भन्ने नै लाग्दैन ।’

ड्याडी हिन्दु, ममी क्रिस्चियन

घरमा कति जना बस्नुहुन्छ ? नागरिक परिवारको जिज्ञासामा रचनाले हाँस्दै जवाफ दिइन्, ‘पाँच जना । तीन जना छोरी, एक जना छोरा र म ।’ छोरा भनेपछि थोरै आश्चर्य प्रकट गरियो । त्यसपछि रचनाले प्रस्ट पारिन्, ‘छोरा भन्नाले हस्बेन्ड !’ 

आनाका बुबा त्यति सार्वजनिक हुन नरुचाउने रहेछन् । आफ्नै फर्निचरको फेमिली बिजनेसमा उनी व्यस्त हुन्छन् । आनाको घर त पुरै ‘फिमेल डोमिनेटेड’ होला है, सबै छोरी नै छोरी ? भन्ने जिज्ञासामा रचनाले भनिन्, ‘मेन आर त हेड अफ त फेमिली हुने भइहाले । बट आई एम द नेक । घरमा छोरीहरुले मामु मलाई डाक्टर जानुप-यो, मामु मलाई लुगा किन्नुप-यो, यो गर्नुप-यो, त्यो गर्नुप-यो भनिरहेका हुन्छन् । त्यही बेला बाउ आएर छोरीहरुलाई सोध्न थाल्छन्, ‘मामु खोइ ? अनि महसुस हुन्छ सबैलाई म नै चाहिने (हाँस्दै) ओहो, कति धेरै जिम्मेवारी !’

‘जेरी’मा काम गर्दा आनाको अनमोल केसीसँग अफेयर चलेको हल्ला पनि चल्यो । छोरीबारे यस्ता गसिप आउँदा आमालाई कस्तो महसुस हुन्छ ? ‘हामी दुवै एकअर्कालाई हेर्दै हाँस्छौं,’ आमा रचनाले भनिन् ।

आनाको ममी क्रिस्चियन र ड्याडी हिन्दु धर्म मान्छन् । घरमा ममीड्याडीको धर्म फरक–फरक भए पनि मन एकै छ । धर्म र संस्कारका कारण घरमा कुनै समस्या निम्तिएको छैन । सबै दुवै धर्मलाई सम्मान गर्छन् । दुवैको संस्कारलाई आदर गर्छन् । दुवैका पर्वलाई उत्तिकै भव्यसाथ मनाउँछन् । 

हिन्दुहरुको ठूलो पर्व साउन र तीज अब नजिकिँदैछ । यसकै अवसरमा आना र रचनाले नागरिक परिवारसँग साडी र लेहेंगामा कभर तस्बिर पनि खिचाए । ‘हाम्रो परिवार एकदमै धार्मिक छ, हामी दसैँ पनि मनाउँछौँ, क्रिसमस पनि,’ रचनाले भनिन्, ‘साउनमा हरियो चुरा, मेहेन्दी सबै लगाउँछु । श्रीमान्को लामो आयुका लागि व्रत पनि बस्छु । तर पानी पनि नखाई भोकै व्रत बसेको मलाई ठीक लाग्दैन । एक दिन मात्रै केही नखाएर व्रत बस्दा श्रीमान्को आयु बढ्ने होइन । एक दिन मात्रै होइन, श्रीमान्लाई सधैँ सम्मान गर्नुपर्छ ।’

उता आना पनि चाडपर्व भनेपछि हुरुक्कै हुन्छिन् । साउन र तीज उनलाई खुब मनपर्छ । ‘ममी भन्नुहुन्छ, यो महिलाहरुको पर्व हो, त्यसैले मनाउनुपर्छ,’ उनले मनपर्नुको कारण बताइन् ।  

‘गसिप पढेर हाँस्छौं’

आना फिल्म क्षेत्रमा प्रवेश गरेयता बेलाबखत उनका बारेमा विभिन्न गसिप बन्ने गर्छन् । ‘जेरी’मा काम गर्दा अनमोल केसीसँग अफेयर चलेको हल्ला पनि चल्यो । छोरीबारे यस्ता गसिप आउँदा आमालाई कस्तो महसुस हुने रहेछ त ? रचनालाई जिज्ञासा राख्दा उनले हाँस्दै जवाफ दिइन्, ‘हामी दुवै एकअर्कालाई हेर्दै हाँस्छौँ ।’

लेख्नेले लेख्दियो, सुन्नेले सुन्यो, भन्नेले भन्दियो तर पत्याउनेहरुले पत्याएको देख्दा भने उनीहरुलाई हाँस उठ्छ । ‘दर्शक र पाठकहरुलाई मेरो अनुरोध छ, लेखिएका सबै कुरामा विश्वास नगर्नुस्,’ रचनाले भनिन्, ‘सबै कुरा विश्वास गर्नु भनेको मुर्खता हो ।’

०००००

तस्बिर : अर्जुन शाह
मेकअप : पुनम तुलाधार
ड्रेस : लाइक्रा फेसन बुटिक, कुपन्डोल

प्रकाशित: २२ श्रावण २०७५ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App