coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेय पदार्थको आयात ६०% बढ्यो

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको गोदाममा राखिएका मदिरा र अन्य पेयपदार्थ । तस्बिरः रितेश/नागरिक

वीरगन्ज - तेस्रो मुलुकबाट मालसमान भित्रिने नेपालको प्रमुख नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर विदेशबाट आउने विभिन्न पेयपदार्थको आयात बढेको छ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४-७५ मा ‘अल्कोहल’ रहित हलुका पेय, वाइन र कच्चामदिराको आयात बढेको हो ।क्यान र बोतलमा आउने शीतल पेय, इनर्जी ड्रिंकलगायत हलुका पेय अघिल्लो वर्षको तुलनामा गत आवमा ६० प्रतिशतले आयात बढेको छ । भन्सार कार्यालयका अनुसार गत आवमा एक करोड ३५ लाख २९ हजार तीन सय ६६ लिटर अल्कोहलरहित हलुका पेय आयात भएको छ । त्यसअघिको आवमा  यस्तो पेयपदार्थ ८४ लाख ६१ हजार ६ सय ४४ लिटरमात्र आयात भएको थियो।

त्यस्तै, अल्कोहलयुक्त पेय वाइनको आयात २६ प्रतिशतले बढेको तथ्यांक छ । कार्यालयका अनुसार गतवर्ष आठ लाख ४८ हजार दुई सय २४ लिटर वाइन आयात भएको छ । अघिल्लो वर्ष ६ लाख ७३ हजार सात सय ६७ लिटर वाइन आयात भएको थियो । त्यस्तै, कच्चा रक्सीको आयात आठ गुणाले बढेको कार्याले जनाएको छ । विदेशी मदिराभन्दा विदेशी कच्चामदिरा भिœयाएर स्वदेशमा ‘प्याकेजिङ’ र ‘ब्लेन्डिङ’ (स्वादिकरण) गर्ने चलन नेपालमा बढ्न थालेको देखिन्छ । अघिल्लो वर्षमात्र २० हजार तीन सय ८६ लिटर आएको कच्चा रक्सीको आयात यसपाली ह्वातै बढेर एक लाख ६७ हजार नौ सय २५ लिटर पुगेको छ।

मदिरा घट्यो
विदेशबाट आउने तयारी मदिरा र तयारी बियरको आयात भने अघिल्लो वर्षको तुलनामा घटेको छ । गत आवमा चार लाख ५७ हजार ५ सय २५ लिटर विदेशी मदिरा आयात भएको छ ।

अघिल्लो वर्ष पाँच लाख ४० हजार ४ सय ४८ लिटर आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा १५.३४ प्रतिशतले घटेको उक्त तथ्यांकमा देखिन्छ ।त्यस्तै, विदेशबाट आउने तयारी बियरको आयात न्यून भएको छ । अघिल्लो वर्षको परिमाणको तुलनामा गत आवमा पाँच प्रतिशत पनि बियर आयात नभएको तथ्यांक छ । तथ्यांक अनुसार अघिल्लो आवमा तीन लाख ३१ हजार पाँच सय ४३ लिटर आयात भएको तयारी बियर गत आवमा १६ हजार दुई सय २८ लिटरमात्र आयात भएको छ ।


 

प्रकाशित: २२ श्रावण २०७५ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App