४ वैशाख २०८१ मंगलबार
समाज

हिउँदमा बन्छ, बर्खामा बिग्रन्छन्

इलामको कच्ची सडकमा पहिरोका कारण गाडी चल्न छाडेपछि जोखिम मोलेर मोटरसाइकल चलाउँदै युवा। तस्बिर : नागरिक

विराटनगर - इलामको माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेश राईले सोमबार एक सूचना जारी गरी गाउँका मुख्य कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। उनले जारी गरेको सूचनामा वर्षाका कारण सडक क्षतविक्षत भएकाले आउँदो भदौ ३० गतेसम्म मुख्य सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालन नगर्न भनिएको छ। सूचना अटेर गरी चलाए नियमानुसार कारबाही हुने सूचनामा उल्लेख छ।

जिल्लाका विभिन्न सडकमा यसअघि पनि स्थानीयले वर्षाका बेला सडकमा ‘ट्याक्टर निषेध’ नगरेका होइनन्। यसपटक चाहिँ वडा कार्यालयले नै उपभोक्तालाई गाडी चलाउन रोक लगाएको हो। माइजोगमाई गाउँपालिकाले बितेको आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा प्राथमिकतामा राखेको काम नै सडक विस्तार र स्तरोन्नति थियो। त्यो वर्ष दर्जनौं सडकमा यो गाउँपालिकाले करोडौं रुपैयाँ लगानी ग-यो। तर, वर्षा लागेपछि त्यही गाउँपालिकाका एक वडाध्यक्षले सूचनै निकालेर सडक बिग्रिएका कारण गाडी नचलाउन उर्दी जारी गरेका छन्।

हिउँदभर पहाडै थर्काउने गरी एक्साभेटर लगाएर खनिएका सडक वर्षा लागेपछि बन्द भएका छन्। पूर्वी पहाडी जिल्लाका गाउँ र सदरमुकामको यातायात सम्बन्ध बाढीपहिरोसँगै टुटिसकेको छ।

इलामकै देउमाई नगरपालिकाले बितेको आर्थिक वर्ष गाउँ–गाउँ पुग्ने सडक फराकिलो बनाउने अभियान चलायो। गएको हिउँदभर ‘देउमाईको १० मिटरे सडक’ जिल्लाभर चर्चाको विषय पनि बन्यो। किनभने, ग्रामीण तहमा १० मिटर फराकिला कच्ची सडक ‘विकासकै नमुना’ थिए। गाउँमा यत्तिको फराकिला सडक नभएकाले अब स्थानीय तहका जनप्रतिनिधिले ‘केही गर्लान्’ भन्ने आशा सर्वसाधारणमा पलायो। तर, पाँच महिना नबित्दै ती सडक गाडी गुडाउने सडक नभई ‘रोपाइँ गर्ने खेत’झैं भएका छन्। नयाँ खनिएका ट्र्याकमा त गाडी चल्न सकेनन् नै, विस्तार गरिएका सडक पनि हिलाम्मे भएर अहिले बन्द छन्।

इलामकै सन्दकपुर गाउँपालिकाको सडकको हालत पनि त्यसभन्दा खासै फरक छैन। जैविक विविधतामा धनी भए पनि पूर्वाधारका हिसाबले पछि परेको सन्दकपुरले सडक निर्माणलाई नै प्राथमिकता दियो। करोडौं रुपैयाँ नयाँ सडक निर्माण र पुराना सडक स्तरोन्नतिमा खर्च भयो। तर, असार लागेपछि ती सबै सडकमा सवारीसाधन ठप्प छन्। मर्मत गरिएका सडक पनि निरन्तर वर्षाले पुरानै हालतमा पुग्न लागेका छन्।

