८ वैशाख २०८१ शनिबार
समाज

सिसिटीभीको निगरानीमा नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकालाई सिसिटीभीबाट निगरानी गर्न सुरु गरिएको छ। उपमहानगरपालिकाको समग्र शान्ति, सुरक्षाका लागि सिसिटीभीबाट निगरानी गरिएको हो। उपमहानगरको चारलेन सडक अन्तर्गत राँझा चोकदेखी गणेशमान चोकसम्म तथा भित्री चोक गरी १६ स्थानमा ५६ वटा आधुनिक सिसिटिभी क्यामेरा जडान गरिएको छ। सिसिटीभी क्यामेराको नेपालगन्जमा सोमबार एक समारोहका बीच उद्घाटन गरियो। 

‘उपमहानगरको चारलेन सडक अन्तर्गत राँझा चोकदेखी गणेशमान चोकसम्म तथा भित्री चोक गरी १६ स्थानमा ५६ वटा आधुनिक सिसिटिभी क्यामेरा जडान गरिएको छ ।’

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश पाँचका प्रहरी प्रमुख (डिआईजी) शेरबहादुर बस्नेत र सिसिटभी ब्यवस्थापन समितिका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले संयुक्त रुपमा उद्घाटन गरे।

नेपालगन्ज शहरलाई आधुनिक सुरक्षा प्रणालीयुक्त सहर बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय बाँकेले गत चैत ५ गते आयोजना गरेको बृहत भेलाले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २५ सदस्यीय ‘नेपालगन्ज सिसिटिभी व्यवस्थापन समिति’ गठन गरेको थियो। उक्त समितिका पदाधिकारी आफैले २ लाख ५२ हजार १ सय रूपैयाँ संकलन गरी विभिन्न निकायसँग पनि सहयोग रकम उठाएका थिए। समितिका अनुसार ३३ लाख ९७ हजार २ सय ६८ रुपैयाँको लागतमा सिसिटीभी जडान गरिएको हो। समितिले कुल ४५ लाख ७६ हजार १ सय रुपैयाँ संकलन गरेकोमा हालसम्म समितिको खातामा २७ लाख ८१ हजार ८ सय संकलन भएको र १७ लाख ९४ हजार ३ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता आएको जनाइएको छ। वचत भएको करिव ९ लाख रुपैयाँ मर्मत कार्यमा खर्च गरिने समितिका पदाधिकारीले बताएका छन्। 

समितिका संयोजक एवम् संघका अध्यक्ष बैश्यले सिसिटीभी जडान भएसँगै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने विश्वास गरे। ‘सिसिटीभी क्यामेराको आवश्यकता कति हुन्छ भन्ने कुरा हामीले पछि थाहा पाउँछौं,’ उनले भने ‘समितिका सबैको प्रयासले सार्थकता पाएको छ।’ सिसिटीभी क्यामेरा जडान गर्नु मात्र नभएर दिगो रुपले सञ्चालन गर्नु ठुलो कुरा भएको बताए। सो क्रममा बोल्ने अन्य बक्ताले पनि सिसिटीभीको उचित ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए। जडानका लागि सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई कार्यक्रममा कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो। 

सिसिटीभी ब्यवस्थापन प्राविधिक समितिका संयोजक सञ्जय थापाले सिसिटीभी, क्यामेरा, तार तथा डिजाईसमा गुणस्तरिय सामान प्रयोग भएको बताए। जडित सबै क्यामेराको रेजुलेशन फुल एजडी रहेको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाँकेबाट सम्पुर्ण सिसि क्यामेराको निगरानी गरिएको छ। यसका लागि ४२ ईन्चका दुई वटा टीभी, ईन्भटर, क्यामेराका लागि १० घण्टासम्मको ब्याकअफ राखिएको बताए।

प्रकाशित: २१ श्रावण २०७५ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App