८ वैशाख २०८१ शनिबार
प्रवास

भन्सार सम्बन्धी व्यवस्था पुनरावलोक गर्न एनआरएन यूकेको माग

लन्डन-गैरआवासीय नेपाली संघ यूकेले नेपालको अध्यागमन तथा भन्सार सम्बन्धी कानुन अब्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ। हिजो आइतवार अल्डरशटस्थित एम्पाएर हाउसमा आयोजित संघको चौथो काउन्सिल बैठकले उक्त माग गरेको हो।

बेलायतका सयभन्दा बढी सामाजिक संघसंस्थाको उपस्थितमा सम्पन्न सो बैठकले जारी गरेको घोषणापत्रमा छुट्टी मनाउन तथा व्यावसायीक प्रयोजनको लागि नेपाल जाने अवस्थामा नेपालमा रहेको अध्यागमन तथा भन्सार विभागमा देखापरेका कठिनाइलाई तुरुन्त सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले नेपाल सरकारले व्यक्तिगत प्रयोजनको लागि लैजाने सामग्री तथा गरगहनाको संख्या सीमा कटौती गर्ने उद्देश्यले हालै ल्याएको भन्सारसम्बन्धी कानुनी प्रावधानको पुनरावलोकन गर्न माग गरेको छ। बैठकले जारी १० बुदे घोषणपत्रमा नागरिकताको निरन्तरता, पुनर्निर्माण, विधान संशोधन, भूपू गोर्खा महिला तथा नेपालमा लगानीका विषय समेटिएको छ ।

काउन्सिल बैठकको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरन, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, यूरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, गैरआवासीय नेपाली संघका सल्लाहकारहरु विश्वआर्दश पण्डित, डमर घलेलगायतले शुभकामना मन्तब्य दिए । बैठकमा एनआरएन यूकेका कोषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव विजय लिम्बूले वार्षिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । राजेश पाठकले नेपाल हाउससम्बन्धी अवधारण प्रस्तुत गरे ।

अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष दासु पाण्डेले गरेका थिए । बैठकले मिस यूके नेपाल तनिसा रानालाई एनआरएन यूकेको गुडविल एम्बास्डर नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

 

प्रकाशित: २७ भाद्र २०७३ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App