पूर्वी पहाडी जिल्लाका ग्रामीण भेगमा वर्षा लाग्नेबित्तिकै सडक बन्द हुने समस्या नयाँ भने होइन। गएको आर्थिक वर्षदेखि चाहिँ आफूले चुनेको जनप्रतिनिधि स्थानीय तहमा आउँदा सर्वसाधारणलाई आशा थियो–कम्तीमा पनि गाउँमा सहज ढंगले गाडी चढेर आउ–जाउ गर्ने बाटो जनप्रतिनिधिले बनाउँछन्। तर, हिउँदभर पहाडै थर्काउने गरी एक्साभेटर लगाएर खनिएका सडकको अवस्था वर्षा लागेपछि दयनीय भइसकेको छ। पूर्वी पहाडी जिल्लाका गाउँ र सदरमुकामको यातायात सम्बन्ध बाढी–पहिरोसँगै टुटिसकेको छ। गाउँको फसल सदरमुकाम र बजार पु¥याउन तथा गाउँमा आवश्यक पर्ने सामान बजारबाट ल्याउन कष्ट सुरु भएको छ। सर्वसाधारणका अपेक्षा र गाउँका आवश्यकताअनुसार जिल्लाका सबैजसो स्थानीय तहले बितेको आर्थिक वर्ष योजनाको सूचीमा पहिलो नम्बरमै थियो–सडक। र, पहाडी जिल्लामा सबैभन्दा बढी रकम खर्च भएको क्षेत्र पनि सडक यातायात नै हो। तर, अहिले नयाँ खुलेका ट्र्याक त बन्द भए नै, जिल्लामा वर्षाैंदेखि ‘मर्मत’मा रकम खर्चेका कच्ची सडक सबैमा यातायात ठप्प छन्। बाढीपहिरोले क्षति गरेर र बीच सडकमा पानी जमेर गाडीको चक्का नै डुब्ने हिलो भएपछि यातायात अवरुद्ध भएको हो।

यातायात मजदुरहरूका अनुसार प्रत्येक कच्ची सडकमा गाडी हिलोमा फसेर यात्रुसमेत बीच बाटोमै ओर्लेर तान्ने–ठेल्ने गर्नुपरिरहेको छ। नयाँ खनिएका सडकमा त झन् सवारीसाधन चलाउनै नसकिएको यातायात व्यवसायी बताउँछन्। पूर्वेली ट्याक्सी व्यवसायी संघमा आवद्ध रहेर यातायात व्यवसायीको नेतृत्व गरिसकेका गृष्म सुब्बाले जिल्लाका सबैजसो ग्रामीण सडकमा अहिले यातायात ठप्प भइसकेको बताए।

‘हिउँदमा खनिएका सडकमा अहिले गाडी चल्न छाड्यो,’ उनले भने, ‘बरु ल्यान्डरोभर गाडीको चक्का अग्लो हुने र गाडी पनि बलियो हुने भएकाले बर्खामा पनि चलाउन धेरै समस्या थिएन। तर यसपटक ल्यान्डरोभरमा रोक लगाइएपछि यातायात ठप्पै भएको छ ।’ उनले वर्षाैंदेखि गाडी चलेका कच्ची सडकको अवस्था पनि कहिल्यै नसुध्रिएको बताए। ‘सडकलाई दिगो बनाउनेबारे सरोकारवालाले सोचेको देखिएन,’ उनले भने, ‘हिउँदभर भएभरको रकम खर्चेर सडक खन्ने अनि बर्खामा पानी सबै बगाएर पुरानै अवस्थामा पु-याउने उहिल्यैदेखिको समस्या यो वर्ष पनि उस्तै छ।’

केही स्थानीय तहले भने सडक दिगो बनाउने योजना गत वर्षदेखि ल्याएका हुन्। संख्यात्मक हिसाबले थोरै तर, दिगो हुने सडक निर्माण गर्न सूर्याेदय नगरपालिकाले गत वर्षदेखि ‘एक वडा एक सडक’को अवधरणामा काम गरिरहेको छ। ‘हामीले प्रत्येक वडामा एक वर्षमा एउटा मात्रै सडक बनाउने तर, बाह्रैमास गाडी चल्ने गरी बनाउने योजना ल्याएका छौं,’ नगर प्रमुख रणबहादुर राईले भने।

तेह्रथुममा खाद्यान्न अभाव
वर्षासँगै गएको पहिरोले तेह्रथुमका ग्रामीण सडक क्षतविक्षत भएर यातायात अवरुद्ध हुँदा धेरैतिर खाद्यान्न अभाव सुरु भएको छ। दुई नगरपालिका र चार गाउँपालिकाका विभिन्न वडामा स्काभेटर लगाएर खनिएका सडक अहिले पानीले बगाएपछि खोल्सी जस्तै भएका छन्। स्थानीय तहको लाखौं लगानीमा खनिएका सडकहरू वर्षाका कारण हिलाम्मे भएर गाडी चल्न नसकेपछि जिल्लाका दर्जनभन्दा बढी वडामा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु अभाव हुन थालेका छन्।

