८ वैशाख २०८१ शनिबार
विचार

अन्धविश्वासको अन्धाधुन्द प्रचार

भर्खरै आषाढ शुक्ल पूर्णिमा (अर्थात् शुक्रबार) को राति यस शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने खबर थाहा पाएर हामी सबैमा ठूलो कौतूहल फैलियो। खग्रास अर्थात् चन्द्रमा उपग्रहलाई पूरै ढाक्ने ग्रहण हेर्न सबैलाई उत्सुकता हुने नै भयो। एकदुई दिनअघि मङ्गल ग्रहमा पानीको पोखरी भएको वैज्ञानिकहरूले आविष्कार गरेको खबर प्रसारित हुदाँ ‘ए, उसो भए मङ्गल ग्रहमा पनि मानिसहरू गएर बस्न मिल्ने रहेछ!’ भन्ने विचार जनतामा फैलिएको थियो। होइन, यो ता कल्पना मात्रै होला भन्ने व्यक्तिहरूलाई टेलिभिजनले रमाइलो पानीको पोखरी नै देखाएको र त्यहाँबाट भाँडामा पानी उघाएर मज्जाले एकातिर फालेको समेत हेर्न पाउँदा औधि रमाइलो लागेको थियो । त्यहाँ मानिसहरू बसाइँ सर्न गए पनि हुने रहेछ भन्ने कुराको ज्ञान यस पृथिवीका वासीले थाहा पाएका छन्! यसरी विज्ञानको दिनहुँ विकास भइरहेको छ।

यस्तो स्थितिमा पनि विज्ञानको ज्ञानलाई खिसी गर्दै हामी प्राचीन परम्पराको गौरवलाई रक्षण गर्ने संस्कृतविज्ञ व्यक्तित्व हौँ भन्ने घमण्डमा मातेका प्रशस्त व्यक्तिहरू धर्मिक तथ्यको झुटो आदर्श छाँटेर ज्योतिषको अनौठो र अत्यन्त अमिल्दो उदाहरण प्रस्तुत गर्छन्। चारै वेदमा हुँदै नभएको उदाहरण प्रस्तुत गर्दै ‘निर्णयसिन्धु’को उदाहरण दिन्छन् र भन्छन् : खग्रास ग्रहण लागेको समयमा चन्द्रमालाई हे-यो भने त्यस व्यक्तिको अवश्य पतन हुन्छ। ग्रहकालमा सुत्यो भने रोगी हुन्छ, दिसा ग¥यो भने कीराको जुनीमा त्यसको जन्म हुन्छ, पिसाब गर्नाले दरिद्रता निम्त्याउँछ । त्यति मात्र कहाँ र? ग्रहण कालमा मैथुन गर्ने वा यौन सहवास गर्ने व्यक्ति सुँगुर भएर जन्मन्छ, जीउमा तेल घसेमा कुष्ठरोगी हुन्छ तथा भोजन डम्फ्याए त्यसको अघोगति निश्चित हुने डर देखाउँदै त्यस्ता दुर्बुद्धि विज्ञ भनाउँदाहरू खग्रास चन्द्रग्रहण कालमा कसैलाई मार्न पुगेमा नरकमा पुग्ने भय तेस्र्याउँदै जनतालाई तर्साउँछन्।

ज्योतिर्विद् हुँ भन्ने व्यक्तिहरू चन्द्रमाको खग्रास ग्रहणकालमा विभिन्न राशिका व्यक्तिहरूलाई विभिन्न फल हुने फलाको उरालेर तर्साउँछन्। म छक्क पर्छु, खग्रास चन्द्रग्रहण त रात्रिका समयमा आकाशमा हुने घटना हो । पृथ्वीवासीहरूमा त्यसको विभिन्न प्रभाव कसरी पर्छ? एकै ठाउँमा बसेर पृथ्वीबाहिर सँगै अवलोकन गर्दा कसरी विभिन्न व्यक्तिहरूलाई बेग्लाबेग्लै प्रभाव पर्छ? चारै वेदहरूको गम्भीर अध्ययन गर्नुहोस् र हेर्नुुहोस्। पृथ्वीका विभिन्न भागहरूमा अवश्य पनि हावा, किरण र अरुअरु कारणहरूले केही भिन्न प्रभाव पार्लान्, तर यी विज्ञ भनाउँदाहरूको जस्तो निकृष्ट प्रभाव चाहिँ कहिल्यै पर्दैन।

विशेष गरी भारतका विभिन्न ठाउँमा बिग्रेको मस्तिष्क पालेर हुर्किएका शठ विद्वान्हरू केही संस्कृत जान्ने बित्तिकै मनपरि व्याख्या गर्न थाल्छन्। यिनीहरू चार वेदहरूको व्याख्या गर्दैनन्, आफैँ जान्ने भएर नपत्याइने हिन्दु भनाउँदो धर्म र बाहुन हुँ भन्ने दुष्ट फुइँ उराल्दै संस्कृत भाषामा मनपरी लेखेर जनतालाई तर्साउँछन्।

चन्द्रग्रहण समय समयमा हुने प्राकृतिक घटना हो। यसबाट वैज्ञानिक असर (धेरै पानी पर्नु, हावाहुरी चल्नु इत्यादि) ठाउँठाउँमा पर्न सक्छ, तर हाम्रो काठमाडौँबाट प्रकाशित एक दैनिकमा शुक्रबार  ११ साउन २०७५ (२७ जुलाई २०१८) मा सर्वसाधारण नेपाली जनतालाई अनेकौँ अनावश्यक त्रास देखाउँदै तर्साउने खबर चाहिँ अवश्य नै अनुपयुक्त, अनावश्यक र उग्रवादी भ्रम हो!

नेपाल अब विज्ञानमा भर पर्ने प्रबुद्ध जनताको राष्ट्र हो। यस्ता अनावश्यक त्रासबाट हाम्रो राष्ट्र मुक्त हुनुपर्छ!

प्रकाशित: २२ श्रावण २०७५ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App