coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ। 

त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए। 

उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ। ‘‘प्रवेश परीक्षामा सामेल भएका सबैलाई डिन कार्यालयले भर्ना गर्न निर्देशन दिएको छ’’, उनले भने, ‘‘डिन कार्यालयको निर्देशनानुसार भोलिबाट हामी भर्ना प्रक्रिया शुरु गर्दछाैं।’’ 

डिन कार्यालयले आइतबार प्रवेश परीक्षामा सामेल भएका सबैलाई भर्ना गर्न पाउने गरी योग्यताक्रमले नतिजा प्रकाशित गरेको थियो। ‘‘अहिलेलाई प्रवेश परीक्षामा सामेल भएकाले मात्र भर्ना गर्न पाउँछन्’’ क्याम्पस प्रमुख डा पराजुलीले भने– ‘‘त्यसपछि अन्य विद्यार्थीको भर्ना गर्ने वा नगर्ने भन्नेमा प्रवेश परीक्षा दिएका विद्यार्थीको भर्ना सकिएमात्र थाहा हुने छ।’’ उनका अनुसार भदौदेखि नै कक्षा सञ्चालन हुनेछन्।

डिनको कार्यालयले क्याम्पसको भौतिक पूर्वाधार र प्राध्यापकको संख्या हेरि यस वर्षदेखि काठमाडाैंस्थित नेपाल ल क्याम्पसमा ८०० जना र अन्य उपत्यकाबाहिर नेपालगन्ज, विराटनगर, पोखरा, बुटवल, धरान, वीरगञ्ज र राजविराजस्थित त्रिविका आंगिक क्याम्पसमा १५० जनाको कोटा तोकेको थियो। 

कोटा प्रणालीको आधारमा करिव चार हजार ७०० विद्यार्थीले गत जेठ १९ गते प्रवेश परीक्षासमेत दिएका थिए। कोटा प्रणाली लागू गरेपछि विद्यार्थी संगठन आन्दोलित भएका थिए। 

कोटा प्रणालीको विरोध गर्दै स्वतन्त्र विद्यार्थी समूहले कानून संकाय डिनको कार्यालयमा प्रवेश गरी प्राध्यापकले परीक्षण गरिरहेको बेला गत असार २७ गते उत्तरपुस्तिका नियन्त्रणमा लिई च्यातेका थिए। 

नेपाल ल क्याम्पस अनेरास्ववियु कमिटीका अध्यक्ष हरि पँगेनीले आफूहरुले पहिलेदेखि कोटा प्रणालीको विरोध गर्दै आएको भन्दै अब सबै विद्यार्थी भर्ना हुने वातावरण बनेको बताए। उनले पहिलो चरणमा प्रवेश परीक्षामा सामेल भएकाको भर्ना गरेपछि दोस्रो चरणमा अन्य विद्यार्थीको भर्ना लिइने बताए। 

अार अार क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले सबै विधार्थी पढ्न पाउनुपर्ने अाफूहरूकाे माग पूरा भएकाे र याे विधार्थीकाे जित भएकाे बताए। 

कोटा प्रणालीमा विवाद हुदाँ चैतदेखि हुने एलएलबी प्रथम वर्षको पढाइ पाँच महिना ढिला भएको छ। रासस

प्रकाशित: २१ श्रावण २०७५ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App