coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोषीलाई कारबाही माग गर्दै सयौं महिला सडकमा

बालिका हत्याका दोषीलाई कारबाही माग गर्दै सोमबार महेन्द्रनगरमा विरोधमा उत्रिएका स्थानीय महिला। तस्बिरः नागरिक

धनगढी - कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको डेढ साता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन। दोषी पत्ता लगाइ कडा कारबाही गर्न माग गर्दै स्थानीय महिलाले सोमबार पनि महेन्द्रनगरमा दिनभर विरोध प्रदर्शन गरेका छन्। सयौंको संख्यामा भेला भएका महिलाले बजार तथा यातायातसमेत बन्द गर्दै प्रदर्शन गरेका हुन्। आन्दोलनको समर्थन गर्दै स्थानीय व्यवसायीले पसल बन्द गरेका थिए भने जिल्लाका सम्पूर्ण शिक्षण संस्था समेत बन्द गरिएका थिए।

हत्या भएको १३ दिनसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका थिए । अझै दोषी पत्ता नलगाए अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन्। हत्या गरिएकी निर्मला पन्तका आमाबुवा पनि प्रदर्शनमा सहभागी भएका थिए। ‘अहिलेसम्म दोषी पत्ता नलगाएकाले हामी सयौं महिला सडकमा उत्रेका हौं,’ आन्दोलनमा सहभागी महिलाअधिकारकर्मी लक्ष्मी मल्लले भनिन्।

हत्या भएको १३ दिनसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रशासनविरुद्ध चर्का नाराबाजी गरेका थिए।

निर्मला पन्त पढ्ने गरेकी सरस्वती माविका विद्यार्थी समेत सोमबार विरोध प्रदर्शनमा उत्रिएका छन्। आफ्नो सहपाठीको हत्या भएको यत्तिका दिन बितिसक्दा पनि दोषी पत्ता नलगाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

यस्तै धनगढीमा पनि विभिन्न महिला संगठनले विरोध प्रदर्शन गरेका छन्। दोषीलाई कारबाही माग गर्दै उनीहरूले तीन दिनदेखि विरोध प्रदर्शन जारी राखेका हुन्। ‘दोषीलाई कारबाही नगरेकाले बलात्कार बढिरहेका छन्,’ स्थानीय महिला अधिकारकर्मी निर्मला बागचन्दले भनिन्, ‘तत्काल दोषी पत्ता लगाइ कडा कारबाही माग राखेर तीन दिनदेखि आन्दोलनमा छौं ।’ दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने उनले बताइन्।

स्थानीय राजनीतिक दलहरूको समेत उपस्थितिमा स्थानीय प्रशासनले छिटोभन्दा छिटो दोषी पत्ता लगाइ कारबाही गर्ने लिखित सहमति जनाएपछि पीडित परिवारले हत्याको चार दिनपछि साउन १४ गते बालिकाको शव दाहसंस्कार गरेका थिए।

तर दाहासंस्कार भएको एक साता बितिसक्दा पनि प्रहरीले दोषीको भेउ पाउन सकेको छैन। अहिलेसम्म कुनै ठोस प्रमाण पाउन नसकिएकाले दोषी पत्ता लाग्न नसकेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी बताउँछन्। यही साउन ११ गते निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

प्रकाशित: २२ श्रावण २०७५ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App