सडकको दुरावस्थाकै कारण दुई महिनायता खाद्यान्न ढुवानी गर्न नपाउँदा पसलमा चामल, नुन, चिउरा, तेल, चाउचाउ लगायतका दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको र ढुवानी ज्याला पनि बढ्न थालेको फेदाप गाउँपालिका औँसी बजारका होटल सञ्चालक चित्र श्रेष्ठले बताए। यातायात बन्द भएपछि सदरमुकामदेखि पूर्वका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, इसिबु, खाम्लालुङ, थोक्लुङ र पश्चिमका पञ्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप लगायतका स्थानहरूमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूको अभाव भएको हो। अहिले स्थानीय बासिन्दाले सदरमुकामबाट पिठ्युँमा बोकेर सामान ओसार्न थालेका छन्।

यातायात नचलेका कारण व्यापारीले पाइने सामान पनि लुकाएर पर्ने भन्दा बढी मूल्य लिन थालेको इसिबुका तुलसी निरौलाले गुनासो गरे। उनले भने, ‘सदरमुकाममा १५ रुपैयाँ पर्ने चाउचाउ गाउँमा २० रुपैयाँ पर्न थालेको छ, चामल नुन लगायत अत्यावश्यक वस्तुहरु त पाउनै छाड्यो।’

दुई जिल्ला तरेर सदरमुकाम
भोजपुरको साल्पासिलोछो गाउँपालिका–३, चौकीडाँडाका दुर्गाराज राई तीन दिनमा भोजपुर सदरमुकाम आइपुगे। सदरमुकाम आउन राईले छिमेकी जिल्ला संखुवासभा र धनकुटा पार गरेर आउनु प-यो। वर्षाले बाटो बिग्रेपछि उनलाई ६ घण्टाको बाटो काट्न तीन दिन लागेको हो। जाल्पा माध्यामिक विद्यालयका प्रधानाध्यापक राईले जिल्ला शिक्षा कार्यालयमा कामका लागि सदरमुकाम आएको बताए।

झरीले जिल्लाका अधिकांश सडक क्षतविक्षत छन्। हाल भोजपुर–लेगुवा सडकबाहेक अन्य सडकमा नियमित बस सञ्चालन हुन सकेको छैन। मुस्किलले मोटरसाइकल चल्ने स्थानीय श्रीकुमार राईले बताए। ग्रामीण सडकहरू वर्षायाम सुरु हुनसाथ बन्द भएका हुन्।

जिल्लाका कतिपय सडक भने निर्माण कम्पनीको कारण पनि बन्द भएका छन्। भोजपुर–सुन्तले सडक निर्माण कम्पनीले समयमै काम नसक्दा बन्द भएको हो। ठाउँ–ठाउँमा सडक स्तरोन्नतिका लागि भत्काएपछि यातायात सञ्चालनमा समस्या भएको हो। वर्षाका कारण धेरै सडक बिग्रिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राजनराज रेडीले बताए।

आधा बाटो मात्रै गाडी
हिउँदयाममा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकसम्म सञ्चालन हुने यातायात सेवा अहिले अवरुद्ध छ। बर्खाको भेलले बाटो बगाएपछि उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग अहिले सुकेटार–लिङ्खिमसम्म मात्र खुलेको छ। सदरमुकामबाट सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकसम्म पुग्ने यातायात सेवा सिनामको डाडाँगाउसम्म मात्र पुग्दैछ। केही दिन अघिसम्म सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु पुग्नलाई खासै समस्या नरहेको यो सडकको खड्का डाँडामुनि चालक र यात्रुलाई गाडी ठेल्ने र कटाउने सास्तीले हैरान पारेको छ । ‘दुई–अढाई घण्टा ठाउँ–ठाउँमा बाटो बनाउँदै, ठेल्दै र हिलो सोरेर फाल्दै साब्लाखु भञ्याङ् पुग्यो, फर्कंदा फेरि गाडी फसेर निकाल्न उति नै समय र श्रम खर्चनु पर्छ,’ चालक चालक बुद्ध लिम्बूले भने।

सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले सडक नियमित रूपमा मर्मत हुँदै आए पनि पहिरोले बिगार्ने गरेको बताए। अघिल्लो आर्थिक वर्षमा पहिलो किस्ता २० लाख र दोस्रो किस्ता ६ लाख गरी २६ लाख रुपैयाँ यही सडकखण्ड मर्मत सम्भारमा खर्चिएको तर समस्या भने उस्तै रहेको उनले गुनासो गरे।

भीम चापागाईं, इलाम/भगिश्वर लिम्बू, तेह्रथुम, एक्सन राई, भोजपुर/खगेन्द्र अधिकारी, ताप्लेजुङ

प्रकाशित: २२ श्रावण २०७५ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App