१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोहली शीर्ष स्थानमा

बर्मिङ्घम (एएफपी) – एडबास्टन टेस्टमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भारतका कप्तान विराट कोहलीले स्टिभ स्मिथलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्।

इङ्ल्यान्डमा गएर पहिलो शतक बनाएका कोहली एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा रहेका छन्। इङ्ल्यान्डविरुद्ध एडबास्टनमा सम्पन्न पहिलो टेस्टको पहिलो इनिङमा १ सय ४९ रन बनाएका कोहलीले दोस्रो इनिङमा पनि ५१ रन बनाएका थिए। कोहलीले टोलीका लागि २ सय रनको योगदान गरे पनि भारत इङ्ल्यान्डसँग चौथो दिनमै ३१ रनले पराजित भयो। हारसँगै भारत ५ टेस्टको शृंखलामा १–० ले पछि परेको छ।

दुई इनिङमा गरेको ब्याटिङ प्रदर्शनबाट कोहलीको ३१ अंक बढेको छ। यससँगै कोहलीले ३२ महिनासम्म शीर्ष वरीयतामा रहेका स्मिथलाई पछि पारेका छन्। दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङ घटनामा मुछिएका अस्ट्रेलियाका पूर्वकप्तान स्मिथ अहिले १२ महिनाको प्रतिबन्धमा रहेका छन्।

टेस्ट करियरमा कोहली आइसिसी वरीयताको शीर्ष स्थानमा उक्लिएको यो पहिलो हो। कोहलीले ६७ टेस्टमा अहिलेसम्म ५ हजार ७ सय ५४ रन बनाइसकेका छन्। ५४.२८ रनको औसतमा रन बनाएका कोहलीले २२ शतक हानेका छन्।

कोहलीले स्मिथलाई ५ अंकले पछि पारेका छन्। विश्व वरीयताको शीर्ष स्थानमा रहिरहन कोहलीले टेस्ट शृंखलाको बाँकी ४ खेलमा पनि लय कायम राख्नु आवश्यक छ। कोहली टेस्ट वरीयताको शीर्षमा रहने सातौं भारतीय ब्याट्सम्यान बनेका छन्। २०११ जुनमा सचिन तेन्दुलकरपछि शीर्ष वरीयतामा पुग्ने कोहली पहिलो भारतीय ब्याट्सम्यान हुन्। कोहली र तेन्दुलकरबाहेक भारतका राहुल द्रविड, गौतम गम्भीर, सुनील गावस्कर, वीरेन्द्र सेहवाग र दिलीप बेङ्सरकार आइसिसीको शीर्ष वरीयतामा स्थान बनाउन सफल भएका थिए।

९ सय ३४ अंक जोडेका कोहली भारतीय ब्याट्सम्यानमध्ये सबैभन्दा धेरै अंक बनाउने खेलाडी हुन्। समग्रतामा धेरै अंक बनाउने कोहली १४औं ब्याट्सम्यान हुन् । एडबास्टन टेस्टअघि कोहलीलेको ९ सय ३ अंक थियो। जुन पूर्वओपनर गावस्करको भन्दा १३ अंकले कम हुन्थ्यो । अहिले कोहली ‘आइसिसी हल अफ फ्रेम’ मा रहेका गावस्करभन्दा १८ अंकले अगाडि छन्।

इङ्ल्यान्डबाट टेस्टमा सबैभन्दा धेरै विकेट लिने जेम्स एन्डरसन अहिले पनि शीर्ष स्थानमा कायमै छन्। बलरतर्फको शीर्ष दश वरीयतामा कुनै परिवर्तन भएको छैन। एडबास्टन टेस्टमा कोहलीले जस्तै एन्डरसनले पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए। टेस्ट अलराउन्डको शीर्ष स्थानमा बंगलादेशका साकिब अल हसन रहेका छन्। साकिबको ४ सय २० अंक छ भने दोस्रो स्थानमा रहेका रवीन्द्र जडेजाको ३ सय ८५ अंक छ। इङ्ल्यान्ड र भारतबीच लर्ड्समा हुने दोस्रो टेस्टअघि आइसिसीले अर्को वरीयता निकाल्नेछ।

प्रकाशित: २१ श्रावण २०७५ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App