८ वैशाख २०८१ शनिबार
खेल

क्लाइम्बिङमा राम्रो नतिजाको आशा

अभ्यासका क्रममा खेलाडी। तस्बिर : नागरिक

काठमाडौं – पर्वतारोहणको इतिहास लामो भए पनि औपचारिक खेलका रूपमा स्पोर्टस क्लाइम्बिङ नेपाल भित्रिएको धेरै भएको छैन। भौगोलिक रूपमा नेपाल आरोहीका लागि उर्भर भूमि हो। हजारौं पर्वतारोही जन्माउने क्रममा सयौं कीर्तिमानको सम्पत्ति जोडिसकेको देशले स्पोटर््स क्लाइम्बिङमा भने अहिलेसम्म कुनै उल्लेख्य सफलता हासिल गर्न सकेको छैन।

‘हामी नयाँ छौं। खेलका रूपमा देशको नाम राख्नका लागि पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोतिगा खेल्नुपर्छ । डाँडाकाडा र हिमाल धेरै भएर मात्र हुँदैन। हिमाल चढ्नु र डाँडाकाडा चढ्नु भन्दा खेल फरक छ । तर त्यसबाट फाइदा भने अवष्य पुग्छ,’ नेपाल स्पोर्टस क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेल भन्छन्, ‘पक्कै पनि अन्तर्राष्ट्रिय खेलकुदमा हाम्रो भविष्य राम्रो छ । त्यो राम्रो भविष्य हासिल गर्न हामी वर्तमानमा मिहिनेत गरिरहेका छौं । पहाडी र हिमाली क्षेत्रका मानिसको दैनिकी नै यसका लागि उपयोगी हुन्छ । त्यसलाई व्यवस्थापन गर्न सके धेरै स्तरीय खेलाडी उत्पादन हुन्छन्।’

नेपाली खेलकुदभित्र बामे सर्दै गरेको स्पोर्टस क्लाइम्बिङले स्थापनापछिको तेस्रो अन्तर्राष्ट्रिय सहभागिताका रूपमा यही भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । २०६७ सालमा संघ स्थापना भएपछि निरन्तर प्रतियोगिता र खेलाडीहरूलाई अभ्यास गराउँदै आएको बताउने पौडेलले इन्डोनेसियामा नेपाली खेलाडीले शीर्ष १० स्थान हासिल गर्ने अपेक्षा राखे।

‘यसअघि हायाङमा भएको तेस्रो एसियन बिच खेलकुदमा दुई खेलाडी सहभागी गराउँदा हाम्रा खेलाडी २५ सहभागीमध्ये १७ र २० औं स्थानमा आएका थिए,’ पौडेलले भने, ‘त्यो बेला हामीलाई ठूला प्रतियोगिताको अनुभव थिएन । तर यसपालि राम्रो नतिजाको अपेक्षामा हामीले वैशाखको अन्तिमदेखि नै तयारी सुरु गरेका थियौं।’

एसियाली खेलकुदमा स्पोर्ट्स क्लाइम्बिङ समावेश गरिएको यो पहिलो पटक हो । दुई वर्षपछि जापानमा हुने ओलम्पिक २०२० मा पनि यो खेल समावेश गरिएकाले त्यसैको तयारीस्वरूप अन्तर्राष्ट्रिय सहभागितालाई जोड दिइएको पौडेलको भनाइ थियो।

एसियाली खेलकुदमा नेपालका दुई खेलाडी राष्ट्रिय च्याम्पियन पेम्बा शेर्पा र प्रणिलमान श्रेष्ठले स्पिड, लिड र बोल्डरिङ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीहरूलाई सुनारबहादुर गुरुङले वैशाखदेखि प्रशिक्षण गराइरहेका थिए भने संघले विशेष प्रशिक्षणका लागि बुधबारबाट स्विट्जरल्यान्डका प्रशिक्षक इटिने ग्रिलोटलाई झिकाएर जिम्मा दिएको छ ।
स्विस प्रशिक्षक ग्रिलोटले नेपाली खेलाडीको स्तर माथि रहेको उल्लेख गर्दै स्पिडमा झनै राम्रो रहेको बताए । ‘ठूलो प्रतियोगितामा सबै उपाधि जित्ने लक्ष्यका साथ आएका हुन्छन् । त्यसैले नेपाली खेलाडीले बलियो मानसिकताका साथ प्रस्तुत हुनुपर्छ । पेम्बाको क्लाइम्बिङ गति राम्रो छ । प्रनिलबाट पनि मैले आशा गरेको छु,’ उनले भने।

पेम्बाले लामो समयको तयारीका कारण एसियाली खेलकुदमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । ‘धेरै मिहिनेत गरिरहेका छौं । विदेशी प्रशिक्षक आएपछि खेलमा धेरै सुधार भएको छ । पहिला पावरमा ध्यान दिन्थ्यौं । अहिले टेक्निकमा विशेष सुधार भएको छ । लिड र स्पिडमा पदक जित्ने आशा गरेको छु,’ १७ बर्षीय पेम्बाले भने।

यसै गरी प्रनिलमानले पनि विदेशी प्रशिक्षकको आगमनबाट आफूहरू थप उत्साहित भएको बताए । ‘उहाँ आएपछि स्पिडमा धेरै सुधार भएको छ । नेपाललाई पदक दिलाउने सोच छ,’ २८ वर्षीय प्रनिलमानले भने।

प्रकाशित: २१ श्रावण २०७५ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App