coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली सीमासम्म सडक बनाउँदै भारत

नेपाल–भारत सीमाना चिवाभञ्याङमा नेपाल तर्फको सडक ।   तस्बिरः गिरिराज/नागरिक

पाँचथर – नेपाल–भारतको सीमाना चिवाभञ्याङसम्म भारतले सडक निर्माणको काम अघि बढाएको छ। नेपालसँग सिधा सम्बन्ध स्थापना गर्ने गरी सिक्किम सरकारले सडक निर्माणको कामलाई गति दिएको हो।

पुष्पलाल (मध्यपहाडी ) लोकमार्गको सुरुवाती बिन्दु नेपाल भारत सीमाना चिवाभञ्याङमा सडक पुर्याउनका लागि धमाधम काम भइरहेको हो। यो सडक दुबै देशका लागि महत्पूर्ण छ। सडक निर्माणको कामलाई तिब्र रुपमा अघि बढाइएको सिक्किम सरकारका खाद्य तथा नागरिक आपूर्ति विभाग र शहरी विकास तथा आवस विभाग मन्त्री एन. के सुब्बाले जानकारी दिए। ‘डिसेम्बरसम्ममा सक्ने गरी सडक निर्माणको काम अघि बढाइएको छ। १८ किलोमीटर सडक निर्माण गरी चिवाभञ्याङमा जोडिने छ’ सुब्बाले सोमबार टेलिफोनमा नागरिकसँग भने ‘भारु २७ करोड बजेटमा यो काम सक्छौँ। कामले रफ्तार पाएको छ।’

यो सडक बनेपछि सिक्किम र नेपालको सिधा सडक सम्बन्ध स्थापित हुने छ। सिक्किमको उत्तरे बजार नजिककैको सोपाखाबाट सडक निर्माणको काम अघि बढिरहेको छ। सिक्किम सरकारले केहि वर्ष अगाडिनै सडक बनाउन चाहेको थियो। कञ्चनजंगा नेशलन पार्कको बन क्षेत्र भएकाले केन्द्रीय सरकारको अनुमति पाउनका लागि तीन वर्ष लागेको हो। केन्द्रीय सरकारबाट सडक बनाउने अनुमति पाएपछि सडक निर्माणको कामलाई तिब्रता दिइएको मन्त्री सुब्बाले जानकारी दिए।

‘सडक बनेपछि पर्यटन विकासमा महत्पूर्ण टेवा पुग्छ। नेपाल तर्फपनि सडक भएकाले आवागमन तथा व्यापारमा पनि योगदान पुग्ने छ’ सुब्बाले भने ‘डिसेम्बर पछि यो अवसर जुट्ने छ।’ यो नाकाभएर पैदलयात्रा गर्ने प्रशस्त भेटिनुका साथै व्यापार व्यवसाय समेत सञ्चाल हुँदै आएको छ। सिक्किम तर्फ सडक निर्माणका लागि नेपाल सरकारले पहल गर्नुुपर्ने माग यहाँका बासिन्दाको छ। सडक बनेपछि दुई देशको व्यापार यहि नाका भएर हुने अपेक्षा छ। भारत तर्फ सडक नहुँदा मध्यपहाडी लोकमार्गको सडक फालोट तिर लैजाने कि भन्ने तयारी समेत भएको थियो। 

अहिलेको काम गराई हेर्दा चाडै सडक चिवाभञ्याङ पुग्ने देखिएको यो क्षेत्रको हालै भ्रमण गरेका सिक्किमका पत्रकार प्रकाश अधिकारीले बताए। चिवाभञ्याङसम्म सडक बन्दै छ भन्ने सुनेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा हर्षीत देखिन्छन्। सडक नभएपनि ठूलोसंख्यामा पर्यटकहरू यो क्षेत्रमा आउने गरेका थिए। ‘यो सडक बनेपछि चिवाभञ्याङ अध्यागमन तथा सानो नाका सञ्चालन गर्न सकिन्छ’ प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले भने, ‘मध्यपहाडी लोकमार्गको उद्देश्य सिक्किमसँग व्यापार बढाउने हो। चिवाभञ्याङ हुँदै सिक्किम जोड्ने योजना थियो।’

यो सडक बनेपछि पूर्वको पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम लगायतका जिल्लाको सिधा सडक सम्पर्क सिक्किमसँग हुने छ। पश्चिम सिक्किममा यो सडक महत्पूर्ण हुने  झाँक्रीढुंगाका समाजिक अगुवा तथा निर्माण व्यवसायी अशोक क्षेत्रीको भनाई छ। पाथीभारा जाने दशनार्थीले पनि यहिबाटो प्रयोग गर्न सक्ने बताइएको छ।

चिवा भञ्याङमा नेपाल तर्फ सडक पुगेपनि सुरक्षा उपस्थीति छैन्। भारत तर्फ सीमा सुरक्षा बल (एसएसवी) र सिक्किम प्रहरीको उपस्थीति छ। चिवाभञ्याङमा दुई तर्फ सडक जोडिए व्यापारीक गतिविधि बढ्ने याङवरक गाउँपालिकाको च्याङथापुका स्थानीय मंगल बेघा बताउँछन्। 

 

प्रकाशित: २२ श्रावण २०७५ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App